२१ वर्षपछि स्तरोन्नति भयो हेलु–खिलुङ सडक
भीरकोट ।
स्याङ्जाको भीरकोट नगरपालिका–७ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको खिलुङ कालिका मन्दिर जोड्ने सडक स्तरोन्नति भएपछि स्थानीय बासिन्दा र पर्यटकलाई आवतजावतमा ठूलो सहजता भएको छ। दुई दशकभन्दा बढी समयसम्म कच्ची, साँघुरो र जोखिमपूर्ण अवस्थामा रहेको हेलु–खिलुङ सडक अहिले कालोपत्रे तथा ढलान भएपछि यस क्षेत्रको विकासले नयाँ गति लिएको छ। हेलुबाट खिलुङ गाउँ हुँदै खिलुङ कालिका मन्दिरसम्म पुग्ने सडकको ट्रयाक विसं २०६२ सालमा खोलिएको थियो। तर ट्रयाक खुलेको २१ वर्षसम्म पनि सडकको स्तरोन्नति हुन नसक्दा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका थिए। विशेषगरी वर्षायाममा हिलो र पहिरो तथा हिउँदमा धुलोका कारण यात्रा अत्यन्तै जोखिमपूर्ण बन्ने गरेको थियो। हाल सडकको २ किलोमिटर भाग ढलान गरिएको छ भने ५ सय मिटर खण्ड कालोपत्रे गरिएको छ। विशेष गरी अत्यन्त जोखिमपूर्ण मानिएको ‘भीरखण्ड’ क्षेत्रमा ढलान तथा कालोपत्रे सम्पन्न भएपछि स्थानीय बासिन्दाले राहतको अनुभूति गरेका छन्। सडक स्तरोन्नतिसँगै दैनिक आवतजावत, कृषि उत्पादनको ढुवानी तथा धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय ज्येष्ठ नागरिक चन्द्रबहादुर गुरुङले सडक स्तरोन्नति भएपछि आफूहरू निकै खुसी भएको बताए। उनका अनुसार वर्षौंदेखि प्रतीक्षामा रहेको सडक सुधार भएपछि गाउँलेहरूको जीवनशैलीमा सकारात्मक परिवर्तन आउने विश्वास बढेको छ। “ऐतिहासिक मन्दिर जोड्ने सडकको कालोपत्रे र ढलान हुँदा हामी निकै खुसी छौँ,” गुरुङले भने, “दैनिक आवतजावत गर्न स्थानीयलाई सहज भएको छ भने मन्दिर दर्शन गर्न आउने भक्तजन तथा पर्यटकलाई पनि अब निकै सुविधा पुगेको छ। पहिले यात्रा गर्न निकै कठिन थियो, अहिले धेरै सहज भएको छ।”
सिद्धार्थ राजमार्गको हेलुदेखि खिलुङ गाउँ जोड्ने सडक करिब ७ किलोमिटर लामो रहेको छ। समुद्री सतहदेखि करिब १ हजार ६ सय मिटरको उचाइमा अवस्थित खिलुङ गाउँ र प्रसिद्ध खिलुङ कालिका मन्दिरसम्म पुग्ने यो सडक धार्मिक, सांस्कृतिक तथा आर्थिक दृष्टिले महत्वपूर्ण मानिन्छ। हाल पनि सडकको करिब २ दशमलव ५ किलोमिटर खण्ड स्तरोन्नतिको चरणमा रहेको छ। स्थानीयवासीका अनुसार ट्रयाक खुलेपछि सडक सञ्चालनमा त आयो, तर उचित स्तरमा नबन्दा जोखिम कायमै थियो। साँघुरा मोड, भिरालो भूभाग तथा कमजोर संरचनाका कारण यात्रुहरू डराउँदै यात्रा गर्न बाध्य थिए। विशेष गरी ‘भीरखण्ड’ भनिने क्षेत्रमा दुर्घटनाको जोखिम बढी रहने गरेको थियो। अहिले उक्त क्षेत्रमा ढलान र कालोपत्रे भएपछि जोखिम उल्लेखनीय रूपमा घटेको स्थानीयहरू बताउँछन्।
