‘उज्यालो कालीगण्डकी अभियानमा छौं’

खिमबहादुर थापा,
(अध्यक्ष)
कालीगण्डकी गाउँपालिका, स्याङ्जा ।

स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिकामा दोस्रो पटक अध्यक्षको कार्यकाल सम्हालिरहेका खिमबहादुर थापा जनताको सेवा गर्न पाउँदा आनन्द महशुस गर्छन् । वि.सं. २०७४ को निर्वाचनमा नेकपा एमाले पार्टीबाट कालीगण्डकी गाउँपालिकाको अध्यक्षको पदमा विजयी बनेका उनी ०७९ को निर्वाचनमा पनि पुनः सोही स्थानबाट उम्मेदवारी दिए र नेपाली काँग्रेसलाई पराजित गर्दै पुनः अध्यक्ष पदमा विजयी बन्न सफल भए । त्यसयता उनी अहोरात्र जनताको सेवामा तल्लिन छन् । स्याङ्जा जिल्लाको साविक कृष्णगण्डकी गाविस हाल कालीगण्डकी वडा नं. ५ अन्तर्गत पर्ने पिता देउसिं थापा र माता पेमीसरा थापाको तेस्रो सन्तानका रुपमा जन्मिएका खिमबहादुर थापा कक्षा आठमा पढ्दादेखि नै विद्यार्थी राजनीतिमा लागे । विगतमा काठमाडौं महानगरपालिकाबाट पार्टीको वडा सदस्य भएका उनी काठमाडौं स्याङ्जा सम्पर्क कमिटिको अध्यक्ष, गण्डकी प्रदेश सचिवालय सदस्य हुँदै नेकपा एमालेको कुशल नेता बन्न सफल भएका हुन् । त्रिभुवन युनिभर्सिटीबाट राजनीति शास्त्रतर्फ स्नाकोत्तरसम्मको अध्ययन गरेका उनले कानूनमा पनि स्नातक गरेका छन् । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के के छन् ? जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन देखिएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलेको छ भन्ने लगायतका विषयमा केन्द्रीत हुँदै सो गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापासँग पब्लिक आवाजका लागि सम्पादक अमृत अर्यालले गरेको कुराकानीको सारसंक्षेप ः

१. अध्यक्ष ज्यू आराम हुनुहुन्छ ? स्याङ्जा जिल्लामा त्यती ठुला शहरी क्षेत्र छैनन्, त्यसमा पनि कालीगण्डकी गाउँपालिका बढी ग्रामिण क्षेत्रमा छ । ग्रामिण भेगमा काम गर्दाको अनुभव कस्तो रह्यो ?

धन्यवाद, नमस्कार । म आरामै छु । कालीगण्डकी गाउँपालिका राष्ट्रिय राजमार्गसँग नछोईएको गाउँपालिका हो । तर पनि कालीगण्डकी करिडोर र सिद्धार्थ राजमार्गसँग यसको सहज पहुँच रहेको छ । स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका ग्रामिण क्षेत्रमै पर्ने भएकाले त्यहाँ काम गर्नु मेरा लागि विशिष्ट अवसर पनि हो । यहाँ प्रमुख भएर काम गर्दै गर्दा चुनौतिपूर्ण पनि र अर्थपूर्ण पनि रहेको मेरो अनुभव छ । यो अवधिमा मलाई समाजको नजिक रहेर काम गर्ने अवसर प्राप्त भएको छ । ग्रामिण क्षेत्रमा भएतापनि यो पालिकामा कुनै पनि सुविधाको अभाव छैन ।

२. देश संघीयतामा गएपछि स्थानीय तहका कतिपय प्रतिनिधिले आफूले सिक्ने मौका पाएको पनि भन्छन् । तपाईं त अहिले दोश्रो कार्यकालमा हुनुहुन्छ । पहिलो कार्यकालमा तपाईंले काम गर्नुभयो कि सिक्ने मौका मात्रै पाउनुभयो ? हालसम्म गरेका कामहरु के के छन् ?

