३० बर्षकै यताकै धेरै बर्षा हुने प्रक्षेपण

स्याङ्जा ।
यही जेठ १८ देखि असोज १४ सम्मको अवधिमा औसतभन्दा बढी वर्षा र औषतभन्दा बढी तापक्रम हुने प्रक्षेपण गरिएको छ । उच्च हिमाली र उच्च पहाडी क्षेत्रमा ३५ देखि ४५ प्रतिशत, बागमती प्रदेशमा ३५ देखि ४५ प्रतिशत, गण्डकी र लुम्बिनी प्रदेशका दुई तिहाई भागमा औसतभन्दा बढी वर्षा हुने अनुमान छ । उच्च हिमाली क्षेत्रमा औसतभन्दा बढी तापक्रम हुने भनिएकाले हिम पहिरोदेखि हिमताल विस्फोटका घटना पनि सँगसँगै हुने अवस्था रहेको मौसम विज्ञहरूले जनाएका छन् ।

विज्ञहरूको पूर्वानुमानलाई आधार बनाएर सरकारले पूर्वतयारीका कामहरू व्यवस्थित हिसावले गरिरहेको बताएको छ । मौसम विभागले मनसुनी असरले पार्ने समस्या न्यूनीकरणमा सरोकारवाला निकायमात्र नभई आम नागरिकको भूमिका त्यत्तिकै महत्वपुर्ण हुने भन्दै सबैलाई सजग गराएको छ ।

गण्डकी प्रदेशको अधिकांश दुई तिहाई भागमा र लुम्बिनी प्रदेशको पनि करिब करिब दुई तिहाई भागमा औसतभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ भन्ने विभागले उल्लेख गरेको छ । प्रदेशका आधारमा हेर्दा गण्डकी प्रदेशमा सबैभन्दा बढी वर्षा हुने विभागले जनाएको छ ।
मनसुनी वर्षा जुन रूपमा हुनुपर्ने हो सोही रूपमा भए कृषि प्रणालीलाई पनि फाइदा पुग्ने बताइएको छ । मनसुनको बिचमा लामो समय पानी परेन भने कृषिमा यसले नराम्रो असर पार्ने पनि उल्लेख गरिएको छ । उत्तरी क्षेत्ररुमा औषतभन्दा तापक्रम र वर्षा बढी हुने भएकाले हिमाली क्षेत्रमा पनि बढी पानी पर्ने र जसका कारण माटो बगाएर ल्याउने, नदी थुनिने फेरि फुट्ने र नदी थुनिदा त्यसले ठुलो तालको रूप लिने भएकाले झनै विकराल अवस्थाको सिर्जना हुनसक्ने विभागले जनाएको छ ।

प्राकृतिक विपदका घट्नाहरु धेरै हुने संकेत विभागले देखाएको छ । त्यसैले सबै विपतलाई सामाना गर्न सबै संयन्त्रहरु तयारी अवस्थामा रहन समेत विभागले आग्रह गरेको छ । अत्याधिक बर्षा हुने प्रक्षेपण सगै स्याङ्जाको विपद् व्यवस्थापन समितिले तयारी बैठक सम्पन्न गरेको छ । जिल्लाका ११ ओटै पालिकाका प्रमुख, राजनीतिकदल, नागरिक समाज, उपभोक्ता मंच, पत्रकार, उद्योग वाणिज्य संघ लगायतका सामाजिक संघसंस्थाहरुको संयुक्त बैठकले विपत व्यवस्थापनमा सबैको सहयोग आवश्यक पर्ने बताएका छन् ।

 

प्रतिक्रिया