सडक स्तरोन्नतिको काम संघीयता कार्यान्वयनपछि तीनै तहका सरकारको प्राथमिकतामा परेको थियो। स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानी तथा समन्वयमा सडक सुधारको योजना अघि बढाइएको हो। लामो समयदेखि ओझेलमा परेको यो सडकले अन्ततः आधुनिक स्वरूप प्राप्त गरेपछि स्थानीयवासीले विकासको प्रत्यक्ष अनुभूति गर्न थालेका छन्। करिब १३ करोड रुपैयाँको लागतमा सडक स्तरोन्नतिको काम सम्पन्न गरिएको हो। निर्माण कार्य फुर्सामाटा कालिका कन्ट्रक्सन, अर्जुनचौपारी र भुषाल कन्ट्रक्सनले गरेका हुन्। निर्माण सम्पन्न भएसँगै सडकको गुणस्तर, सुरक्षा र यात्राको सहजतामा उल्लेखनीय सुधार आएको छ।
भीरकोट नगरपालिका–७ का वडा अध्यक्ष ताराप्रसाद अर्यालले सडक स्तरोन्नति केवल यातायात सुविधामा सीमित नभई समग्र क्षेत्रको आर्थिक र पर्यटन विकाससँग जोडिएको बताए। उनका अनुसार यस सडकले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय उत्पादनको बजार पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। “हेलु–खिलुङ यात्रा पहिले निकै कष्टकर थियो,” वडा अध्यक्ष अर्यालले भने, “एक घण्टामा पनि मुस्किलले पुगिन्थ्यो। अहिले सडक स्तरोन्नति भएपछि आधा घण्टाभित्रै सहज रूपमा पुग्न सकिने अवस्था बनेको छ। यसले स्थानीयको समय, श्रम र खर्च बचत गरेको छ।” उनले खिलुङ क्षेत्र सुन्तला उत्पादनका लागि समेत प्रसिद्ध रहेको उल्लेख गर्दै सडक सुधारले कृषकलाई प्रत्यक्ष लाभ पुग्ने बताए। “यहाँ उत्पादन हुने सुन्तला, तरकारी तथा अन्य अर्गानिक कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन पहिले निकै कठिन थियो,” उनले भने, “अब सडक राम्रो भएपछि स्थानीय उत्पादनले सहज रूपमा बजार पाउनेछ र किसानको आम्दानी वृद्धि गर्न सहयोग पुग्नेछ।”
खिलुङ गाउँ धार्मिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्रका रूपमा परिचित छ। यहाँ अवस्थित खिलुङ कालिका मन्दिरमा स्याङ्जासहित पाल्पा, गुल्मी, कास्की, तनहुँ तथा अन्य जिल्लाबाट समेत भक्तजनहरू दर्शनका लागि आउने गर्छन्। तर सडकको दुरावस्थाका कारण धेरै पर्यटक तथा दर्शनार्थीले यात्रा गर्न हिच्किचाउने अवस्था थियो। अब सडक स्तरोन्नति भएपछि मन्दिरसम्म पुग्न सहज भएको छ। यसले धार्मिक पर्यटनलाई थप चलायमान बनाउने स्थानीयको अपेक्षा छ। पर्यटन व्यवसायीहरूका अनुसार सडक पहुँच सुधारसँगै आन्तरिक पर्यटकको आगमन बढ्ने सम्भावना रहेको छ। यसले स्थानीय होटल, होमस्टे, कृषि तथा साना व्यवसायलाई समेत प्रत्यक्ष फाइदा पुग्ने विश्वास गरिएको छ। स्थानीयवासीहरूका अनुसार विकासको आधारभूत पूर्वाधार मानिने सडकको स्तरोन्नति गाउँको समग्र विकासको महत्वपूर्ण खुड्किलो हो। वर्षौंदेखिको प्रतीक्षा र संघर्षपछि सडकले नयाँ स्वरूप पाएसँगै खिलुङ क्षेत्रका बासिन्दामा उत्साह थपिएको छ। धार्मिक, कृषि तथा पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको विकासमा हेलु–खिलुङ सडक स्तरोन्नति कोसेढुंगा सावित हुने विश्वास स्थानीयहरूले व्यक्त गरेका छन्।


प्रतिक्रिया