संविधानमा व्यवस्था हुँदा धेरै महिलाले अवसर पाएका छन्

देवी अर्याल,
उपप्रमुख,
पुतलीबजार नगरपालिका, स्याङ्जा ।

देवी अर्याल, पुतलीबजार नगरपालिका स्याङ्जाकी उपमेयर हुन् । अर्याल नयाँ संरचना अनुशार स्थानीय तहको दोश्रोे कार्याकालमा उपमेयर निर्वाचित भएकी हुन् । अहिले जताततै तिजको रौनकता बढेको छ । महिनौ अघिदेखि जनप्रतिनिधिहरुलाई दर खाने कार्यक्रम उद्घाटन गर्न भ्याई नभ्याई छ । तिजको नाममा कतैकतै विकृति पनि बढेको पाईन्छ । पुतलीबजार नगरपालिकाका गतिविधि, महिला सशक्तिकरण र तिजपर्वको साँस्कृतिक विशेषता र मौलिकता सम्वन्धि विषयलाई लिएर अर्यालसँग स्थानीय प्रशासनमा महिला जनप्रतिनिधि भएर काम गर्दाका अनुभव सम्बन्धमा कुराकानी गरेका छौं । प्रस्तुत छ, पब्लिक आवाज पत्रिकाका सम्पादक अमृत अर्यालले उनीसँग गरेको छलफलको सम्पादित अंश ः

१. उपमेयर साव आराम हुनुहुन्छ ? महिलाको रुपमा उपमेयरको नेतृत्व सम्हाल्दा साढे २ बर्षमा कस्ता कस्ता चुनौती सामना गर्नुभयो ?

धन्यवाद, नमस्कार म आरामै छु । जनताको अपेक्षा सिधा बजेटमा हुने रहेछ । धेरैको बुझाई मेयरपछि उपमेयरले काम गर्ने भन्ने बुझाई रहेछ । तर उपमेयरको जिम्मेवारी न्यायिक समिती, अनुगमन लगायत हुन् । उपमेयरले राजस्व परामर्स, जग्गा जमिनको किचलो मिलाउने लगायतका काम पर्छन् । न्यायिक समितीले सबै मुद्दाहरु टुंगो लगाउन भने सक्दैन । यो अवधिमा मैले क्यान्सरको समेत सामना गर्नुप¥यो । तपाईहरुको आर्शिवादले अहिले क्यान्सरलाई पनि जितेर नियमित काममा फर्केकी छु ।

२. उपमेयर महिला रहेको अवस्थामा अहिलेसम्मको कार्यालयमा कर्मचारी र जनप्रतिनिधिहरुको व्यावहार कस्तो रह्यो । राजनीतिक रुपमा महिला जनप्रतिनिधि भएकै कारण अप्ठ्यारो त भएन ?

जनप्रतिनिधिको पाटो एकातिर हुँदोरहेछ, कर्मचारीको पाटो एकातिर । सुरु सुरुमा मलाई धेरै अप्ठ्यारो भयो । निर्वाचित भएको प्रारम्भिक चरणमै म स्तन क्यान्सरबाट ग्रसित भए । म एक्कासी जनप्रतिनिधि भएर आउदा मेलै धेरै दिदी बहिनी दाजुभाइृहरुलाई भेट्ने अवसर पाए । पहिले पहिले कार्यालयमा जनताहरु आउनु हुन्थ्यो म डिल गर्न पनि सक्ने थिइन । जनताको अपेक्षा पैसासँग हुने रहेछ । तर उपमेयरसँग कुनै बजेट थिएन । मैले अहिले विभिन्न संघ संस्थाहरुसँग जोडेर उहाँहरुको माग पुरा गराई दिएको छु । सिपसँगै विभिन्न सरसामान समेत उपलव्ध गराईएको छ ।

३. पहिलेभन्दा अहिले महिलाहरुको अवस्थामा कुनै परिवर्तन आएको छ ?

