भीरकोट नगरपालिकाको निर्णय—निशुल्क स्वास्थ्य बिमा

तोलाकान्त बगाले,
भीरकोट ।
स्याङ्जाको भीरकोट नगर कार्यपालिकाको ८७ औं बैठकले गरेका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ । नवनिर्वाचित जनप्रतिनिधिहरु आईसकेपछि सोमबार बसेको पहिलो नगर कार्यपालिका बैठकले गरेका निर्णयहरुकाबारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा नगर प्रवक्ता दीपेन्द्र केसीले गरीव घर पहिचान गरेका अति विपन्न परिवारहरुलाई निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको निर्णय गरेको बताए ।

भीरकोट नगर अस्पताललाई प्रथम बिन्दु राखी स्वास्थ्य बीमा गरेका परिवारको बीमा प्रिमियमवापतको रकम नगरपालिकाले भुक्तानी गर्ने प्रवक्ता केसीले जानकारी दिए । त्यस्तै भीरकोट नगरपालिकाभित्र बसोबास गरेका र भीरकोट नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरुमा कम्तिमा चार पटक गर्भ जाँच गरेका र सुत्केरीपश्चात तीन पटक स्वास्थ्य जाँच गरेका सुत्केरी महिलालाई सम्बन्धित स्वास्थ्य संस्थाको सिफारिस, वडाको सिफारिस र जन्मदर्ता प्रमाणपत्रको आधारमा प्रसुति पोषण भत्तावापत प्रतिब्यक्ति पाँच हजार उपलब्ध गराउने निर्णय गरेको छ ।

नगरपालिकाभित्रका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीमध्ये बृद्ध, अशक्त, अपाङ्गता भएका ब्यक्ति र विरामीहरुलाई सम्बन्धित बैंकसँग समन्वय गरी सम्बन्धित वडाबाट नै घर घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने ब्यवस्था मिलाउने भएको छ । नगरपालिकाभित्रका क्षेत्रमा हाल सञ्चालनमा रहेका फ्रि वाईफाई जोनको अवस्था अध्ययन गरी सोबाट प्राप्त पृष्ठपोषणका आधारमा प्रत्येक वडाको ३ ठाउँ हुने गरी २७ ठाउँमा फ्रि वाईफाई जोन बनाउने निर्णय गरिएको प्रवक्ता केसीले बताए ।
निर्णयहरु सार्वजनिक कार्यक्रममा नगर प्रमुख गोविन्दकुमार कर्माचार्य, उपप्रमुख भगवती रेग्मी अर्याल, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया