स्याङ्जामा खोलियो यात्रु सहायता कक्ष

स्याङ्जा ।
मुख्यगरी चाडपर्व लक्षित गरेर जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले यात्रु सहायता कक्ष संचालनमा ल्याएको छ । सिद्धार्थ राजमार्ग हुदै संचालन हुने सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरेर ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष संचालनमा ल्याएको हो । असोज ६ गते घटस्थापनाको अवसर पारेर सिद्धार्थ राजमार्गका विभिन्न ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

चाडवाडका बेला यात्रुहरुको चाप बढ्ने र यात्रुलाई सहज र सुरक्षित यात्रा गराउने लक्ष्य अनुसार ट्राफिक प्रहरीले राजमार्ग सहित भित्री सडकमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । ट्राफिक प्रहरीको पहुँच पुगेको र नपुगेको ठाउँमा पनि यो सहायता कक्षले यात्रुलाई यात्रामा सहजिकरण गर्ने प्रहरी प्रमुख न्यौपानेले बताए । यात्रुले सुरक्षित र सहज यात्रा गर्दा कुनै समस्या नओस भन्ने सहायता कक्षको भुमिका महत्वपुर्ण रहने विश्वास प्रहरी प्रमुख न्यौपानेको छ ।

ट्राफिक प्रहरीले सिद्धार्थ राजमार्गको फेदिखोला, जिल्ला सदरमुकाम पुतलीबजार, भीरकोटको वयरघारी, वालिङ बजार, गल्याङ लगायतका क्षेत्रमा यात्रु सहायता कक्ष संचालनमा ल्याइएको छ । जिल्ला सदरमुकाममा स्थापना गरिएको यात्रु सहायता कक्षको प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले शुभारम्भ गरेका थिए । चाडवाडका बेला यात्रुलाई ठग्ने, महङ्गो भाडा लिने, असुरक्षित यात्रा गराउने लगायतका कानुन विपरीत कार्य रोक्न यात्रु सहायता कक्षले भुमिका खेल्नेमा आफु विश्वस्त रहेको प्रजिअ अर्यालले बताए । यात्राका क्रममा कुनै समस्या भएमा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय लगायत सुरक्षा निकायको हटलाईनमा फोन गर्न समेत प्रजिअले सुझाएका छन् ।

चाडवाडका बेला हुने कालाबजारी देखी कानुन विपरीत कार्य गर्ने जो कोही पनि कानुनको दायरामा आउने प्रजिअको भनाई छ । स्याङ्जावासी नागरिकको शान्तिसुरक्षा, अमनचयनमा जिल्लाको सुरक्षा निकाय कटिबद्ध भएर लागेको बताउदै सहज यात्र र सुखदरुपमा चाडपर्व मनाउन प्रजिले आग्रह गरेका छन् । ट्राफिक प्रहरीले संचालनमा ल्याएको यात्रु सहायता कक्षले यातायात व्यवसायीलाई समेत सहज बन्ने विश्वास यातायात व्यवसायीले गरेका छन् ।

प्रतिक्रिया