कतिपय साथीहरुले सिक्ने अवसर प्राप्त गरें भन्नुहुन्छ, स्थानीयतहमा । मैले सिक्ने होइन, काम गर्ने अवसर पाएको हुँ । यो अवसरको सदुपयोग गरेर मैले काम गरेको छु । मैले सिक्ने मात्रै नभएर परिणाम देखिने गरि काम गरेको छु । पहिलोपटक निर्वाचित हुँदा संघियता कार्यान्वयन गर्न चुनौतिपूर्ण थियो । अहिले विकास निर्माण र मानव संशाधनमा कालीगण्डकी अघि बढेको छ । हाम्रो पहिलो प्राथमिकता शिक्षा थियो, त्यसैले हामीले शिक्षा क्षेत्रमा विशेष लगानी ग¥यौं । हिजो कालीगण्डकीमा खानेपानीको समस्या थियो, अहिले पालिकाभरी एक घर एक धारा अभियान सम्पन्नको चरणमा छ । हामी आलमदेवीलाई केन्द्रविन्दु बनाएर धार्मिक पर्यटन भित्राउन लागिपरेका छौं । पर्यटन क्षेत्रमा पनि हामीले धेरै काम सम्पन्न गरेका छौं । कालीगण्डकीको २ नं. वडा बाहेक सबै वडा कार्यालयहरुमा पुग्ने बाटो पिच गरिसकेका छौं । पालिकाभित्र ६८ किमी बाटो पिच भैसकेको छ । हामी निर्वाचित हुँदा कालीगण्डकी जलविद्युत आयोजनाले बनाएको एउटा बाहेक अरु मोटरेवल पुल थिएन, अहिले हामीले ३ वटा मोटरेवल पुल बनाईसकेका छौं । उज्यालो कालीगण्डकी अभियान अन्तर्गत यहाँका वासिन्दाले विद्युतको न्यूनतम शुल्क तिर्नुपर्दैन् । पालिकाको अस्पतालमा उपलब्ध सबै सेवा निशुल्क छन् । स्थानीय पाठ्यक्रम तयार भै लागु भैरहेको छ । विद्यालयहरुमा पुस्तकालयको पूर्णरुपमा प्रयोग भैरहेको छ । यहाँका हरेक विद्यार्थीहरुले पुस्तकालयको प्रयोग गरी वार्षिक रुपमा ३२०० भन्दा बढी पुस्तकहरु पढ्ने गरेको तथ्याङ्क छ ।

३. गाउँपालिकाका नागरिकको मुख्य आयस्रोत कृषि हो । कृषि क्षेत्रमा के कस्ता काम गर्नुभएको छ ?

अत्यन्त राम्रो प्रश्न उठाउनु भएको छ । ग्रामिण क्षेत्र विशेष गरी कालीगण्डकी गाउँपालिकामा, जहाँ कृषि नै जनजीविकाको मुख्य आधार हो । त्यसैले हामीले वैदेशिक रोजगारबाट फर्किएका युवा वा रोजगारी नपाएका युवाहरुलाई प्राथमिकतामा राख्दै कृषि र पशुपालनलाई व्यावसायिक रुपमा अघि लैजाने काम गरेका छौं । लिफ्टिङ सिंचाई अन्तर्गत ५ वटा टारहरुमा सिंचाई सुविधा उपलब्ध गराईएको छ । पालिकाबाट फूल, कागती, खसी बोका र प्याज निर्यात गर्ने गरिएको छ । अबदेखि लसुन र मकै पनि निर्यात गर्ने योजनामा छौं । ड्रागन बगैचा निर्माण भै व्यवसायिक उत्पादन सुरु हुन थालेको छ । आँप र सुन्तलालाई पनि प्राथमिकतामा राखी सोही अनुशारको काम अगाडी बढाईएको छ ।

४. आफूले ८ वर्षअघि र ३ वर्षअघि गरेका वाचा कति पूरा गर्नुभयो ? स्वमूल्यांकन गर्दा सन्तुष्ट हुनुहुन्छ ?

