‘गुटगत राजनीतिले पार्टीलाई कमजोर बनाउँछ’

केदार काफ्ले,
(का.वा. सभापति)
नेपाली काँग्रेस, स्याङ्जा ।
केदार काफ्ले नेपाली काँग्रेस स्याङ्जाका कार्यवाहक सभापति हुन् । वि.सं. २०४५ मा नेपाली काँग्रेसको सदस्यता ग्रहण गरेका काफ्ले २०४९ मा वालिङ क्याम्पसको स्ववियू सभापतिभएका थिए । राजनीतिक यात्राका क्रममा २०६१ मघमा २८ दिन कारागार जीवन बिताएका उनी लामो समयदेखि राजनीतिमा संलग्न रहका छन् । नेपाली काँग्रेसको नगर सदस्य, क्षेत्रीय सहसचिव, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति भैसकेका उनी १४औं महाधिवेशनबाट जिल्लाको उपसभापति बने । काफ्ले २०५४ र २०७४ सालमा वालिङ १ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । हाल पार्टीको जिल्ला सभापति सासंद समेत भएकाले का.वा. सभापतिको जिम्मा उनकै काँधमा रहेको छ । जिल्लाको स्थानीय राजनीतिमा निष्ठावान् र स्पष्ट वक्ताको परिचय बनाएका काफ्ले हाल दर्जन बढी संघसंस्थाको नेतृत्व तहमा छन् । प्रस्तुत छ, का.वा.सभापति काफ्लेसँग स्याङ्जाको राजनीतिक गतिविधि र अन्य समसामयिक विषयका सन्दर्भमा पब्लिक आवाज अनलाईनका सम्पादक अमृत अर्यालले गरेको कुराकानीको सम्पादित अंशः
१. कार्यबहाक सभापति ज्यू आराम हुनुहुन्छ ? तपाई राजनीतिमा कसरी आउनु भयो ?
धन्यवाद, नमस्कार । म आरामै छु । म विद्यार्थी आन्दोलन मार्फत राजनीतिमा प्रवेश गरेको हुँ । २०३६ सालको जनआन्दोलनबाट नेविसंघ मार्फत राजनीतिमा हामिएको थाहै नपाई ४६ बर्ष भैसकेछ । त्यतीबेला सबैखाले आन्दोलनमा काँग्रेसले अगुवाई गरेको देखेर मलाई काँग्रेसप्रति आकर्षण जाग्यो । विशेष गरी स्थानीय हाम्रा अभिभावक प्रजातन्त्रका सेनानी सुर्यप्रसाद रेग्मीको उत्प्रेरणाले समेत मलाई नेपाली काँग्रेसको राजनीतिमा आउन प्रेरित ग¥यो । पञ्चायतकालमा मैले समाजमा भइरहेको अन्याय, गरिबी, र विभेद देखेर राजनीतिमा आउने निर्णय गरेँ। सुरुमा सामाजिक सेवा मार्फत जनतासँग जोडिएँ, पछि पार्टीमार्फत सक्रिय राजनीतिमा प्रवेश गरेँ । मेरो लक्ष्य जनताको आवाज बन्नु र नीति निर्माणमा सकारात्मक भूमिका खेल्नु हो ।
२. तपाई नेपाली कांग्रेस स्याङ्जाको जिल्ला कार्यसमितिको का.वा. सभापतिको नाताले भन्नु पर्दा स्याङ्जा जिल्लामा नेपाली कांग्रेस पार्टीको अवस्था कस्तो रहेको छ ?
