बजेटमा सिद्धार्थ राजमार्गले पायो न्याय, स्तारोन्नती हुने सडक विभागको भनाई

स्याङ्जा ।
सरकारले आर्थिक बर्ष २०८२÷०८३ को बजेट संसदमा पेश गरेको छ । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले बिहिवार संसदमा १९ खर्ब ६४ अर्व ११ करोडको बजेट पेश गरेका हुन् । बजेटले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, भौतिक पुर्वाधार लगायतलाई प्रथामिकता राखेको बताइएको छ । यो आर्थिक बर्षमा स्याङ्जावासीको सबैभन्दा बढी चासोको बिषय सिद्धार्थ राजमार्गको स्तरोन्नतीको रहेको थियो । अर्थमन्त्री भएपछि तीनपटक स्याङ्जा आएका पौडेलसगँ सिद्धार्थ राजमार्ग डेटिकेडेट दुई लेनको बनाईदिन जिल्लावासीको आग्रह थियो । पटक—पटक आउदा यो आर्थिक बर्षमा सिद्धार्थ राजमार्गका लागि बजेटको व्यवस्थापन हुन्छ भन्ने आश्वासन पनि अर्थमन्त्री पौडेलले दिएका थिए ।
गणतन्त्र दिवसको दिन जेठ १५ गते संसदमा अर्थमन्त्री पौडेलले पेश गरेको बजेटले सिद्धार्थ राजमार्गको स्तरोन्नती गरिने घोषणा पौडेलले गरे । उनले बाचन गरेको शब्दलाई हुवहु हेर्ने हो भने आर्थिक बर्ष २०८२÷०८३ मा पर्यटन प्रवद्र्धन तथा आर्थिक क्रियाकलाप बिस्तारका दृष्टिले उच्च सम्भावना रहेको सिद्धार्थ राजमार्ग डेटिकेडेट डबल लेन स्तरोन्नती गर्ने कार्य गरिनेछ भनेर उल्लेख गरेका छन् । रकमको सुनिश्चित नगरिएपनि सिद्धार्थ राजमार्गको बारेमा बजेटमा उल्लेख भएको भन्ने बिषयमा स्याङ्जावासीहरुले सामाजिक संजालमा फरक—फरक तर्कहरु सार्वजनिक गरेका छन् ।
यता स्याङ्जा क्षेत्र नं. २ का सांसद धनराज गुरुङ्ले सामाजिक संजालमा पोष्ट गर्दै सिद्धार्थ राजमार्गको एतिहासिक रुपान्तरण सुरु हुदै छ भनेर उल्लेख गरेका छन् । आफ्नो प्रमुख चुनावी प्रतिज्ञा अबको बजेटमा भन्दै केवल सडक निर्माण मात्र होइन, स्याङ्जा, पाल्पा र गण्डकी प्रदेशकै आर्थिक मेरुदण्ड सशक्त बनाउने एतिहासिक मोड हो भनेर सांसद गुरुङ्ले खुशी व्यक्त गरेका छन् । अर्थमन्त्री सहित सम्बन्धित निकायहरुलाई बारम्बारको संवाद, समन्वय र स्रोत सुनिश्चितताको पहल गर्दै आइरहेको र संसद, मन्त्रालय, नीति निर्माण तहमा उठाउदै आएको बिषयले आज प्रथामिकता पाएको भन्दै सामाजिक संजालमा सांसद तथा पुर्व कानुन मन्त्री गुरुङ्ले लेखेका छन् । अर्थमन्त्री सहित सबै स्याङ्जावासी प्रति आफु कृतज्ञता रहेको समेत उल्लेख गरेका छन् ।
