खानेपानी संस्थाको अध्यक्षमा श्रेष्ठ निर्वाचित

वालिङ ।
वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः विद्या श्रेष्ठ निवार्चित भएका छन् । पहिलो चरणको अध्यक्ष हुँदा सहमतिबाट बन्न सफल भएका श्रेष्ठलाई दोस्रो कार्यकालका लागि निर्वाचनबाट अध्यक्ष भएका हुन् । अध्यक्ष पदका लागि ६ जना प्रत्यासी उमेदवार थिए । अध्यक्ष सहित ६ जना कार्यसमिति निर्वाचित हुने संस्थाको विधान अनुसार २९ जना चुनावी मैदान थिए ।
बुधवार भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा लोकतन्त्रवादी समुहका श्रेष्ठ ७ सय ५७ मत सहित निर्वाचित भए । यस्तै अध्यक्षका प्रतिष्पर्धी दिनेश तिवारीले २ सय ६९, दिलीपकुमार बगालेले २ सय २५, बालकृष्ण श्रेष्ठले १ सय ७५, चोपनारायण श्रेष्ठले १ सय ४६ र मुक्तिप्रसाद सुवेदीले ९० मत प्राप्त गरेका थिए । अध्यक्ष पदका लागि ६ जना बिच भएको प्रतिस्पर्धामा श्रेष्ठले सानदार मतान्तरले पछि पार्दै खानेपानी संस्थाको दोस्रो कार्यकालको बागडोर सम्हाल्न पुगेका छन् ।
त्यस्तै उपाध्यक्षमा तीनजना बिच प्रतिस्पर्धा भएकोमा लोकतन्त्रवादी समुहकी कल्पना पौडेल अर्याल विजयी भएकी छन् । उनले ७ सय १३ मत ल्याएकी छन् । उनका प्रतिद्धन्दी मञ्जु खड्का क्षेत्री केसीले ५ सय ६४ र रीमा केसीले २ सय ७१ मत ल्याएका थिए । त्यस्तै सचिव पदका लागि ४ जना चुनावी मैदानमा थिए । सचिवमा लोकतन्त्रवादी समुहकै टेकलाल खनाल ५४३ मत सहित विजयी भएका छन् । उनका प्रतिद्धन्दी तेजबहादुर आलेले ४६८, भवानीप्रसाद ढुंगानाले २११, ध्रुबप्रसाद सुवेदीले १९७ र मणिप्रसाद पंगेनीले १७८ मत प्राप्त गरेका थिए ।
यस्तै कोषाध्यक्षमा एमालेका रोशनबहादुर कुँवर विजयी भएका छन् । उनले ५ सय ४२ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्दी लोकतन्त्रवादी समुहका कृष्णबन्धु काफ्लेले ५०४ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा पनि चारजना बिच प्रतिस्पर्धा रहेको थियो । कोषाध्यक्षका उमेदवार भुपराज डुम्रेले ३१९ र बासुदेव पौडेलले २१५ मत प्राप्त गरेका थिए । सदस्य खुल्लामा लोकतन्त्रवादी समुहका ताराप्रसाद श्रेष्ठ ४ सय मत ल्याएर विजयी भएका छन् भने महिला सदस्यमा लोकतन्त्रवादी समुहकी कृष्णकुमारी आले मगर ७ सय ७५ मत ल्याएर निर्वाचित भएकी छन् ।
सदस्य पदका उमेदवार सोमबहादुर गुरूङले २३१ मत, माधवप्रसाद कँडेलले २१७ मत, गोबबहादुर विश्वकर्माले २ सय, खेमराज खनालले १५३, बुद्धिसागर सुवेदीले १४३, सूर्यप्रसाद काफ्लेले १३८, र युक्तप्रसाद तिवारीले ११४ मत प्राप्त गरेका थिए । एक खुला सदस्यका लागि ८ जना चुनावी मैदानमा थिए ।
त्यस्तै महिला सदस्यमा महिला सदस्य पदका उमेदवार कमला भण्डारीले ५सय ८३, अप्सरादेवी एस्केले २ सय ४१ मत प्राप्त गरेका थिए । एकजना महिला सदस्यका लागि तीनजना महिलाहरु चुनावी प्रतिस्पर्धामा थिए । कुल ३ हजार २९ जना मतदाता रहेकोमा १ हजार ७ सय ३९ मत खसेको थियो । ९ सदस्यीय हुने समितिमा ३ सदस्य पछि मनोनित गरिनेछ । पछि मनोनित गरिने ३ सदस्यीय मध्येमा निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था रहेको छ भने एक महिला र एक पुरुष गरी २ सदस्य थप हुनेछन् । सहमतिको प्रयासबाट नेतृत्व सहित कार्यसमिति चयन गर्न उपभोक्ताको सुझाव लत्याउदै दलिय हिसावले चुनावमा पुगेका थिए । नेपाली काँग्रेसले लोकतन्त्रवादी समुह बनाएर चुनावमा होमिएको थियो भने नेकपा एमालेमा विवादका कारण समुह बनाउन समस्या भएपछि एक्लाएक्लै चुनावी मैदानमा उत्रेका थिए ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उपभोक्ता मन्चको समुह बनाएर चुनावी मैदानमा उत्रेका थिए भने बालकृष्ण श्रेष्ठले नामै नदिएर समुह बनाएर चुनावी प्रतिष्पर्धामा उत्रेका थिए । झण्डै ३ करोड भन्दा बढी ऋणमा रहेको खानेपानी संस्थालाई चुनावी मुडभेडमा लैजादा झण्डै ५ लाखभन्दा बढी खर्च भएको बताइएको छ ।
प्रतिक्रिया