जिल्लामा सबैखाले भातृसंगठन क्रियाशिल रहेका छन् । स्याङ्जाका ११ वटै पालिकामा हाम्रो संगठन मजवुत रहेको छ । गत निर्वाचनको परिणाम हेर्दा पनि हामी मजवुत छौं । जि.स.स.मा पनि हाम्रै नेतृत्व रहेको छ । नेपाली कांग्रेस स्याङ्जा जिल्ला कार्यसमितिको कार्यवाहक सभापतिको हैसियतले भन्नुपर्दा, स्याङ्जा जिल्लामा नेपाली कांग्रेसको संगठनात्मक अवस्था हाल सुदृढ र सशक्त अवस्थामा रहेको छ । हाम्रो पार्टीले गाउँदेखि जिल्ला स्तरसम्म जनसम्पर्क र संगठन विस्तारमा उल्लेखनीय प्रगति गरेको छ । यस अघि सम्पन्न स्थानीय, प्रदेश तथा संघीय निर्वाचनमा नेपाली कांग्रेसले स्याङ्जामा प्रतिस्पर्धात्मक नतिजा हासिल गरेको छ । अधिकांश पालिकामा विजय हासिल गर्नुका साथै, अन्य ठाउँमा पनि जनमत बढ्दो क्रममा रहेको देखिन्छ । यसले हाम्रो पार्टीप्रति जनताको विश्वास अझै मजबुत भएको संकेत गर्दछ । त्यसैगरी, युवाहरु, महिलाहरु तथा विभिन्न पेशागत संगठनहरुमा पनि कांग्रेसप्रतिको आकर्षण बढिरहेको छ । हामीले समावेशीता र लोकतान्त्रिक मूल्यलाई प्राथमिकतामा राख्दै संगठन सुदृढीकरणमा केन्द्रित कार्य गर्दै आएका छौँ । यद्यपि, अझ केही ठाउँमा आन्तरिक एकता र सहकार्य बढाउनुपर्ने आवश्यकता महसुस गरिएको छ । यसका लागि संवाद, सहमति र सहकार्यलाई केन्द्रमा राखेर हामी अगाडि बढिरहेका छौँ ।
३. जिल्लामा पार्टीको क्रियाशिल सदस्यको अवस्था कस्तो रहेको छ ?
यहाँका ११ वटै पालिकामा क्रियाशिल सदस्यता नविकरण अभियान सुरु भएको छ । त्यसपछी सोही अनुपातमा नयाँ क्रियाशिल सदस्यता वितरण गर्ने योजना रहेको छ । गत महाधिवेशनमाजिल्लामा क्रियाशिल सदस्यता संख्या पहिलेको भन्दा दोब्बर भएको अवस्था थियो । जिल्लामा १९ हजार ७ सय ४४ क्रियाशिल सदस्यहरु रहेका छन । कांग्रेसको क्रियाशिल सदस्यता धेरैले लिन चाहानु भएको छ । साधारण सदस्यता लिएको केहि वर्षपछि मात्र क्रियाशिल सदस्यता दिने भएकाले अर्को वर्ष अरु दोब्बर क्रियाशिल सदस्य बढ्ने सम्भावना छ ।
४. कांग्रेसमा गुटको राजनीति मौलाएको हो र ? जिल्लामा रहेका कांग्रेसभित्र आन्तरिक विवाद धेरै छ भन्ने सुन्नमा आएको छ नि, तपाई के भन्नुहुन्छ वस्तविकता के हो ?
हामी गुटको अन्त्य हुनुपर्छ भन्ने मान्यतामा छौं । संगठन भन्दा पनि व्यक्ति बलियो बनाउने खेलमा लाग्दा यसो भएको हो । कुनै गुट नबनाई हामीले सबै स्याङ्जाका काँग्रेसजनहरुलाई ४ तारे झण्डामुनी गोलबद्ध हुन आग्रह गरेका छौं । हामी एउटै डुंगामा सवार भएको हुदाँ कसैले गुटको राजनीति गर्न खोज्यो भने सबैजना दुर्घटनामा परिन्छ । हामी जिल्लामा पार्टीको नेतृत्व सम्हालेका व्यक्तिहरु कसैले पनि भेदभावको काम गरेका छैनौं । तर पनि नेपाली कांग्रेसजस्तो पुरानो र ठूलो पार्टीमा गुट–उपगुटको राजनीति नयाँ कुरा होइन । यस्ता गुटहरु पार्टीभित्र विभिन्न नेताहरुको प्रभाव, विचार, रणनीति वा व्यक्तिगत स्वार्थमा आधारित भएर बन्ने गर्छन् । जिल्लास्तरमा झनै गुटगत राजनीति मौलाउने सम्भावना धेरै हुन्छ किनभने स्थानीय नेतृत्वमा पहुँचको होडबाजी हुन्छ । कार्यकर्ता वा समर्थकहरु केन्द्रीय नेताका अनुयायी भएर समूहमा बाँडिन्छन् । पार्टीका आन्तरिक निर्वाचन (जस्तैः महाधिवेशन, सभापति चयन) मा गुटहरु खुला रुपमा देखिन्छन् । तर, यो गुटबन्दी सधैं नकारात्मक हुन्छ भन्ने चाहिँ होइन । कुनै हदसम्म स्वस्थ प्रतिस्पर्धाले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन सक्छ । समस्या तब हुन्छ जब गुटबन्दीले कार्यकर्ता माझ विघटन ल्याउँछ, संगठनात्मक निर्णय अवरुद्ध गर्छ र जनतामाझ पार्टीको छवि कमजोर बनाउँछ । हो, धेरै जिल्लामा कांग्रेसभित्र गुटीय राजनीति मौलाएको छ र यसले पार्टीको एकता र संगठनमा असर परेको तथ्यहरु देखिन्छन् । कतिपय ठाउँमा त जिल्ला सभापति र सांसदबीच नै खुलेआम आरोप–प्रत्यारोप हुने गरेको छ । तर स्याङ्जाको हकमा त्यस्तो छैन ।
५. जिल्लामा नेपाली कांग्रेसको संगठन एक्कासी विस्तार हुनुको प्रमुख कारण के हो ?
