तीन सन्तान जन्माउने परिवारलाई मासिक भत्ता
स्याङ्जा ।
जनसंख्या घट्दो दरलाई रोक्न स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता (अनुदान) दिने रणनीति बनाएको छ । गाउँपालिकाको घट्दो जनसंख्यालाई नियन्त्रण गर्न तीन सन्तान जन्माउने परिवारलाई मासिक चार हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने रणनीति बनाएको हो । जनसंख्याको घट्दो दरलाई रोक्न, जनसंख्यालाई सन्तुलन कायम गर्न, परिवारलाई सन्तानप्रति सकारात्मक सोचको प्रेरणा जगाउन र पोषणमैत्री स्थानीय शासनलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यविधि नै बनाएर तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायताको अवधारणा अगाडी सारेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले आर्थिक बर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रममा जनसंख्या बढाउने अभियान अगाडी सारेको थियो । नीति तथा कार्यक्रमलाइृ कार्यन्वयन गर्न गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई अनुदान रकम दिने कार्यविधि बनाएको छ । कार्यविधि कार्यन्वयनमा ल्याएपछि गाउँपालिकामा जनसंख्या बढ्ने अपेक्षा लिइएको छ । चालू आर्थिक वर्षका लागि लागू गरिएको कार्यक्रम ‘तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले जानकारी दिए । कार्यविधिको उद्देश्य अनुरुप तोकिएको मापदण्ड पूरा गर्ने परिवारलाई दुई वर्षसम्म मासिक चार हजार रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराइने भएको आचार्यले बताए ।
कार्यक्रमलाई दीर्घकालीन सोचका साथ ल्याएको बताउँदै अधिकृत आचार्यले गाउँपालिकामा बसोबास गर्ने परिवारलाई सन्तान जन्माउन प्रोत्साहन गर्ने र भविष्यमा जनसंख्याको सन्तुलन कायम गर्ने लक्ष्य राखिइएको बताए । कार्यविधि अनुसार योग्य परिवारले आवश्यक कागजातसहित प्रक्रिया पुरा गरेमा सहायता रकम तत्काल उपलब्ध गराइने आचार्यको भनाई छ ।
जनसंख्याको वृद्धिदर घट्दै गएकाले स्थानीय तहले यस्तो रणनीति लिएको गाउँपालिकाले जनाएको छ । दीर्घकालीन जनसंख्या सन्तुलन र पोषणमैत्री स्थानीय शासनलाई प्रवद्र्धन गर्न कार्यक्रम ल्याइएको बताइएको छ । कार्यविधिमा गाउँपालिकाभित्र स्थायी बसोबास गर्नेले २०८२ साल श्रावण महिनापछि तेस्रो सन्तान जन्माएका परिवारले वडा कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ । जन्मिएको सन्तान नेपाल सरकारको सूचीकृत स्वास्थ्य संस्थामै जन्मिएको हुनुपर्ने शर्त राखिएको छ । हाम्रो समाजमा सामान्यतया दुई सन्तानलाई पर्याप्त मानिएको भएपनि पछिल्लो समय धेरै ठाउँमा जनसंख्या घट्दै गएको अवस्था छ गाउँपालिका अध्यक्ष खिम थापाले भने, ‘कालीगण्डकीलाई दीर्घकालीन रूपमा जीवन्त बनाइराख्न परिवारमैत्री नीति बनाएका छौं ।’ सहायता रकम दिनुमात्रै ठूलो कुरा नभएर सन्तानप्रति सकारात्मक सोचको सन्देश दिने रणनीति हो उनले भने ।
पछिल्लो जनगणना २०७८ अनुसार स्याङ्जा जिल्लामा ६८ हजार ९५९ घरधुरीमा दुई लाख ५३ हजार २४ जनसंख्या बसोबास गर्दै आएका छन् । प्रतिपरिवार ३.३७ को आकार भएपनिजनगणना अनुसार जिल्लाको जन्मदर माईनस १.२८ रहेको छ । जनगणना २०७८ अनुसार कालीगण्डकी गाउँपालिकाको जनसख्या १७ हजार ९५५ भएपनि गाउँपालिकाले २०८१ मा तयार पारेको भिलेज प्रोफाईल अनुसार २१ हजार ९९३ जनसंख्या रहेको छ । जनसंख्या बढाउन अभियानमा लाग्ने गाउँपालिका यो पहिलो हो ।


प्रतिक्रिया