रानीथुम्कामा सीपमूलक शिक्षाका लागि महायज्ञ

स्याङ्जा ।

पुतलीबजार नगरपालिका वडा नं. १३ स्थित रानीथुम्का आधारभूत विद्यालयमा सीपमूलक तथा व्यावसायिक शिक्षा प्रारम्भ गर्ने लक्ष्यसहित सप्ताहव्यापी श्रीमद्भागवत् धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। माघ २६ गतेदेखि सुरु भएको महायज्ञ फागुन ४ गतेसम्म संचालन हुनेछ । विद्यालयको भौतिक पूर्वाधार सुदृढ गर्ने, आर्थिक स्रोत जुटाउने र आगामी दिनमा व्यावसायिक तथा सीपमूलक शिक्षा सञ्चालन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको विद्यालयले जनाएको छ। हाल कक्षा ८ सम्म अध्ययन–अध्यापन हुने यस विद्यालयमा करिब ८० जना विद्यार्थी अध्ययनरत छन्। तर पर्याप्त भवन र स्रोतसाधनको अभावका कारण विद्यालयले विभिन्न चुनौती सामना गरिरहेको छ। व्यावसायिक शिक्षा सुरु गर्न आवश्यक आर्थिक व्यवस्थापन गर्नुपर्ने भएकाले महायज्ञमार्फत सहयोग संकलन गर्ने लक्ष्य राखिएको हो।

महायज्ञ उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीले नगरपालिकाले शिक्षालाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले सामुदायिक विद्यालयहरूको गुणस्तर अभिवृद्धि तथा भौतिक पूर्वाधार विकासमा नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै रानीथुम्का आधारभूत विद्यालयको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। मेयर रेग्मीले भने, “शिक्षा नै विकासको आधार हो, स्थानीय तहले शिक्षालाई बलियो बनाउने जिम्मेवारी लिनुपर्छ ।” कार्यक्रममा वडा नं. १३ का वडाध्यक्ष जुद्धबहादुर थापा मगरलगायत विभिन्न राजनीतिक, सामाजिक तथा शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले विद्यालयको शैक्षिक उन्नयनका लागि सामूहिक पहल आवश्यक रहेकोमा जोड दिएका थिए।

महायज्ञको पहिलो दिन भव्य कलश यात्रासहित कार्यक्रम प्रारम्भ गरिएको थियो। शिक्षक माया गोदारका अनुसार कलश यात्रा रानीथुम्का विद्यालय परिसरबाट सुरु भई तोरीखोला, लामपाटा, चारखुट्टे हुँदै पुलको मुख, आँधीखोला करिडोर हुँदै शिवथुम्का मन्दिरलगायतका विभिन्न स्थानको परिक्रमा गर्दै सम्पन्न भएको थियो। स्थानीय भक्तजन, विद्यार्थी, अभिभावक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिताले कलश यात्रा धार्मिक र सांस्कृतिक रूपमा आकर्षक बनेको थियो। धार्मिक तथा शैक्षिक उद्देश्यले सञ्चालित यस महायज्ञमा विभिन्न पूजाआजा तथा अनुष्ठानहरू सञ्चालन गरिने सल्लाहकार संयोजक प्रेम केसीले जानकारी दिए। उनका अनुसार महायज्ञ अवधिभर लक्षवर्ती १ हजार ८ कलश पूजन, तुलादान, विवाह, व्रतबन्ध, १ सय ८ शालिग्राम परिक्रमा, ८४ पूजा तथा ग्रहशान्ति लगायतका धार्मिक कार्यक्रम गरिनेछ। यी अनुष्ठानहरूले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै विद्यालयको शैक्षिक उन्नयनका लागि आवश्यक आर्थिक सहयोग जुटाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मूल समारोह समितिका अध्यक्ष मुक्तिनारायण सुबेदीले विद्यालयको आर्थिक अवस्था सुधार गर्ने मुख्य उद्देश्यले महायज्ञ आयोजना गरिएको बताए। उनले विद्यालयको भौतिक संरचना सुदृढ गर्न, आवश्यक कक्षाकोठा निर्माण गर्न तथा आगामी दिनमा व्यावसायिक शिक्षा कार्यक्रम सञ्चालन गर्न पर्याप्त स्रोत अभाव रहेकाले धार्मिक कार्यक्रममार्फत सहयोग जुटाउने प्रयास गरिएको स्पष्ट पारे। “हाम्रो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई गुणस्तरीय र जीवनोपयोगी शिक्षा दिन चाहन्छौं। त्यसका लागि सीपमूलक तथा व्यावसायिक शिक्षा अपरिहार्य छ,” सुबेदीले भने, “तर स्रोतसाधन अभावले काम अघि बढाउन कठिनाइ भएकोले महायज्ञमार्फत सहयोगको अपेक्षा गरेका छौं।”

स्थानीयवासीहरूले पनि महायज्ञलाई सकारात्मक रूपमा लिएका छन्। विद्यालयको विकास र बालबालिकाको भविष्य उज्ज्वल बनाउन धार्मिक कार्यक्रममार्फत सहयोग जुटाउनु सराहनीय पहल भएको उनीहरूको भनाइ छ। महायज्ञ अवधिभर स्थानीय भक्तजन तथा दानदाताहरूको उल्लेख्य सहभागिता रहने विश्वास गरिएको छ। शिक्षक तथा अभिभावकहरूले विद्यालयमा व्यावसायिक शिक्षा सुरु भएमा विद्यार्थीहरूले सानैदेखि व्यवहारिक सीप आर्जन गर्ने अवसर पाउने बताएका छन्। यसले उनीहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने तथा भविष्यमा रोजगारीका अवसर सिर्जना गर्न सहज हुने अपेक्षा गरिएको छ।

सामुदायिक विद्यालयहरूमा भौतिक पूर्वाधार र आर्थिक स्रोत अभाव सामान्य चुनौतीका रूपमा देखिँदै आएको सन्दर्भमा रानीथुम्का आधारभूत विद्यालयले महायज्ञमार्फत स्रोत संकलन गर्ने पहल थालेको हो। विद्यालय परिवारले यस अभियानलाई सफल बनाउन सबै सरोकारवाला निकाय, स्थानीयवासी तथा शुभेच्छुकहरूलाई सहयोगका लागि आह्वान गरेको छ। फागुन ४ गतेसम्म सञ्चालन हुने महायज्ञबाट संकलित रकम विद्यालयको भवन निर्माण, आवश्यक शैक्षिक सामग्री व्यवस्थापन तथा व्यावसायिक शिक्षा कार्यक्रम सञ्चालनमा खर्च गरिने जनाइएको छ। धार्मिक आस्था र शैक्षिक उन्नयनलाई एकैसाथ अघि बढाउने उद्देश्यले आयोजना गरिएको यस महायज्ञले विद्यालयको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया