भीरकोटमा चाडपर्व लक्षित बजार अनुगमन सुरु

भीरकोट ।

भीरकोट नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गरेको छ। दशैं तिहारलाई लक्षित गरेर खाद्यान्न पसल, मासु पसल, होटल तथा रेष्टुरेन्ट, फलफूल तथा तरकारी पसल अनुगमन गरिएको नगर उपप्रमुख भगवती रेग्मी अर्यालले जानकारी दिईन। वडा नं १ र २ को ठाडोलाईन र सिद्धार्थ राजमार्ग आसपासका करिब ३५ वटा पसलहरू अनुगमन गर्दा १३ वटा खाद्यान्न पसल कारबाहीमा परेका छन्। नगर प्रशासन प्रमुख सिताराम खनालका अनुसार ५ वटा मासु पसल, २० वटा किराना पसल, ३ वटा होटल तथा रेष्टुरेन्ट, ४ वटा तरकारी तथा फलफूल पसल र २ वटा भेटेरिनरी पसल अनुगमन गरिएको हो। अनुगमन गरिएका धेरै पसलहरूलाई सचेत बनाइएको र १३ पसलबाट म्याद गुज्रेका खाद्यान्न, साबुन, मसला, चाउचाउ, बिस्कुट लगायतका सामाग्रीहरू जफत गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले जानकारी दिए।

अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी संचालन गरिएको, पसलको परिचय खुल्ने बोर्ड नराखेको, मूल्य सूचि अद्यावधिक नगरिएको, नविकरण नभएको, इजाजत पत्र नलिइ सुर्तीजन्य पदार्थ बिक्रि गरेको, एक्पाइरी जोन भएको सरसफाइ नभएको पाइएकाले सचेत गराइएको र व्यवसायीहरूलाई व्यवसायिक अनुशासन पालना गर्न र उपभोक्ता हितमा काम गर्न सचेत बनाइएको प्रशासकीय अधिकृत लम्सालले जानकारी दिए। नगर उपप्रमुख भगवती रेग्मी अर्यालको संयोजकत्वमा भएको बजार अनुगमनमा प्रशासकीय अधिकृत लक्ष्मण लम्साल, प्रशासन शाखा प्रमुख सिताराम खनाल, योजना शाखा प्रमुख याम प्रसाद रेग्मी, कृषि शाखा प्रमुख डा. श्रवण कुमार विष्ट लगायतका कर्मचारीहरू, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष नुवादत्त अर्याल, दहथुम प्रहरी चौकीका प्रमुख मुक्त बहादुर खड्का र संचारकर्मीको उपस्थिति रहेको थियो। चाडपर्वको समयमा मात्रै बजार अनुगमन गर्ने परिपाटीले गर्दा खाद्यान्न र फलफूल पसलहरूमा बढी समस्या देखिएको छ। नियमित बजार अनुगमन गर्ने तथा व्यवसायी र उपभोक्ता दुबैलाई सचेतना शिक्षा दिन सकेमा मात्र बजार व्यवस्थित हुने स्थानीय उपभोक्ताहरू बताउँछन्।

 

प्रतिक्रिया