नदीजन्य पदार्थ उत्खननको विषयले वालिङमा निम्ताएको द्धन्द

वालिङ ।
नदीजन्य पदार्थ उत्खननको विषयले स्याङ्जाको वालिङमा द्धन्द सिर्जना भएको छ । प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन अनुशार ओभर डिपोजिट भएको निर्माण सामाग्री उत्खनन गरिएको निर्माण व्यवसायीको दावी छ भने अत्यधिक दोहन भएको आफुलाई आँधिखोला बचाउ अभियानका अभियान्ता दावी गरेका छन् । यसै विषयलाई लिएर गत मंगलबार वालिङमा कुटपिट भएको घटना बाहिर आएको छ । नदी संरक्षण अभियान घोषणा गरेर मोटरसाइकलमा फर्किएको बताउदै दिनेश तिवारी र मेघ आलेलाई वालिङ १० का वडाध्यक्ष सुनिल खनालले कुटपिट गरेको तिवारीले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन् ।

“आँधिखोला बचाउ अभियान”को समर्थनमा फर्कँदै गरेका बेला तिवारीलाई कुटपिट गरेको बिषयमा आफैले फेसबुक लाईभ गरेर जानकारी दिएका थिए । यसै विषयलाई लिएर वडा अध्यक्ष खनाल सहित ५ जनाविरुद्ध “ज्यान मार्ने उद्योग” कसुरमा वडा प्रहरी कार्यालय वालिङमा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न वडा नं. ८ का साजन पंगेनीलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेका पंगेनीले आफु घट्नामा संलग्न नभएको बताएका छन् ।

यो घटनाले समुदायमा राजनीतिक स्थिरतामा प्रश्न उठाएको छ । अहिले खनाल जस्ता जनप्रतिनिधिलाई “ज्यान मार्ने उद्योग” कसुरमा मुद्दा दर्ता र पंगेनीको पक्राउले स्याङ्जाको राजनीतिक–सामाजिक परिवेशमा हलचल मच्चाएको छ । घटनाको निष्पक्ष अनुसन्धान र कानुनी प्रक्रियाबाट मात्र स्थानीय तहमा नैतिकता कायम छ वा वेथिती मौलाएको छ भन्ने प्रष्ट हुने सरोकारवालाहरु बताउँछन् ।

यता आरोपित खनालले सामाजिक सञ्जालमार्फत घटनाको बिषयमा आफ्नो गल्ती नभएको दावी गरेका छन् । खनालले सम्बन्धित सरोकारवालासँगको परामर्श, प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट स्वीकृति र जिल्ला प्रशासन कार्यालयले तोकेको शुल्क तिरेर निर्माण सामग्री उत्खनन् गरिएको सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । खनालले आँधीखोला उत्खनन्मा आफ्नो डोजर प्रयोग भएको र अभियन्ताका नाममा आन्दोलन गरेका तिवारी र आलेसहितको टोलीले डोजर कब्जा गरेको बताएका छन् । उक्त निर्माण सामग्री आफ्नो नभएको तथा तिवारीको नेतृत्वमा केही सोझा साझा व्यक्तिहरुलाई त्यहाँ लगेर राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा सस्तो राजनीति गर्न खोजेर भिडन्त निम्त्याएको खनालले सामाजिक संजालमा बताएका छन् । आफ्नो निजी सम्पत्ति कब्जा गरेर आफु विरुद्ध हल्ला फैलाइएको खनालको आरोप छ । तर तीव्र बहसको क्रममा सामान्य बल प्रयोग भएको खनालले स्वीकार्दै बार्ता र सम्वादबाट निकास निकाल्न पनि उनले सामाजिक संजाल मार्फत अनुरोध गरेका छन् ।

कुटपिटबाट घाइते भएका तिवारीको पोखरामा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अर्का आले भने उपचारपछि घर फर्केको बताइएको छ । तिवारीले आफु माथी कुटपिट भएको बिषयमा सामाजिक संजाल फेसबुक मार्फत जानकारी गरिएको भिडियो अहिले भाइरल बनेको छ । नदीजन्य उत्खनन् पछि उत्पन्न भएको बिषयमा वालिङ नगरपालिकाले कानुनी रुपमा उत्खनन् गर्न अनुमति दिएको प्रेस विज्ञप्ती मार्फत जनाएको छ । वातावरणीय प्रभाव मुल्याङकनको आधारमा नगरदेखी जिल्ला सम्मको विपद् व्यवस्थापन समितिको बैठकबाट अनुमति लिएर कानुनी प्रक्रिया अनुसार नदी उत्खनन् गरिएको नगर प्रमुख कृष्ण खाँणले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ । खाँणले नगरका गौरवका आयोजना निर्माण गर्नका लागि आवश्यक प्रक्रिया पुरा गरी नदी उत्खनन् गरिएको उल्लेख गरेका छन् ।

विज्ञप्तीले वालिङमा भएको कुटपिटको बिषयमा भने बेखबर रहेको देखिएको छ । द्धन्द सिर्जना भएपछि जारी गरिएको प्रेस विज्ञप्ती नगरपालिकाले पहिल्यै जानकारी दिनेगरी जारी गरिदिएको भए कुटपिटको घट्ना नहुने जानकारहरु बताउछन् । तथापी जेठ महिनामा खोला उत्खनन् गर्न दिनु नगरपालिका दोसी रहेको बताइएको छ । असार १ गतेदेखी भदौ मसान्तसम्म नदी तथा खोला उत्खनन् गर्न नपाईने र असोज देखी जेठ सम्म उत्खनन् गर्न पाइने कानुनी व्यवस्था रहेको छ । वालिङका राजनीतिकदल, नागरिक समाज लगायतले आगामी दिनमा यस्ता घट्नाहरु घट्न नदिन नगरपालिका समेत बन्नुपर्ने सुझाव दिएका छन् ।

 

प्रतिक्रिया