यो पुरानो पार्टी हो । विगतमा नेपालका सबैखाले आन्दोलनको अगुवाई नेपाली काँग्रेसले गरेको थियो । अहिलेको संविधान पनि काँग्रेसकै अगुवाईमा जारी भएको हो । त्यही ईतिहासको मर्म र जनताको हामीप्रतिको विश्वासले गर्दा हाम्रो संगठन अझै विस्तार हुन पुगेको छ । कांग्रेसले प्रत्येक महाधिवेशनअघि सदस्यता नविकरण र नयाँ सदस्यता वितरण अभियान चलाउने गर्छ । यसले संगठनात्मक विस्तारको आकस्मिक उछाल देखिन्छ तर हामीले जनताका दिर्घकालिन काममा समेत उत्तिकै चासो दिने गरेका छौं । साथै हामीलाई विश्वास गरेर अन्य पार्टीबाट कार्यकर्ता भित्रिएका कारणले पनि हाम्रो संगठन एक्कासी विस्तार भएको छ । यस जिल्लामा एमाले, माओवादी वा अन्य दलबाट असन्तुष्ट समूहहरु कांग्रेसमा प्रवेश गर्ने गरेका छन्।यसले पनि कांग्रेसको संगठनात्मक संजाललाई एक्कासी फराकिलो बनाएको छ ।
६. सत्ता गठबन्धनले अपेक्षित नतिजा ल्याउन नसकेको विश्लेषण भइरहेको छ, यसलाई स्याङ्जा कांग्रेसले कसरी लिएको छ ?
सत्ता गठवन्धन गर्ने काँग्रेसको रहर होइन बाध्यता हो । देशमा संकट आउँछ कि भनेर यो गठवन्धन गर्नुपरेको हो । तथापि जनताको अपेक्षा अनुशार जति हुनुपर्ने हो त्यती काम भएको छैन । यो गठवन्धन तलैसम्म पुग्नुपर्ने हो । अहिलेको काम गराईबाट हामी पनि पूर्ण रुपमा सन्तुष्ट छैनौं । अहिले जताततैबाट गणतन्त्रलाई आक्रमणको प्रयास भैरहेको छ । यसका विरुद्ध हामी सबै एकजुट हुन जरुरी देखिन्छ । स्याङ्जा कांग्रेसले सत्तागठबन्धनको अपपरिणामलाई गम्भीर रुपमा लिएको छ । यद्यपि राष्ट्रिय स्थायित्वका लागि गठबन्धन अपरिहार्य रहेको छ ।
७. अहिलेको सरकारबाट अपेक्षित नतिजा नआउनुको कमजोरी के रह्यो भन्ने लागेको छ ?
सरकारमा काँग्रेस पनि सहभागी छ । तर काँग्रेसको सहमति वेगर केपी ओलीले सरकार संचालन गरेको आभाष भएको छ । अहिलेको विषम परिस्थितीमा सबैले आफ्ना कमीकमजोरी हटाएर अघि बढ्नुपर्छ । सरकार गठबन्धनमा आधारित हुँदा साझा एजेन्डा र स्पष्ट दिशा निर्धारण गर्न गाह्रो भयो।मन्त्रीहरु बारम्बार फेरबदल हुँदा नीति कार्यान्वयनमा निरन्तरता आउन सकेन । नीति बनाउने त गरिन्छ तर कार्यान्वयनमा ढिलासुस्ती र उदासीनता देखिन्छ। धेरै योजनाहरु कागजमा मात्रै सीमित भइरहेका छन् । सरकारको प्राथमिकता जनताले दैनिक भोगिरहेका समस्या (रोजगारी, शिक्षा, स्वास्थ्य, महँगी) समाधान गर्नु हुनुपर्ने हो तर प्राथमिकता अन्यत्र देखियो । डिजिटल सेवा सरकारको नारा भए पनि सेवाहरुअझै पनि ढिला, अपारदर्शी र जटिल छन्। त्यसैले अपेक्षित नतिजा आएन कि भन्ने लाग्छ ।
८. धेरै राजनीतिक शक्तिको उदयले फेरि देशमा अस्थिरता नै सिर्जना हुने भयो भन्ने जनताको चिन्ता छ नि ?