यो प्रश्न अलिक कठिन पनि हो । ८ वर्ष अगाडी हामी निर्वाचित हुँदै गर्दा स्रोत साधन सीमित थियो । बिचमा कोभिड र अन्य कारणले भनेजति काम हुन नसकेपनि यस अवधिमा धेरै काम सम्पन्न भएका छन् । हरेक नागरिकलाई पालिकाले निशुल्क रुपमा बिमा गरिदिने व्यवस्था गरेको छ । सारमा भन्दा मैले स्वमूल्याङ्कनमा आफुले आफैलाई नम्वर दिनपर्दा १०० मा ७५ अंक दिन चाहन्छु । किनकी मैले वाचा गरेअनुशारका ७५ प्रतिशत काम सम्पन्न भैसकेका छन् । मैले ८ वर्षअघि गरेका अधिकांश वाचा पूरा गर्न सकेको छु, जस्तै आधारभूत सेवा र पूर्वाधार विस्तारमा पर्याप्त काम भएका छन् । ३ वर्षअघिका वाचा पनि धेरै हदसम्म कार्यान्वयनको क्रममा छन् । म पूर्ण सन्तुष्ट भने छैन, तर धेरै कुरामा प्रगति भएकोमा गर्व छ ।

५. आफूले गरेका कामहरु मध्ये उत्कृष्ट काम कुन मान्नुहुन्छ ?

कृषिको थप नतिजा प्राप्त हुँदैंछ । त्यसैले आफुले गरेको उत्कृष्ट काम सबै नागरिकको निशुल्क बिमा र निशुल्क स्वास्थ्य उपचार नै हो । नागरिकको स्वास्थ्यमा नै मेरो सन्तुष्टि जोडिएको छ । शिक्षा क्षेत्रको कुरा गर्दा साना विद्यार्थीहरुको पठनसिपमा बृद्धि भएको छ । सुख्खा रहेको कालीगण्डकीका टारहरुलाई सिंचाई गरी हराभरा गराउँदा अझै आनन्द मिलेको छ । हामीले एलपीग्याँसको सट्टा निशुल्क रुपमा विद्युतीय चुल्हो वितरण गरेका छौं । यसले गर्दा हाम्रो पूँजी स्वदेशमै परिचालन भएको छ । यो काम पनि मैले सम्पन्न गरेका कामहरु मध्ये उत्कृष्ट लाग्छ ।

६. स्थानीय तहको प्रमुख भएर काम गरिरहँदा प्रदेश र केन्द्रसँगको समन्वय पक्कै आवश्यक थियो । कति सहज भयो समन्वय गर्न ?

स्थानीय तहको प्रमुख भएर काम गर्दा प्रदेश र केन्द्रसँगको समन्वय आवश्यक थियो भन्ने कुरा सत्य हो, तर यसमा सहजता र चुनौती दुवै पक्ष रहेका छन् । संविधानको परिकल्पना अनुशार नै पालिकाहरुको संघ र प्रदेशसँगको सहकार्य जरुरी छ । तर अहिले संघ र प्रदेशकाले हाम्रो एकल अधिकारलाई हस्तक्षेप गरेको जस्तो आभाष भएको छ । स्थानीय तह नबुझेका माननीयहरुमा अझै पनि केन्द्रिकृत मानसिकता हावी भएको पाईन्छ । हामीले समन्वयका लागि अनवरत प्रयत्न ग¥यौं । हाम्रो दायित्व पनि हो त्यो । तर, प्रदेश र केन्द्र सरकारले स्थानीय तह सरकार नै होइन भन्ने किसिमको व्यवहार गरेको अनुभव भएको छ । मलाई स्पष्ट रुपमा लागेको कुरा यही हो ।

७. केन्द्र र प्रदेशसँगको समन्वयको अभावमा होस् वा अन्य कारणले आफूले के काम गर्न सकिनँ भन्ने लाग्छ ?

