स्याङ्जाका सडक निर्माणमा ढिलाइ हुँदा अनुगमन समितिको चासो

अमृत अर्याल,
वालिङ ।
गण्डकी प्रदेशबाट बजेट विनियोजन भएका योजनाहरुको प्रदेश अनुगमन समितिद्धारा अनुगमन गरिएको छ । कुनै कुनै योजना म्यादभित्र नसकिएपछि प्रदेशस्तरीय अनुगमन समितिले यसमा चासो दिएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका, गल्याङ र चापाकोट नगरपालिका अन्तर्गतका सडक योजनाहरुको अनुगमन गरिएको पूर्वाधार विकास कार्यालय स्याङ्जाले जनाएको छ । स्याङ्जा क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद महेश भट्टराईको संयोजकत्वमा योजनाहरुको अनुगमन गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले बताए ।
गल्याङको चिउरेनी फर्निचरदेखि मिलनचोकसम्म जोड्ने सडक, कालीगण्डकीको मिर्मि फाँटको भित्रि सडक, मिर्मि क्याम्पस सडक, बिर्घा गहलाम बनकट्टी खहरे सडक, मिर्मि बिर्घा रानीघाट सडक, गल्याङ चापाकोट सडक र मण्डलीथान, किनारे, धुरकोट, ठाँटीभञ्याङ, छापा हुदैं दामाचौर जोड्ने सडकको अनुगमन गरिएको अधिकारीले बताए । अनुगमनका क्रममा त्रुटी भेटिएकालाई मापदण्ड अनुशार कार्यसम्पादन गर्न निर्देशन गरिएको छ ।
सो अवसरमा सांसद भट्टराईले निर्माण व्यवसायीको ढिलासुस्तीका कारण केही सडकखण्डको काम समयमा सम्पन्न हुन नसकेको भन्ने गुनासो आएपछि ती सडकखण्डको स्थलगत अवलोकन गरी सरोकारवाला पक्षलाई यसअघि निर्देशन दिएको स्मरण गर्दै यसबीचमा भएको कार्यसम्पादन प्रगतिका विषयमा जानकारी लिन अवलोकनमा आएको बताए । २ बर्ष अगाडी काम सक्नुपर्ने शालिग्राम करीडोरको काम अहिलेसम्म पनि सम्पन्न नभएको भट्टराईले बताए । अनुगमनका क्रममा गुणस्तरीय काम गरेकालाई धन्यवाद ज्ञापन गरिएको तथा त्रुटी गर्नेहरुलाई सुधारका लागि निर्देशन दिईएको भट्टराईको भनाई छ । मिर्मि बिर्घा रानीघाट सडकमा अलिकति मात्रै काम भएको तिव्र गतिमा काम नभएको अनुगमन समितिको ठम्याई छ ।
स्थानीय जनताले सडक निर्माणसँग सम्बन्धित पक्षसँग समन्वय गरी छिटोभन्दा छिटो सडक निर्माण गरिदिन अनुगमन समितिसँग अनुरोध गरेका थिए । कुनै कुनै योजनामा कामको गति सुस्त रहेको तथा समयमै काम सम्पन्न हुने अवस्था नदेखिएपछि अनुगमन समितिले अनुगमन गरी निर्माणका क्रममा देखिएका स्थानीय समस्याको समाधान गर्दै निर्माण कम्पनीलाई समयभित्रमा काम सम्पन्न गर्न निर्देशन दिएको छ । स्थलगत अवलोकनमा प्रदेश सांसद निर्मला थापा र सुनिता थापा, जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराई, चापाकोट नगरपालिकाका प्रमुख देबबहादुर खाँण, कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइराला, पुर्वाधार कार्यालयका प्रशासन प्रमुख भिमप्रसाद पौडेल, पत्रकार महासंघका पुर्व अध्यक्ष प्रकाश डोटेल लगायतको सहभागी थिए ।

 

प्रतिक्रिया