पुतलीबजार नगरमा जेष्ठ नागरिक सम्मान
स्याङ्जा ।
स्याङ्जाको पुतलीबजार नगरपालिकाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । नगरभित्र रहेका ७० बर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरेको हो । पुतलीबजार ३ वडा कार्यालयले वडाभित्र रहेका ८७ जना जेष्ठ नागरिकलाई नगर प्रमुख तुलसीराम रेग्मीले सम्मान गरेका छन् । जेष्ठ नागरिकलाई फलफुल तथा न्यानो कपडा वितरण गरी नगर प्रमुख रेग्मीले सम्मान गरेका थिए ।
जेष्ठ नागरिक सम्मान कार्यक्रममा नगर प्रमुख रेग्मीले नगरभित्र रहेका सबै जेष्ठ नागरिक हाम्रा अभिभावक भएको बताए । जेष्ठ नागरिकलाई सधै उच्च सम्मान दिएर नगरपालिकाले अभिभावकको रुपमा हेर्ने नगर प्रमुख रेग्मीले बताए । सामुदायिक नर्सहरुबाट गाउँ—गाउँमा रहेका हाम्रा अभिभावकको स्वास्थ्य परिक्षण सहित औषधीको व्यवस्थापनमा नगरले काम गरिरहेको रेग्मीले बताए । वडाले शुरु गरेको जेष्ठ सम्मान कार्यक्रमको प्रशंसा गर्दै नगर प्रमुख रेग्मीले अन्य वडाहरुले पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा वडा अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, वडा सदस्यहरु सविता पौडेल, सोमबहादुर कुँवर, अमिर बक्स मिया, चन्द्रकला सार्की, वडा सचिव राजु रेग्मी लगायतले जेष्ठ नागरिकलाई सम्मान र उहाँहरुको स्वास्थ्यमा नगरपालिकाले बिशेष कार्ययोजना बनाएर सेवा गर्नुपर्ने बताएका थिए । वडा कार्यालयले हामीलाई सम्झेकोमा जेष्ठ नागरिकहरुले जनप्रतिनिधिलाई धन्यवाद दिएका थिए ।


प्रतिक्रिया