यो अवधिमा धेरै महिलाहरुको अवस्थामा परिवर्तन आएको छ । म उपमेयर भएर हिडिरहँदा घमण्डी भएर होइन कि सबैसंग घुलमिल भएर हिडेकी छु । उहाँहरुमा मेरो व्यावहारले यतिको मान्छेले त गर्दो रहेछ म पनि केही गर्न सक्छु भन्ने आत्मविश्वास आएको देखेकी छु । महिलाहरु सक्षम भएर आउनुपर्छ । आउनु हुन्छ भन्ने लाग्छ । महिला पछिल्लो समय सक्षम हुँदै आएका छन् भने चुनौती पनि छ । घरबाहिरबाट सहयोग हुनु जरुरी छ । समाजका सबैले महिलालाई संरक्षण गर्नुपर्छ । अहिले अधिकांश महिलाहरु नेतृत्वमा पुगेका छन् । महिलालाई अवसर पनि छ तर सबैलाई चासो भने छैन ।

४. अहिले महिलाहरु राजनीतिक रुपमा सवल भइ सकेका हुन् ?

अहिलेका युवा पिढीहरु विदेशतिर लागेका छन् । यहाँ भएका महिलाहरुले यो धान्न सक्दैनन कि भन्ने लाग्छ । महिला रातको १२ बजे पनि घर बाहिर निस्कन सकेनन् भने केही हुदैन । एउटा पुरुष राती १२ बजे आउँछ भने महिला राती १२ बजे घरबाट निस्किन सक्दिनन । रातको समयमा पुलिस केस गर्नु प¥यो । अथवा अरु केही काम गर्नु प¥यो यो समाजले त्यो महिलालाई कसरी हेर्छ ? महिला सक्षम हुन समाजको धारणा परिवर्तन हुनु जरुरी छ । पढाई लेखाईमा महिला पनि पुरुष जतिकै सक्षम छन् । तर पूर्णरुपमा सवल भैसकेका छैनन् ।

५. राजनीतिक पार्टीले महिलालाई अघि बढाउन सकेको छ त ?

राजनीतिक पार्टीमा फस्र्ट पर्सन पुरुष हुँदा हरेक मुख्य जिम्मेवारी उनीहरुकै हुने गर्छ । महिलाले दावी गरे पनि तिम्रो अहिले बेला भएको छैन भनेर पछि हटाइन्छ । पार्टीमा क्रियाशिल सदस्यता दिदा पनि पहिले नै त्यो घरबाट पुरुषको सदस्यता हुँदा महिलालाई पनि दिन नमान्ने प्रवृत्ति छ । पुरुष निस्केको घरबाट महिलालाई पनि ठाँउ नदिने हो भने कसरी समानता हुन्छ । नराखी नहुने संविधानले तोकेको ठाँउमा चाहि महिलालाई जिम्मेवारी दिइएको छ । संविधानले नै नतोकेको भए महिलाले ठाँउ पाउने थिएनन । पहिलेको दाँजोमा अहिले महिला अघि आएका छन् । यसरी नै अघि बढे भोलिका दिनमा बराबर हुने अवस्था आउँछ । महिलाहरु जबरजस्ती अघि बढेका छन् स्वस्र्फुत रुपमा छैनन् । अर्काेतर्फ पाएसम्म पुरुषले आफुले भाग नलिई महिलालाई छोडिदिएका पनि छैनन् ।

६. तपाईले जिम्मेवारी पाए अनुरुप उपमेयरको जिम्मेवारी राम्रोसँग निभाउनु भएको छ ?

