पुतलीबजारले किसानलाई दियो आधुनिक औजार
 
                         स्याङ्जा ।
कृषि जीवन कष्टकर भएको र सोको अनुपातमा आम्दानी गर्न नसकेको कुरा सर्वविदितै छ । अझ भन्ने हो भने अहिले त ग्रामिण क्षेत्रबाट अधिकाँस पुरुषहरु वैदेशिक रोजगारमा खाडी मुलुक गएको कारण कृषि पेशा महिलाहरुको काधमा आएको छ । तसर्थ कृषकहरुको त्यसमा पनि विशेष गरि ग्रामिण महिलाहरुको कष्टकर जीवनलाई सहज बनाउन हाम्रो जस्तो भू–वनोट र साना साना कृषकहरु रहेको देशको लागि उपयुक्त कृषिमा आधारित उद्यम मोडल कार्यान्वयनमा ल्याउन अति जरुरी छ । कृषि र महिला उद्यमशिलता बिकासका नाममा धेरै योजना तथा कार्यक्रम आए पनि समस्या झन बढ्दै गएको छ । कृषि पेशाबाट लगानी समेत उठ्न नसकेको अवस्थाले कृषि पेशाबाट नै वितृष्णा जागी, खेत बाझै छोडेर अन्य पेशामा पलायन हुनेको जमात दिनानुदिन बढिरहेको छ ।
कृषि कर्मललाई सहज बनाउने उद्देश्यले जिल्लाको पुतलीबजार नगरपालिकाभित्रका ब्यवसायिक तरकारी उत्पादक किसानहरुलाई आधुनिक औजारहरु वितरण गरिएको छ । पुतलीबजार नगरपालिका र युएनडिपिको आर्थिक सहयोग र सूर्योदय क्लवको ब्यवस्थापनमा संचालित हरित पुनर्उत्थान तथा कोभिड १९ प्रतिकार्य पहल कार्यक्रम अन्तर्गत नगरपालिकाभित्रका ब्यवसायिक तरकारी उत्पादक किसानहरुलाई आधुनिक औजार वितरण गरिएको क्लवले जनाएको छ ।
वितरण कार्यक्रममा नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीले तरकारी आयातमा प्रतिस्थापन गरि निर्यात गर्ने पालिकाको रुपमा अगाडि बढाउने अभियानमा लागेको बताए । कृषिमा भएका तत्कालिन समस्या के हुन र तीनको समाधान गर्ने उपायहरु के के हुन सक्छन भन्ने कुरालाई बुझेर कृषि उद्यम सम्बन्धि योजना तय गर्न सकेमा यसले गाउँमा नै बसेर काम गर्ने अवस्थाको श्रृजना हुने रेग्मीले बताए । नत्र ग्रामीण क्षेत्रबाट बसाई सरेर शहर तिर लाग्ने वर्तमान परिपाटीलाई रोक्न नसकिने रेग्मीको भनाई छ ।
क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले किसान उद्यमीहरुलाई प्रविधिमैत्री, खेतबारीमा नै प्राबिधिक सहयोग र उचित परामर्शबाट उत्पादनमा वद्धि भएको जानकारी दिए । यस कार्यक्रम अन्तर्गत पुतलीबजारका ७५ जना किसानहरुलाई डिजिटल तराजु, ब्याट्री स्प्रे सेट, स्प्रिङकलर, क्यारेट, पाईप लगायतका सामाग्रीहरु वितरण गरिने क्लवका अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रममा युएनडिपिका गण्डकी र लुम्बिनी प्रदेशका प्रमुख सुदिप अर्यालले नगरपालिकाले हरित उद्यमशिलतामा जोड दिईएकोमा खुसी ब्यक्त गरे । अर्यालले स्थानीय स्तरमा उत्पादन तथा रोजगारमुखी कार्यक्रमहरुलाई बढि प्राथमिकता दिन आग्रह गरे । जहाँ उद्यमशिलताको बिकास हुन्छ त्यहाँ वित्तिय तथा बीमा जस्ता कुराहरुको पहुँच पनि विस्तार हुदैँ जान्छ भन्दै अर्यालले ग्रामीण क्षेत्रका स्थानीय तहहरुका बासिन्दाहरुको मुख्य पेशा कृषि नै भएकोले उनीहरुको पहिलो प्राथमिकता कृषि नै हुनुपर्ने बताए ।


 
                                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
		                             
                                                                     
                                     
                                     
  
									
									 
  
									
									 
  
									
									 
  
									
									 
  
									
									 
  
									
									 
  
									
									 
  
									
									 
  
									
									 
  
									
									
प्रतिक्रिया