पुराना राजनीतिक शक्तिको अकर्मण्यताको कारणले नयाँ शक्तिको उदय भएको छ । निर्माण आयोजनादेखि लिएर धेरै सवालमा नेताहरु मुछिएका छन् । त्यसैले पनि जनतामा वितृष्णा पैदा भएको छ । यहाँ अस्थिरता ल्याउन बाह्य शक्तिको पनि चलखेल हुने गरेको छ । दलहरुको संख्या बढ्दै जानु र मत तितरबितर हुनु पक्कै पनि राम्रो संकेत होइन । दुई÷तीन राजनीतिक दलमा सीमित हुनुपर्ने अवस्था हो । विविध कारणबाट सिर्जित परिस्थितिले अहिलेको अवस्था सिर्जना भएको छ । फेरि पनि म भन्छु यसमा युवाहरुको तीव्र र तत्काल नतिजा चाहियो भन्ने प्रवृत्ति नै हावी भएको देखियो । हाम्रो मुलुक कुन परिस्थितिबाट आएको हो र कसरी अगाडि बढिरहेको छ भन्ने कुरा युवाहरुले बुझ्नुपर्छ । हामी विभिन्न कठिन परिस्थितिलाई चिर्दै यहाँसम्म आइपुगेका छौं ।
९. थोरै व्यक्तिगत कुरा गरौं, अब तपाई आफ्नो राजनीतिलाई कसरी अघि बढाउनुहुन्छ ?
म २०३६ सालमा विद्यार्थी राजनीतिबाट पार्टीमा प्रवेश गरेको हुँ । म अब नगरप्रमुख अथवा संसदको उम्मेदवारको दावेदार हुँ । त्यो मूल्याङ्कन गर्ने जिम्मेवारी तपाईहरुको हो । म २०५४ मा वडाध्यक्ष भैसकेको मान्छे हुँ । २०६२÷०६३ को जनआन्दोलनको घाइते तथा जेल बसेको व्यक्ति हुँ । विद्यार्थी कालमा वालिङ बहुमुखी क्याम्पसमा स्ववियूको समेत नेतृत्व गरेको अनुभव छ । विगतदेखि वर्तमानसम्म जनतासँग संवाद बढाउने,स्थानिय समस्याको समाधान खोज्ने, सामाजिक मिडियाको सदुपयोग गर्ने, काँग्रेस पार्टीमार्फत नीतिगत रुपमा हरेक क्षेत्रमा सक्रिय रहेको हुदाँ सोही अनुशारको अवसर पाएमा म अघि बढ्नेछु ।
१०. अन्त्यमा पब्लिक आवाजमार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम त यो अवसरका लागि जिल्लाको लोकप्रिय मिडिया पब्लिक आवाजलाई धन्यवाद दिन चाहन्छु । यो मिडियाले जनआवाज र जनजिवीकाको विषयमा काम गरेको पक्ष सराहनीय छ । यो मिडियाले निष्पक्ष रुपमा काम गरेको हामीले अनुभुत गरेका छौं । पब्लिक आवाजमार्फत म आम नागरिकहरुलाई के भन्न चाहन्छु भने तपाईंहरुको आवाज कमजोर छैन । जब तपाईं सचेत, एकजुट र जिम्मेवार नागरिकको भूमिका निभाउनुहुन्छ, तब व्यवस्था परिवर्तन हुन सक्छ । हाम्रो लोकतन्त्र तपाईंजस्तै नागरिकहरुको सक्रियता र चेतनामा निर्भर छ । आलोचना गर्नुहोस्, तर समाधान पनि खोज्नुहोस् । प्रश्न उठाउनुहोस्, तर उत्तरको खोजीमा पनि लाग्नुहोस् । अनि सबैभन्दा महत्वपूर्ण कुरा — निर्णय गर्दा साँचो, न्यायपूर्ण र दीर्घकालीन सोच अपनाउनुहोस्, चाहे त्यो मतदान होस्, सडकमा आवाज वा कुनै सामाजिक अभियान होस्।देश बदल्ने काम सरकार मात्र होइन, तपाईं हामी सबैको हो ।
प्रतिक्रिया