बजार अनुगमन नियमित रुपमा गरिएको छ । जनगुनासोको आधारमा पनि अनुगमन गर्ने गरिएको छ । जनगुनासो नै नआएपनि अनुगमन गरेका छौं । न्यायिक समितीमा मैले गरेको निर्णयहरुमा रिस राग चाँही राखेको पाएको छैन । मैले कानूनी सल्लाह लिएर काम गर्ने गरेको छु । न्यायिक समितीको फैसलाको सन्दर्भमा कतिपय मेरा भोटरले न्याय दिदा मैले भोट हालेको छु तर मलाई सहयोग गर्नु भएन भन्ने बुझेको छु । तर मैले गल्ती भएको ठाँउमा सम्झाउने गरेको छु । पारिवारिक मुद्दामा सम्बन्ध विच्छेद हुने अवस्था रोक्ने काम गरेको छु । बलात्कारको मुद्दामा अपराधिलाई सजाय दिने काम गरेको छु । धेरै काम गर्न सकेको छु । म बिरामी नभएको भए अझै धेरै काम गर्न सकिन्थ्यो कि भन्ने लाग्छ । महिलाले जिम्मेवारी पाएको खण्डमा सबै काम गर्न सक्छन् । म यहाँ आउँदा खासै केही थिएन् । मलाई क्यान्सर लागेको थाहा भएपछी धेरै महिलाहरु मजस्तै यसबाट ग्रसित हुनसक्ने अनुमान गरी क्यान्सरको निशुल्क परिक्षण गर्ने व्यवस्था मिलाई धेरै पटक शिविर संचालन गरेकी छु । स्तन क्यान्सर पीडित धेरै दिदिबहीनीहरुलाई चेकजाँच पश्चात अस्पतालसम्म पु¥याईएको छ । मेलमिलाप सम्वन्धि तालिमबाट धेरै महिलाहरु लाभान्वित भएको अवस्था छ । हरेक वडामा मेलमिलाप केन्द्र खडा गरिएको छ । यो नगरपालिका महिला हक अधिकारमा पूर्ण छ । तर पनि महिलाहरुको आर्थिक उन्नतीका लागि बजेट बिनियोजन गरी सोही अनुशारका कार्यक्रम दिन सकिएको छैन ।

७. राजनीतिमा अघि बढ्न महिलाले के गर्नु जरुरी छ ? राजनीतिमा आउन चाहने महिलालाई के सल्लाह दिनु हुन्छ ?

राजनीति भनेको समाजसेवा हो । समाजसेवाको विषयमा बुझ्नु प¥यो । सक्षम हुनु प¥यो । तालिम जरुरी छ । महिलाको राजनीतिक सर्कल पनि जरुरी छ । भाषणकला भन्दा पनि काम गर्ने शैली जरुरी छ । घमण्डी हुने, अरुलाई डोमिनेट गर्ने भन्दा पनि सबैसँग घुलमिल हुने, समाजमा प्रभाव हुनुपर्छ । यी सबै कुराका लागि समय निकाल्नु प¥यो । हरेक सामाजिक काममा अग्रसर भै राजनीतिमा अघि बढ्ने सल्लाह दिन चाहन्छु ।

८. तपाईहरुले जिम्मेवारी लिएपछि पुतलीबजार नगरपालिकामा के कस्तो परिवर्तन आएको छ ?

धेरै परिवर्तन आएको छ । थोरै बजेटमा धेरै काम गरेका छौं । एउटा वडाबाट अर्को वडा जोड्ने बाटोलाई प्राथमिकता दिएका छौं । तपाईहरु पनि यही ठाँउमा बस्नु हुन्छ देखिरहनु भएकै होला । आगामी दिनहरुमा धार्मिक पर्यटकीय स्थल बनाउन अरु योजना पनि अघि बढ्नेछन् । विविध कारणले भने जसरी काम गर्न सकिएन । बढी नै त भन्न सक्दिन, महिला सशक्तिकरणका क्षेत्रमा धेरै नै कामहरु सम्पन्न भएका छन् । ति सबैको फेहरिस्त यहाँ संभव नहोला ।

९. प्रसंग बदलौ, समस्त हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदैं छ, यो पर्वलाई कसरी लिनु हुन्छ ? तर अहिले तिजको मौलिकता हरायो नि, अहिले बढ्दै गैरहेको तिजको उच्छृङ्खलता अन्त्य गरि तिजको मौलिकता र परम्परा कसरी जोगाउन सकिन्छ होला ?

