महोत्सवको तयारी तिब्र, टिकटक प्रतियोगिता महोत्सवको आकर्षण

वालिङ ।
स्याङ्जाको वालिङमा हुन लागेको प्रथम पिंक सिटी महोत्सव २०८१ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । फागुन २१ गतेदेखी चैत्र ३ गतेसम्म आयोजना हुन लागेको पिंक सिटी महोत्सवको तयारीका बारेमा आयोजकले पत्रकार सम्मेलन गरी तयारी अन्तिम चरणमा पुगेको जनाएका हुन् । वालिङ चेम्बर अफ कमर्शको आयोजनामा हुन लागेको महोत्सवको तयारीका बारेमा जानकारी दिदै चेम्बरका अध्यक्ष प्रकाश न्यौपानेले वालिङवासी सगै स्याङ्जावासीको गौरवको बिषयसगँ जोडिएको यो महोत्सव सफल बनाउन सबैको साथ रहेको दावी गरे ।

‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ’ भन्ने मुलनाराकासाथ सुरु हुन लागिरहेको महोत्सव वालिङको सभ्यता र यसको ऐतिहासिक महत्वको बारेमा जानकारी दिने र प्रचार प्रसार गर्ने, स्थानीय तथा स्वदेशी कृषि, खेलकुद, संस्कृति, पर्यटन, औद्योगिक उत्पादनको प्रवद्र्धन एवम् संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको अध्यक्ष न्यौपानेको भनाई छ ।


महोत्सवमा कृषि प्रदर्शनी, अन्तर पालिकास्तरीय भलिवल प्रतियोगिता, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, काव्य गोष्ठी, टिकटक प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने छ ।

महोत्सव अवधिको गतिविधि टिकटक मार्फत प्रचारप्रसार गर्ने, चेम्बरलाई ट्याग गर्नेलाई लाईक र भ्युजको आधारमा विजेता, उपविजेता छनोट गरिनेछन् । टिकटक प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, नृत्य प्रतियोगितालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रम समेत हुनेछन् ।

यसअघि फागुन ९ गतेबाट १८ गते सम्म महोत्सव गर्ने तयारी गरेकोमा स्याङ्जा उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवसँगको मिति एउटै हुने भएपछि यस महोत्सवलाई पछाडि सारिएको उनले बताए । महोत्सवमा २५० स्टल रहने छन् । महोत्सव अवधिभर कूल पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य लिइएको छ भने दुई लाख भन्दा बढीले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । महोत्सवमा ६६ लाख १५ हजार आम्दानी गर्ने र ६ लाख १५ हजार रुपैयाँ बचत हुने अनुमान गरेको महासचिव गणेश राउतले जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रदिप कोईरालाले स्याङ्जाका सञ्चार माध्यमहरुले महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्नकालागि सहयोगी भूमिका खेल्ने विश्वास दिलाए । कार्यक्रम अध्यक्ष न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष मणिप्रसाद पंगेनी र सञ्चालन महासचिव गणेश राउतले गरेका थिए । प्रथम पिंक सिटी महोत्सवमा मुख्य आकर्षणको रुपमा टिकटक प्रतियोगिता हुने देखिएको छ । यसका लागि केही सर्त समेत राखेको आयोजकले जनाएको छ । ति सर्तहरु महोत्सव संचालन हुनेदिनमा सार्वजनिक गरिने महासचिव राउतले बताए ।

प्रतिक्रिया