‘निर्वाचन आचारसंहिताको पालना एवं कार्यान्वयन साझा दायित्व’

अमृत अर्याल
वालिङ।

निर्वाचन आचारसंहिताको पालाना एवं प्रभावकारी कार्यान्वयन सबैको साझा दायित्व भएकोमा जोड दिइएको छ । जिल्ला निर्वाचन कार्यालयद्धारा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन शान्ति सुरक्षा, आचारसंहिता कार्यान्वयन तथा आपूर्ति व्यवस्थापन विषयमा पत्रकारसँग आयोजित संयुक्त बैठक एवम् अन्तरक्रियामा वक्ताहरूले निर्वाचन सफल बनाउन आचारसंहिताको पालना एवं प्रभावकारी कार्यान्वयन आवश्यक रहेकामा जोड दिए ।

स्याङ्जाका मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमले निर्वाचन लोकतन्त्रको मुख्य मेरुदण्ड भएका कारण आचारसंहिताको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचनलाई निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न बनाउन सकिने बताए । उनले “आचारसंहिताको प्रभावकारी कार्यान्वयन सबैको साझा दायित्व भएकाले यो दायित्वलाई सबैले आत्मसात गर्नुपर्नेमा जोड दिए ।” स्याङ्जा जिल्लामा निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको विषयमा हालसम्म १० वटा उजुरी परेको बताउँदै मुख्य निर्वाचन अधिकृत गौतमले सबैको सामूहिक प्रयासबाट निर्वाचनलाई निष्पक्ष एवं भयरहित बनाउन सकिने बताए । निर्वाचनको स्वच्छताले नै सुशासन ल्याउन सक्ने भन्दै यसमा गम्भीर बन्न उनले आग्रह गरे । सबै पक्षको सहकार्य भएमा मात्र निर्वाचन सभ्य र सफल हुने उनको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले शान्ति सुरक्षा र निर्वाचन आचारसंहिताको अनुगमन एकैसाथ अघि बढ्ने बताए । उनले संवेशदनशील क्षेत्रमा अझै विशेष ध्यान दिइने र आचारसंहिताको कार्यान्वयनका विषयलाई प्रभावकारी रूपमा अनुगमनसमेत गरिने प्रतिबद्धता जनाए । निर्वाचन आचारसंहिता पालना गर्न उनले सबैलाई अनुरोध गरे । प्रशासन र सञ्चारकर्मीबीचको सहकार्यले निर्वाचन प्रक्रिया अझ सहज हुने उनको धारणा थियो ।

क्षेत्र नं. २ का निर्वाचन अधिकृत ऋषि पौडेलले निर्वाचनलाई निष्पक्ष बनाउन सम्बद्ध सबैको सामूहिक प्रयास हुनुपर्ने आवश्यकता औँल्याए । पौडेलले आचासंहिता उल्लंघन गर्नेलाई १ लाख सम्म जरिवाना गर्न सकिने बताए । निर्वाचन अनुगमन अधिकृत प्रेम सुवेदीले निर्वाचन मर्यादित र अनुशासित बनाउन आचारसंहिता सबैले पालना गर्नुपर्ने बताए । निर्वाचन आचारसंहिता माघ ४ गतेदेखि नै लागु भएको हुँदा सबैले पालना गर्न उनले आग्रह गरे ।

अर्का अनुगमन अधिकृत थमनारायण शर्माले निर्वाचन आचारसंहितामा उल्लेखित विषयबारे जानकारी गराए । उम्मेदवारले बैंकिङ प्रयोजनका लागि अनिवार्य खाता खोल्नुपर्ने व्यवस्था गरिएकाले त्यसको पालना गर्न आग्रह गरे । जिल्लामा उम्मेदवारहरूले निर्वाचन प्रयोजनका लागि खर्च गर्न पाउने रकमको सीमा तोकेको बताउँदै उनले स्याङ्जाको क्षेत्र नम्बर १ मा ३१ लाख र क्षेत्र नं. २ मा २९ लाख निर्धारण गरिएको जानकारी गराए । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले निर्वाचन स्वच्छ, निष्पक्ष ढंगले संचालन गरी भयरहित वातावरण बनाउन प्रहरी कटिवद्ध भएर लागिपरेको बताए । हाल जिल्लामा १ हजार ९ सय भन्दा बढी निर्वाचन प्रहरी भर्ना गरी तालिम संचालन भैरहेको न्यौपानेले बताए ।

राष्ट्रिय अनुसन्धानका उपनिर्देशक जयन्द्र प्रसाद उपाध्यायले निर्वाचनको प्रचारका क्रममा कुनै पनि जातीय विभेद् हुने खालका अभिव्यक्ति आउन नहुने बताउँदै निर्वाचनमा खटिने महिला कर्मचारीलाई सुरक्षित अनुभूति हुने किसिमले व्यवस्थापन गराउन सुझाव व्यक्त गरे । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाले लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने जिम्मेवारी पत्रकारको काँधमा रहेको उल्लेख गरे । उनले भने, “प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र पारदर्शी बनाउन पत्रकारहरू पूर्ण रूपमा आचारसंहितामा बाँधिनेछौं,” ।

कार्यक्रममा सशस्त्र प्रहरीका कुमार तिम्सिना, जिल्ला निर्वाचन अधिकृत श्रीराम थापा, सहायक निर्वाचन अधिकृत भूमिप्रसाद शर्मा, पत्रकार महासंघ स्याङ्जाका पूर्व अध्यक्ष ओमप्रकाश शर्मा, कम्प्यूटर अपरेटर श्रीकृष्ण तिमिल्सेना, पत्रकारहरु राधाकृष्ण डुम्रे, तोलाकान्त बगाले, गोपिकृष्ण रेग्मी, रामबहादुर रोका, रमेश गोदार र नारायण प्रसाद कोइराला लगायतले अचारसंहिता पालना र यसको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा संचालन गरिने कार्यालयले जनाएको छ । स्याङ्जामा १ सय ९९ मतदानस्थल अन्तर्गत ३ सय २२ मतदान केन्द्रबाट मतदान हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया