अर्जुनचौपारीको शिविरबाट हजारभन्दा बढी लाभान्वित
भीरकोट ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले आयोजना गरेको प्रजनन स्वास्थ्य रुग्णताको निःशुल्क स्क्रिनिङ शिविरबाट एक हजारभन्दा बढी महिलाहरू लाभान्वित भएका छन्। गाउँपालिकाका ६ वटै वडामा फरक–फरक दिन र स्थानमा सञ्चालन गरिएको उक्त शिविरमार्फत १ हजार ६ जना महिलाको प्रजनन स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख इन्द्र नेपालीले जानकारी दिए। “सुरक्षित नारी, समुन्नत अर्जुनचौपारी ः समयमै जाँच र उपचार हाम्रो जिम्मेवारी” भन्ने मूल नारासहित सञ्चालन गरिएको शिविरमा महिलाहरूको प्रजनन स्वास्थ्यसँग सम्बन्धित विविध समस्याको जाँच गरिएको थियो। अर्जुनचौपारी गाउँपालिकाले महिलाको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै माघ १२ गतेदेखि माघ १८ गतेसम्म गाउँपालिकाभर प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क स्क्रिनिङ तथा उपचार सेवा उपलब्ध गराएको हो।
ग्रामीण भेगका महिलाहरूले गाउँघरमै विशेषज्ञ स्वास्थ्य सेवा पाउन थालेपछि शिविरप्रति उल्लेख्य सहभागिता देखिएको थियो। लामो समयदेखि स्वास्थ्य संस्थासम्म पुग्न नसकेका तथा आर्थिक, सामाजिक र भौगोलिक कारणले जाँच गर्न छुटेका महिलाहरूका लागि शिविर अत्यन्त उपयोगी बनेको सेवाग्राहीहरूले बताएका छन्। समयमै जाँच र परामर्श पाउँदा आफूहरू ढुक्क भएको उनीहरूको प्रतिक्रिया छ। स्वास्थ्य परीक्षणका क्रममा पाठेघरको मुखमा क्यान्सरको संकास्पद लक्षण देखिएका ९ जनालाई थप परीक्षण तथा उपचारका लागि उच्च स्वास्थ्य संस्थामा रिफर गरिएको छ। यस्तै, आङ खस्ने समस्या देखिएका ३५ जनामा रिङ पेसरी राखेर व्यवस्थापन गरिएको स्वास्थ्य शाखाले जनाएको छ। स्तनसम्बन्धी समस्या देखिएका ३५ जना तथा पाठेघरमा मासु पलाएको समस्या भएका ३२ जनालाई समेत थप उपचारका लागि रिफर गरिएको छ।
गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले महिलाको प्रजनन स्वास्थ्यमा सुधार ल्याउन, स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्न र गुणस्तरीय सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन यस्ता शिविरलाई निरन्तरता दिने बताए। “महिलाको स्वास्थ्य सुरक्षित भए मात्र परिवार र समाज सशक्त हुन्छ,” उनले भने, “त्यसैले गाउँपालिकाले आगामी दिनमा पनि महिलामैत्री स्वास्थ्य कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनेछ।” स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको सक्रिय सहभागितामा सञ्चालन भएको शिविरले महिलाहरूमा स्वास्थ्यप्रति सचेतना बढाएको छ। गाउँपालिकाले आगामी दिनमा पनि नियमित रूपमा स्वास्थ्य शिविर, सचेतना कार्यक्रम तथा निःशुल्क उपचार सेवाहरू सञ्चालन गर्ने योजना बनाएको जनाएको छ। यस प्रकारका कार्यक्रमले ग्रामीण क्षेत्रका महिलाहरूको प्रजनन स्वास्थ्य समस्याको समयमै पहिचान र उपचारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।


प्रतिक्रिया