डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन

प्रकाश डोटेल,
स्याङ्जा ।

जर्मनी प्रविधिमा आधारित तथ्याङ्क विज्ञान (डेटा साइन्स) र कृत्रिम बुद्धिमत्ता (एआई) विषयक २१ दिने तालिम तथा प्रशिक्षण कार्यक्रम स्याङ्जाको वालिङ्मा संचालन गरिएको छ । डिजिटल सीप, साइबर सुरक्षा, र वित्तीय साक्षरता मार्फत महिला विशेष गरी किशोरीहरूलाई सशक्त बनाउँदै अगाडी बढाउन तालिम तथा प्रशिक्षण संचालन गरिएको हो ।

वालिङ नगरपालिकाको सहकार्यमा २४ अक्टोबरदेखि शुरु भएको तालिम तथा प्रशिक्षण कार्यक्रम १४ नोभेम्बरसम्म सञ्चालन हुनेछ । तालिम तथा प्रशिक्षणमा डिजिटल साक्षरता, इन्टरनेट सुरक्षा, पासवर्ड तथा डाटा संरक्षण, वित्तीय योजना, कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर सिकाइ र उत्पादकत्व बढाउने जस्ता महत्वपूर्ण विषयहरू तालिममा प्रशिक्षण दिईने छ ।

डिजिटल क्षेत्रमा देखिएको अन्तर घटाउने र भविष्यका नवप्रवर्तकलाई प्रेरित गर्ने उद्देश्य सहित वालिङका विभिन्न संस्थाहरूमा कार्यक्रम गरिने जर्मनी प्रविधिमा आधारित डेटा साइन्स र कृत्रिम बुद्धिमत्ताका विशेषज्ञ तथा मुख्य प्रशिक्षक गौरव तिवारीले जनाए । व्यावहारिक अभ्यास मार्फत विद्यार्थीलाई विशेषगरी युवतीहरूलाई आत्मविश्वासी र प्रविधिमा सक्षम बनाउनमा तालिम तथा प्रशिक्षण केन्द्रित रहने विशेषज्ञ तिवारीले जानकारी दिए ।

सधैं आफ्नो देशका लागि केहि न केहि योगदान गर्ने सोचमा बनाएका तिवारीले तालिम तथा प्रशिक्षणले आफ्नो सपना साकार पार्ने अवसरको सानो प्रयास भएको सुनाए । तालिम तथा प्रशिक्षणमा विशेष गरी भविष्यमा सफ्टवेयर इन्जिनियर र डेटा साइन्समा करियर बनाउन चाहने विद्यार्थी तथा युवतीहरूलाई पढाउने अनुभव निकै फलदायी हुने उनले बताए ।

ग्रामीण क्षेत्रका युवाहरूलाई विश्वस्तरको डिजिटल ज्ञान र आत्मविश्वास दिलाउन तालिम तथा प्रशिक्षण अत्यन्तै उपलब्धी मुलक बन्नेमा उनले विश्वास लिएका छन् । स्याङ्जाको वालिङ नगरपालिका वडा नं–१४ मा स्थायी घर भएका विशेषज्ञ तिवारी विगत लामो समयदेखि जर्मनीमा सोही विषयमा अध्ययनसँगै आफ्नो पेशा र काम गर्दै आएका छन् ।

विश्वका शक्तिशाली राष्ट्रहरु प्रविधिका क्षेत्रमा अग्रपंक्तिमा रहेको अवस्थामा हाम्रो देश नेपालका ग्रामीण क्षेत्रमा रहेका युवा युवतीहरुलाई तालिम तथा प्रशिक्षण अवसर बन्ने आयोजकले दाबी गरेको छ । तालिम तथा प्रशिक्षणको आयोजना तथा स्थानीय स्तरमा आवश्यक समन्वय विशेषज्ञ स्वयं तिवारीले गर्दै आएका छन् ।

तालिम तथा प्रशक्षिण कार्यक्रममा वालिङ नगर आसपासका विद्यालायका शिक्षक, विद्यार्थी, सरकारी कर्मचारी लगायतको उत्साहजनक सहभागिता रहेको छ । कार्यक्रम अवधिमा समूहगत छलफल, अन्तरक्रिया, र व्यावहारिक सत्रहरूका साथ सम्पन्न गरिने छ । सहभागीहरूले डिजिटल समावेशीकरण र महिलाको सशक्तीकरणलाई निरन्तर प्रवर्धन गर्ने आयोजकले जनाएको छ । पहिलो चरणको तालिम हाललाई वालिङ नगर क्षेत्रभित्र मात्रै संचालन गरिने छ ।

 

 

प्रतिक्रिया