२०२२ सालमा निर्माण शुरु गरी २०२८ सालबाट शुरु भएको सिद्धार्थ राजमार्ग गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने नेपालकै पुरानो राजमार्ग हो । तराई पहाड जोड्ने यो राजमार्गको स्तरोन्नती नहुँदा स्याङ्जाको विकास ओझेलमा परेको भन्दै स्याङ्जावासीले एकदशक देखी उठाउदै आएका थिए । १ सय ८० किलोमिटर रहेको सिद्धार्थ राजमार्गको अधिकांश भाग स्याङ्जा जिल्लामा पर्दछ । स्याङ्जाको मध्यभागबाट झण्डै ८० किलोमिटर सिद्धार्थ राजमार्गले छोएर गएको छ । केही समय अगाडी सार्वजनिक गरिएको प्रतिवेदनमा राजमार्गको स्तरोन्नती गर्दा १ सय ५७ किलोमिटरको हुने उल्लेख गरिएको थियो । लामो लडाईपछि राजमार्ग बन्ने संकेत बजेट भाषणले गरेको छ ।
अर्थमन्त्रीले बजेटको सुनिश्चित नगरी राजमार्गको स्तारोन्नती हुन्छ भन्नेमा पनि शंका उब्जेको प्रश्न स्याङ्जावासीले गरेका छन् । झण्डै १९ अर्व ५७ करोड ९० लाख लाग्ने अनुमान गरिएको राजमार्गमा थोरै भएपनि बजेटको व्यवस्थापन गर्नुपर्ने स्याङ्जावासीका धारणाहरु सार्वजनिक भएका छन् । बजेटको सुनिश्चित नहुँदा अर्थमन्त्रीको हल्ला मात्रै भएको संज्ञा सामाजिक संजालमा स्याङ्जावासीहरुले पोखेका छन् । राजमार्गका बिषयमा सामाजिक संजालमा मिश्रित आवाजहरु आएपनि बजेटमा राजमार्गको नाम उल्लेख भएपछि आर्थिक बर्ष शुरु भएपछि स्तरोन्नती हुन्छ या नारामा मात्रै सिमिति हुन्छ भन्ने बिषय पर्खाइमा रहेको छ ।
बजेटले विश्वासनीयता दिएको छ : सडक विभाग
वालिङ ।
अर्थमन्त्री बिष्णु पौडेलले पेश गरेको बजेटमा सिद्धार्थ राजमार्गले प्रवेश पाएको सडक डिभिजन कार्यालय पोखराका प्रमुख नवराज बास्तोलाले बताएका छन् । बजेटमा राजमार्गको स्तरोन्नती हुने बिषयले प्रवेश पाएकाले विश्वश्नीयता दिलाएको बरालले बताए । बजेट सुनिश्चित नै नभएको बक्तब्यले राजमार्ग बन्छ भन्ने बिषयमा कसरी विश्वास मान्ने भन्ने पब्लिक आवाजको प्रश्नमा डिभिजन प्रमुख बास्तोलाले भने,‘बजेटमा नोटिस भएपछि राजमार्ग बन्छ भन्ने विश्वास मान्नुपर्छ ।’ अव राजमार्गको लागत स्टुमेन्ट बन्ने हो, त्यसैले रकमको व्यवस्था अव हुन्छ उनले भने ।
सिद्धार्थ राजमार्ग बनाउने नाम मात्रै आयो बजेट सुनिश्चित भएन भन्ने हल्लाको पछि लाग्नु आवश्यक छैन, राजमार्ग निर्माणका लागि लाग्ने बजेट रकम त अव बनाउने हो नी डिभिजन प्रमुख बास्तोलाले भने । बरु राजमार्ग निर्माणका लागि कार्यालय पाल्पा खोल्ने चर्चा चलिरहेको छ । स्याङ्जामा कार्यालय खोल्न बरु जिल्लावासीले लविङ गर्नुहोस । राजमार्गको स्तरोन्नती गर्ने बिषय बजेटमा नोटिस भएपछि आउने आर्थिक बर्षबाट कामको सुरुवात हुन्छ । आउने आर्थिक बर्षबाटै कार्यालय संचालनमा आउछ डिभिजन प्रमुख बास्तोलाले भने ।
प्रतिक्रिया