बडा दशैं शुरु :— ‘स्याङ्जाका शक्तिपिठहरुमा दर्शनार्थीको घुइचो’

स्याङ्जा ।
नेपालीहरुको महान पर्व बडादशैं शुरु भएको छ । प्रत्येक बर्ष आश्विन शुक्लपक्ष शुरु भएसगै वडा दशैं शुरु हुन्छ । बडादशैं नेपाली हिन्दु धर्मालम्बीहरुको महान पर्वको रुपमा मनाइदै आइएको छ । असत्य माथी सत्यको बिजयी भएको दिनका रुपमा दशैंलाई मनाउन लागिएको विभिन्न धार्मिक ग्रन्थहरुमा पाइन्छ । टाढा—टाढा रहेका परिवारहरु बिच भेटघाट हुने, आफन्तहरु बिच गहिरो सम्वन्ध कायम रहने भएकाले पनि यो पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ ।
वडा दशैं शुरु हुने घटस्थापना दिनदेखी दशमी सम्म विभिन्न शक्तिपीठहरुमा पूजा आरधाना गर्ने प्रचलन रहिआएको छ । स्याङ्जा धार्मिक र शक्तिपीठहरुको प्रख्यात जिल्लाको रुपमा परिचित छ । जिल्लाका विभिन्न उच्च ठाउँहरुमा रहेका शक्तिपीठहरुमा नवदुर्गा भवानीको पूजापाठ, आरधाना गर्न दर्शनार्थीहरुको घुइचो लाग्ने गर्दछ । एतिहासिक, धार्मिक र सांस्कृतिक रुपले चिनिएका शक्तिपीठहरुमा पुगेर नवदुर्गा भवानीसगँ इच्छा, शक्ति र सम्पतीका लागि पूजाआजा गर्ने गर्दछन् ।
जिल्लाका बिशेषगरी अर्जुनचौपारी गाउँपालिकाको डहरेदेउराली, कालीगण्डकी गाउँपालिकाको आलमदेवी, बिरुवा गाउँपालिकाको मनकामना, हरिनास गाउँपालिकाको चिसापानी, पुतलीबजार नगरपालिकाको नुवाकोट÷सतौचण्डी, वालिङ नगरपालिकाको गह्रौसुर कालीका मन्दिर, भीरकोट नगरपालिकाको खिलुङ्कालिका मन्दिर लगायतका शक्तिपीठकहरुमा नवदुर्गा भवानीको पूजाआजा गर्ने गरिन्छ । वडा दशैंको समयमा यी शक्तिपीठहरुमा दर्शनार्थीहरुको घुइचो लाग्ने गर्दछ ।
आध्यात्मिक, सामाजिक र सांस्कृतिक रुपमा जोड्ने भएकाले सामुहिक पूजापाठ गर्ने प्रचलन पनि रहदै आएको । जसले गर्दा समाजिक एकता र सद्धभाव बढ्ने गरेको छ । स्याङ्जामा रहेको शक्तिपीठ अधिकांश समुन्द्री सतहदेखी १ हजार ५ सय भन्दा माथी रहेका छन् । उच्च स्थानमा शक्तिपीठ रहनुले पनि त्यस्ता धार्मिक स्थलमा दर्शनार्थीहरुको पूजाआजामा आकर्षण बढेको र दर्शन गर्दा मनले आटेको पुग्ने विश्वास मानिदै आइएको छ ।
स्याङ्जा र पर्वतको सीमामा अवस्थित स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरमा रहेको डहरे देउराली समुद्र सतहदेखि दुई हजार दुई सय ५० मिटर उचाईमा रहेको छ । धार्मिक र पर्यटकीय हिसावले अत्यन्तै रमणीय रहेको यो स्थानमा ऋषिमुनीहरुले तपस्या गरेको किवदन्ती रहेको छ । विशेषगरी नवदुर्गा, शिवरात्री, बाला चतुर्दशीजस्ता चाडपर्वसहित हरेक मंगलबार र शनिबारका दिन यहाँ बढी दर्शनार्थी आउने गरेका छन् । यो जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको धार्मिक स्थल हो ।
