गल्याङमा ४० जना महिलालाई उद्घोषण तालिम
क्रान्ति अर्याल,
गल्याङ ।
सामाजिक नेतृत्व र सार्वजनिक कार्यक्रममा महिलाको सहभागिता बढाउने उद्देश्यले गल्याङ नगरपालिका वडा नम्बर १० मा तीनदिने उद्घोषण तालिम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा सञ्चालन भएको तालिम विहीबार सुरु भई शनिबार समापन भएको हो । गल्याङ नगरपालिका वडा नं. १० को आयोजनामा महिलाहरूका लागि सञ्चालन गरिएको तीन दिने उद्घोषण तालिम तालिम वडा कार्यालयमै सञ्चालन गरिएको थियो ।
उक्त तालिमको समापन कार्यक्रममा गल्याङ नगरपालिका वडा नं. १० का वडा अध्यक्ष मुक्ति प्रसाद खनालको अध्यक्षता तथा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनाको प्रमुख आतिथ्यता भएको थियो । तालिममा वडा नम्बर १० का विभिन्न आमा समूहका ४० जना महिला सदस्यहरूको सहभागिता रहेको थियो । उक्त समापन समारोहमा बोल्दै उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनाले तालिम निकै उपलब्धीमूलक भएको बताइन् । उनले महिलाहरूलाई सामाजिक रुपमा सक्षम बनाउने अभियानमा यस्ता तालिमहरूले टेवा पुग्ने बताइन् । त्यस्तै उद्घोषणको माध्यमबाट महिलाहरूले आफ्ना विचार र आवाज जनस्तरसम्म पु¥याउन सक्ने विश्वास व्यक्त गरीन् ।
त्यसैगरी वडा अध्यक्ष मुक्ति प्रसाद खनालले कार्यक्रमको उद्देश्य र आवश्यकताको चर्चा गर्दै महिलाहरूको सार्वजनिक गतिविधिमा बढ्दो सक्रियता सन्दर्भमा यस्ता तालिमहरू आवश्यक रहेको बताए । उनले तालिमपछि महिलाहरू विभिन्न सामाजिक कार्यक्रमहरूमा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।
तीन दिनसम्म सञ्चालित उक्त तालिममा गल्याङ एफएमका स्टेशन म्यानेजर केपी खनाल प्रमुख प्रशिक्षक तथा क्रान्ति अर्याल प्रशिक्षकको रूपमा रहेका थिए । तालिममा उद्घोषण शैली, स्वर नियन्त्रण, आत्मविश्वास अभिवृद्धि, कार्यक्रम संचालनका शिष्टाचार लगायतका विषयहरू समेटिएको थियो । त्यसैगरी उक्त तालिम पश्चात् सहभागीहरूले तीन दिने तालिमले आफूहरूलाई आत्मविश्वासी बनाएको र आगामी दिनमा सामुदायिक तथा सामाजिक कार्यक्रममा उद्घोषण गर्न प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया