व्यावसायिक फूलखेतीमा पूर्व शिक्षक भण्डारी

प्रकाश डोटेल,
स्याङ्जा ।

तिहार लागेसँगै सयपत्रीफूलको माग ह्वात्तै बढेको छ, तिहारमा सयपत्री फूलको मागबढ्ने आसामै स्याङ्जाको चापाकोट नगरपालिका–१ बेलडाँडाका स्थानीय तुलसीराम भण्डारीले व्यावसायिक फूलखेती गर्दै आएका थिए । चार वर्ष देखि सामान्य सयपत्री फूलखेती गर्दै आएका पूर्वशिक्षक समेत रहेका भण्डारीले पेशाबाट अवकाश भएसँगै व्यावसायिक रुपमा फूलखेती गरेका हुन् ।

शिक्षण पेशामा रहदा फुर्सदको समयमा व्यावसायिक बन्ने लक्ष्य सहित फूलमा आत्मनिर्भर बन्ने सोच राखेका भण्डारीले गाउँकै तीन रोपनी जग्गामा फूलखेती गर्दै आएका छन् । विगतका वर्षमा एक रोपनी जग्गामा फूलखेती गर्दै आएका भण्डारीले यस वर्षबाट क्षेत्र विस्तार गरेका हुन् । बाँझो जमिनको सदुपयोग गर्दै फूलखेतीका लागि थप क्षेत्रफल बिस्तारको योजना रहेको उनले सुनाए ।

‘पेशाबाट अवकाशपछि मैले व्यावसायिक रुपमा सयपत्री फूलखेती गर्ने सोच बनाएको थिए ।’ ६० वर्षिय भण्डारीले भने, ‘पहिलो चरणमा फूलखेती परिक्षण चरणमै थियो, निबृत्त भएपछि व्यावसायिक बनेर अगाडी बढाउन लागेको छु ।’ भण्डारीले अर्गानिक घर तथा कृषिफर्म दर्ता गरी फूलखेती गर्दै आएको जनाए । शिक्षण पेशाबाट फुर्सद मिल्यो अब पूर्णरूपमा फूलखेतीमा आफ्नो ध्यान लगाउने उनले योजना सुनाए ।

तिहारसँगै नेपाल सम्बत र छडमामात्रै दुई हजार पाँच सय केजी फूल बिक्रीगर्ने योजना रहेको बताए । भण्डारीले यसै वर्ष फूल बिक्रीबाट १० लाखसम्म कमाइ हुने अपेक्षा गरेका छन् । गएको वर्ष फूल बिक्री गरेरै झण्डै पाँचलाख आम्दानी गरेको उनले जानकारी दिए । फर्मबाट चालु वर्षको हालसम्म करिब ६ लाख मुल्य बराबरको फूलको थुँगा र माला बिक्री भइसकेको उनले बताए ।

दसैँदेखि तिहारको यस अवधिमा २८० रुपैयाँप्रति किलो फूलबिक्री गरेका भण्डारीले तिहारको समयमा भने धेरै फूल लैजाने र व्यापारीबाटै थोक (एकमुष्ठ) माग भएकाले प्रतिकिलो ३ सय रुपैयाँका दरले फूल बिक्री गर्ने तयारी गरेका छन् । माला उनेर प्रतिमाला ९० रुपैयाँ सम्म बिक्री गरेका भण्डारीले स्थानीयस्तरमै खुद्रामूल्य ३५० रुपैयाँ सम्म फूल बिक्री हुने गरेको जनाए ।

बजारमा फूलको माग र आफ्नो खेतीको अवस्था हेर्दा आउँदो मंसिर पुष सम्म सहज रुपमा फूल बेच्न सकिनेमा भण्डारी विश्वस्त छन् । बीउ छनोट र खेतीगर्ने तौरतरिकाका बारेमा छोराको साथ पाएका कृषक भण्डारीले ‘म्यारिगोल्डकर्मा ५५५’जातको फूलका बिरुवाहरू लगाएर उत्पादन गरेका हुन् । अन्य खेतीको तुलनामा फूलखेती गोलमेड, स्याहारमा सहज रहेको उनको भोगाई छ ।

फूलको बीउखरिदमा १० हजार नगद लागत मुल्य परेको र अन्य गोलमेड, स्याहार सम्भार समेतको काम परिवारका सदस्यहरु फुर्सदको सयम मिलेर कामगर्दै आएको छोरा देवीप्रसाद भण्डारीले बताए । पछिल्लो समय खेतबारी बाँझो रहने क्रमबढेको भन्दै तुलसीरामले नगदेबालीका रुपमा जुनसुकै खेती गरे पनि राम्रो आम्दानी लिन सकिने बताए । बाँझो जमिनको सुदपयोग गर्ने हो भने गाउँमै राम्रो आम्दानी लिन सकिने उनको पछिल्लो अनुभव छ ।

उत्पादित फूल, जिल्लाकै वालिङ्, गल्याङ र छिमेकी जिल्ला पाल्पा, कास्की पोखरा, रुपन्देहीको बुटवल र चितवनको भरतपुर तर्फ निर्यात हुँदै आएको छ । बाँदरले अन्नबाली नष्ट गरिदिदा विकल्पमा स्थानीयहरु सयपत्री फूलखेती तर्फ आकर्षित बन्दै गएका छन् । अन्नबालीको विकल्पमा फूलखेतीको व्यावसायिक उत्पादन गरेपनि मागको तुलनामा फूलको माला र थुँगा पु¥याउन नसकेको भण्डारीले जनाए ।

 

प्रतिक्रिया