त्यस्तै पुतलीबजारमा रहेको सातौंकोट चण्डी समुन्द्री सतहदेखी १५ सय उचाइमा रहेको छ । बाइसे चौँबीसे राज्यका राजाले आ–आफ्ना राज्यमा सुख र समृद्धिका लागि देवी देवताको आराधना गर्ने प्रचलनअनुरुप सतौँकोटे राजाहरूले मन्दिर स्थापना गरी सतौँ चण्डी नामकरण गरिएको भनाई छ । मन्दिर दर्शनका लागि दैनिक सयौंको दर्शनार्थीहरु सताँै चण्डी आउने र दसैँजस्ता विशेष चाडपर्वमा हजारौंको सङख्यामा दर्शनार्थी आउने गर्दछन् । यो सगै नुवाकोट कालिका मन्दिरमा पनि वडा दशैैंको बेला दर्शनार्थीहरु आउने गर्दछन् ।
वालिङ, गल्याङ र चापाकोट तिनै पालिकाको उच्च भागमा रहेको अर्को शक्तिपीठ हो गह्रौकालिका मन्दिर । समुन्द्री सतहबाट १७ सय मिटर उचाइमा रहेको यो धार्मिक स्थलमा सबैभन्दा बढी दर्शनार्थीहरु वडा दशैंमा आउने गर्दछन् । गह्रौंसुर क्षेत्र सांस्कृतिक, धार्मिक, ऐतिहासिक र प्राकृतिक विविधायुक्त क्षेत्रका रूपमा प्रसिद्घ रहेको छ । चण्डी र कालीलाई पञ्चवली दिने प्रचलन रहेकाले पनि वडा दशैं र चैत्रे दशैमा विशेष मेला नै लाग्ने गर्दछ ।
कालीगण्डकी गाउँपालिकामा रहेको आलमदेवी मन्दिर बिशेषगरी शाहवंशीय राजाहरुको कुल देवताको रुपमा पुजाआजा गर्दै आएका छन् । यो मन्दिरमा पनि बिशेषगरी वडा दशैं र चैत्रे दशैमा दर्शनार्थीको घुइचो लाग्ने गर्दछ । सोह्र श्राद्ध बाहेक अन्य समयमा यो मन्दिरमा पुजाआजा गरिने गरिन्छ । झण्डै १७ सय मिटर उचाइमा रहेको यो मन्दिर फेदीमा कालीगण्डकी नदी बगेको छ । मगर समुदायबाट दैनिक पूजाआजा गरिने यो मन्दिर शाहावंसीय राजाहरुले पूजा गर्न आउन थालेपछि चर्चित भएको हो ।
बिरुवा गाउँपालिकाको मनकामना मन्दिरमा बिशेषगरी वडा दशैं पछि आउने पुर्णिमामा विशेष पुजाआजा र मेला लाग्ने गर्दछ । यहाँ भाकल गरेपछि मागेको पुग्ने विश्वासमा मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन् । यसैगरी भीरकोटमा अवस्थित खिलुङ् कालिका मन्दिर पनि दर्शनार्थीहरुको रोजाइमा पर्ने गर्दछ । यहाँ पनि वडा दशैं र चैत्रे दशैमा विशेष पुजाआजा हुने गर्दछ । स्याङ्जाका विभिन्न क्षेत्रमा स—साना रहेका शक्तिपीठ मन्दिरहरुमा पनि नवदुर्गा भवानीको पूजाआपाठ गर्न स्थानीयहरु पुग्ने गर्दछन् । जिल्लामा रहेको चर्चित शक्तिपीठहरुमा पुग्न यातायातको सुविधा रहेको छ । सडक संजालले शक्तिपीठहरुलाई जोडेपछि दर्शनार्थीहरुको भिड लाग्ने गरेको स्थानीयहरु बताउछन् ।
प्रतिक्रिया