म एक हिन्दु नारी भएकाले तिज पर्व मेरो लागी विशेष पर्व हो । अहिलेको यो बदलिदो समयसँगै तिज मनाउने तौरतरिकामा पनि रुपान्तरण आएको छ । दुख बेदनाका गीत मात्र होईन केही रमाईला गीत संगीत पनि गुञ्जीने भएकाले यसपालीको तीज अरु बेलाको भन्दा फरक छ तर समाजका हरेक तह र तप्काका मानिसहरुले आआफ्नै शैलीमा तीजलाई उत्सवको रुपमा मनाउन थालेको पाईन्छ । तिज पर्बको मौलिकता र परम्परा जोगाउन नयाँ पुस्ता जागरुक हुनुपर्ने देखिन्छ । नयाँ पुस्तालाई तिजको महत्व बुझाउन सके मात्र यसको मौलिकता र परम्परालाई जोगाउन सकिनेछ । युवा साथिहरुलाई हामिले तिजको धार्मिक, ऐतिहासिक र पारम्परिक महत्वका बारेमा बुझाउन आबश्यक छ । त्यति गरे मात्र यसको गरिमा जोगाउन सकिन्छ । पछिल्लो समयमा तिजको नाममा बिकृती भित्रिएको छ । तिज मान्ने नाममा जे बिकृत काम भएका छन्, त्यसले हाम्रो समाजलाई दुषित बनाएको छ । स्कुल र कलेज तहबाट नै तिजको सौन्दर्य र महत्वका बारेमा बुझाउँदै लान सकियो भने बिस्तारै बिकृती हट्दै जानेछ भन्ने मलाई लागेको छ । युवाहरुलाई नै जागरुक बनाउने हो, त्यो गर्न सकें धेरै समस्या हल हुन्छ । पर्व मान्ने नाममा धनी र गरिवको बिचमा भिन्नता देखिन हुदैंन् । कतिपय अवस्थामा हाम्रो आफ्नै कारणले पनि बिकृती भित्रन सहयोग पुगेको छ त्यसतर्फ सचेत हुनुपर्ने भयो । तिजमा धेरै बिकृती आएका छन्, यसलाई रोक्नपर्छ तर परम्परासंगै आएका कु–संस्कारलाई भने त्याग्दै जानूपर्छ । तिजको मौलिकता र संस्कृतीसंग जोडिएका राम्रा कुरालाई प्रबर्धन गर्ने र कु–संस्कारलाई छाड्दै जानूपर्ने देखिन्छ । तिज नेपाली नारिहरुको महान् पर्व भएकाले यो पर्वमा नारी हक अधिकारका कुरा पनि संग संगै लैजानु पर्छ । महिनौ अघिदेखि दर खाने परिपाटीको अन्त्य गरिनुपर्छ ।

१०. अन्त्यमा पब्लिक आवाज पत्रिका मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

सर्वप्रथम त यो अवसरका लागि जिल्लाको लोकप्रिय पत्रिका पब्लिक आवाजलाई धन्यवाद दिन चाहन्छु । तपाईको पत्रिका मार्फत तड्कभड्क नगरी चाडपर्व मनाऔं भन्न चाहन्छु । तिजका गित गाउँदा छाडा गित नगाई न्याय र समानताका गितहरु गाऔं । पार्टी प्यालेसमा हैन आफ्नै घरमा समान्य तरिकाले चाडबाड मनाऔं । आगामी ३ बर्ष भित्र पुतलीबजार नगरपालिकालाई एक नमुना नगरपालिकाको रुपमा चिनारी गर्नका लागि सम्वन्धित सवैमा सहयोगको अपेक्षा राखेका छौं । आशा एवं विश्वास छ, राजनैतिक दल, जनप्रतिनिधी, कर्मचारी एवं सम्वन्धित सरोकारवालाको सक्रिय सहयोग रहनेछ ।

प्रतिक्रिया