काटिसकेको धान भिजेपछि किसान चिन्तित
भीरकोट ।
भित्र्याउनका लागि अन्तिम तयारीका साथ काटिसकेको धान खेतको गरामै भिजेपछि यहाँका किसान चिन्तित भएका छन् । तिहार सकिएलगत्तै पाकेको धान काटेर भित्र्याउने तयारी हुँदै गर्दा गत मंगलबारदेखि परेको अविरल वर्षाले धान खेतमै भिजाएको हो । मौसम प्रतिकूल हुने कुरा विभिन्न सञ्चार माध्यममार्फत थाहा भएको भए पनि पानी पर्ने बेलासम्म भित्र्याइसक्ने आसले आफूहरूले धान काटेको भीरकोट –५ का किसान धनमाया अर्यालले बताइन् । धान झार्नका लागि आफूहरूले धानको मुठा बाँध्ने काम धमाधम गर्दा पानी परेर कामै गर्न नदिई बाँधेको मुठा र नबाँधेको धान भिजेको पनि उनले बताइन् ।
जिल्लाको लमागे, पकान, डौंवा, वालिङ, सुन्तलीटार फाँटलगायतका विभिन्न फाँटमा अहिले किसानको काटेको र मुठा बाँधेको धान भिजेको छ । गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि यहाँका किसान खुसी भएका थिए, तर त्यो खुसी पुनः निराशामा परिणत भएको छ । यस वर्ष धान उत्पादनमा गत वर्षको तुलनामा वृद्धि हुने अनुमान गरिएको थियो । गत वर्ष असोजमा आएको बाढीले धानखेतीमा नराम्रो असर गरेपछि धान उत्पादन निक्कै घटेको र यस वर्ष पनि काटेको धान भित्र्याउन वर्षाका कारण नपाइएकाले धानको उत्पादन घट्ने अवस्था भएकोप्रति भीरकोट नगरपालिका वडा नं–६ का किसान खड्क बहादुर मगरले चिन्ता व्यक्त गरे।
भिजेको धान सेतै टुसा हालेर उम्रिएको छ । उम्रिएको धान पूर्णरुपमा खान अयोग्य हुने किसानहरुले बताएका छन् । छिमेकी जिल्लाका पैंयू गाउँपालिका लगायत केही पालिकाहरुले किसानहरुलाई राहत दिने निर्णय गरेको भएतापनि स्याङ्जाका कुनै पनि पालिकाले हालसम्म उक्त निर्णय गरेका छैनन् । धान पूर्णरुपमा नष्ट भएका किसानहरुले राहत पाउनुपर्ने माग गरेका छन् । तर यहाँका स्थानीय सरकारहरुले राहत नभै सहानुभूति दिने काम मात्र गरेको पाइन्छ । कति धानको क्षती भयो भन्ने एकिन विवरण कृषि ज्ञान केन्द्रसँग पनि छैन । स्याङ्जाका केन्द्र प्रमुख बिनोद हमालका अनुशार क्षतीको विवरण संकलनका लागि ११ वटै पालिकामा पत्राचार गरिएको छ । बुधबारसम्म जिल्लाभरको एकिन विवरण आउने हमालले वताए ।


प्रतिक्रिया