ढकालको संकल्प— नीति र विकासमा नागरिकको सहभागिता

स्याङ्जा ।
नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका भरतराज ढकालले नीति र विकासमा नागरिकको सहभागिता हुनेगरी संकल्पपत्र सार्वजनिक गरेको बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदाताको घरदैलोमा मत माग्न पुगेका ढकालले स्वामित्व, उत्पादन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्यम, कला–पर्यटन, कल्याण, जोखिम व्यवस्थापन र सुशासनलाई समावेश गरी सार्वजनिक गरेको संकल्पपत्रमा नागरिकको सहभागिता अनिवार्य गर्ने बताएका हुन् ।

उम्मेदवार ढकालले सार्वजनिक गरेको संकल्पलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समयमा सम्पन्न गर्ने कामको सूचीमा राखेर मतदातासगँ मत मागिरहेका छन् । वित्तिय क्षेत्र र कृषि क्षेत्रमा दख्खल राख्ने ढकालले समृद्ध स्याङ्जा निर्माणका लागि ‘एक वडा, एक उत्पादन’को मोडेललाई अगाडी सारेका छन् । कृषिमा आत्मनिर्भर नबनाई नागरिकको आयआर्जनमा बृद्धि गर्न नसकिने अवधारणा प्रस्तुत गर्दै उत्पादन र बजारीकरणलाई सगँसगै लैजाने ढकालको भनाई छ ।

‘एक वडा, एक उत्पादन’ प्रणालीको विकासमार्फत उद्यमशीलता र आयआर्जन वृद्धि गर्दै जाने संकल्प राखेका ढकालले अनिवार्य, व्यावहारिक, बजार उपयोगी, प्रविधिमैत्री र गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने प्रतिबद्धता मतदातासगँ व्यक्त गरेका छन् । स्याङ्जाको भुगोल र माटोलाई चिनेका ढकालले नागरिकको मुहार बदल्न उत्पादनलाई नै प्रथामिकता दिनुपर्ने बताएका छन् ।

स्वास्थ्य बिमाको दायरा वृद्धि गर्दै सर्वसुलभ, गुणस्तरीय र अनिवार्य स्वास्थ्य सेवाको संकल्प गरिएको काँग्रेस प्रचार विभाग सचिवालय प्रमुख ध्रुव खाँणले जानकारी दिए । ढकालले सबै नागरिकको पहुँचमा स्वच्छ खानेपानी, नवीकरणीय ऊर्जा, सडक सञ्जाल, इन्टरनेट र खेलकुद पूर्वाधारलाई जोड दिएका छन् । प्रविधिको पहुँच, प्रतिस्पर्धी क्षमता र संस्थागत संरचनाको विकासमार्फत युवा उद्यमशीलता प्रवद्र्धनलाई आफुले प्राथमिकतामा राखेको बताए ।

 

प्रतिक्रिया