अपाङ्गता व्याक्तिहरु आयआर्जनमा जोडिदै
क्रान्ति अर्याल,
स्याङ्जा ।
अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउँदै आयआर्जनतर्फ उन्मुख गराउने उद्देश्यले अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र–नेपाल, पुतलीबजार नगरपालिका–१, स्याङ्जाले सञ्चालन गरेको ६ दिने सीपमूलक तालिम तथा कानुनी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेशको सहयोगमा सञ्चालित कार्यक्रममा वटारेको धूप उत्पादन सम्बन्धि व्यावसायिक तालिम दिइएको थियो । तालिममा स्याङ्जा जिल्लाका ६ वटा पालिकाबाट २२ जना सहभागी थिए । सहभागीहरू मध्ये धेरैजसो अपांगता भएका व्यक्ति तथा तिनका अभिभावक थिए ।
कार्यक्रममा तालिम मात्र नभइ, व्यवसाय दर्ता र उत्पादन सुरु गर्न आवश्यक वस्तुगत टेवा र बीउ पूँजी समेत तत्काल उपलब्ध गराउने व्यवस्था गरिएको केन्द्रका अध्यक्ष युवराज पराजुलीले जानकारी दिए । उक्त समापन कार्यक्रममा बोल्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले तालिमको सदुपयोग गरी उत्पादन र विक्री वितरणमा लाग्न आग्रह गरे । संस्थाको कामप्रति प्रशंसा व्यक्त गर्दै नगर प्रमुख रेग्मीले उद्यम सुरु गर्न चाहने सहभागीहरूलाई नगरको तर्फबाट आवश्यक सहयोग हुने बताए ।
त्यस्तै कार्यक्रममा सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले संस्थाले अपांगता क्षेत्रसँगै महिला, जेष्ठ नागरिक जस्ता बहुआयामिक क्षेत्रमा काम गर्दै आएको उल्लेख गरे । त्यस्तै पुतलीबजार वडा नं. १ का सदस्य विष्णु कुमार श्रेष्ठ, वडा नं. ३ की सदस्य सविता नेपाल, स्याङ्जा अपांग समाजका अध्यक्ष राम शर्मा पोखरेल, प्रमुख प्रशिक्षक गीता पौडेल, सहभागी भविलाल बिक लगायतले पनि तालिमले सहभागीहरूको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।
तालिम अवधिमा पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायण प्रसाद ढकाल, कम्प्युटर अपरेटर कृष्ण लम्साल तथा धूप उत्पादन प्रशिक्षक गीता पौडेल र ज्ञानु कुमारी थापाले प्रशिक्षण दिएका थिए । संस्थाका अध्यक्ष युवराज पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन केन्द्रका सचिव नारायण रेग्मीले गरेका थिए ।


प्रतिक्रिया