समन्वयको अभाव एउटा कारण हो । स्रोत साधनको सीमितता अर्काे कारण हो । यी दुई कारणले केही काम हुन पाएनन् । मैले जुन अपेक्षा गरेको थिएँ, त्यो हुन पाएन । अपेक्षाअनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गर्ने योजना÷आयोजनाहरु भएनन् । संघले गर्ने काम, प्रदेशले गर्ने काम नहुँदा स्थानीय तहको बलबुतामा कतिपय काम गर्नुप¥यो । तर, यसमा हाम्रो स्रोत र साधनको सीमितता थियो । जसकारण हामीले पनि सीमित मात्रै काम गर्न सक्यौं । सहयोग भएको भए अझै काम गर्न सकिन्थ्यो भन्ने लाग्छ । प्रदेशको प्राथमिकताको योजना शालिग्राम करिडोर जुन कालीगण्डकी गाउँपालिकामा पर्छ, त्यो काममा प्रदेशले त्यती चासो नराख्दा भनेजति काम गर्न सकिएको छैन । विकासका लागि सबैको चौतर्फी सहयोगको जरुरी छ ।

८. अबको २ वर्षमा तपाईं गाउँपालिकालाई कस्तो बनाउने योजनामा हुनुहुन्छ ?

कालीगण्डकीलाई नमूना पालिका बनाउने हाम्रो लक्ष्य छ । अब हामीले २ वटा बजेट मात्र ल्याउन बाँकी छ । खानेपानीको क्षेत्रमा मर्मत बाहेक अबको ३० वर्षसम्म कुनै योजनाको जरुरत पर्दैन् । १५ शैयाको अस्पतालले पूर्णता पाएर संचालन हुनेछ । प्रांगारिक मलको उद्योग संचालन हुदैंछ । ९ वटा नाका मार्फत कालीगण्डकी प्रवेश गर्न सकिने पर्यटकीय हब बनाउने योजनामा छौं । खानेपानी, ऊर्जा, शिक्षा र स्वास्थ्य सेवामा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य राखिएको छ । यी योजनाहरुको कार्यान्वयनले गाउँपालिकालाई समृद्ध र आत्मनिर्भर बनाउन मद्दत पु¥याउनेछ ।

९.गाउँघरको विकास निर्माणको काम गर्न स्थानीयको सहयोग कत्तिको पाउनुभयो ?

कालीगण्डकीमा स्थानीय जनता तथा राजनीतिक पार्टी सबैको सहयोग प्राप्त भएको छ । हिजो हामीले कुनै पार्टीबाट जितेको भएता पनि सामुहिक भावनाबाट काम गरेका छौं । सारांशमा, गाउँघरको विकास निर्माणमा स्थानीयको सहयोग प्राप्ति र चुनौतीहरु परस्पर निर्भर छन् । स्थानीयको सन्तुष्टि र सक्रिय सहभागिता विकासको प्रमुख आधार हो । हाम्रो अगाडी जनताले राम्रो गर्नुभएको छ भनेर भनिरहनुभएको छ । यसले स्थानीयको सन्तुष्टि र सहयोगको संकेत गर्दछ भन्ने लागेको छ । गाउँपालिकामा अहिलेसम्म भएका विकास निर्माणको कामहरु प्रभावकारी नै भएका छन् । हामीले आशा गरेअनुरुप विकास निर्माणको काम गर्न सकेका छौं । यसले स्थानीयको सक्रिय सहभागिता र सकारात्मक दृष्टिकोणलाई दर्शाउँछ ।

१०. अन्त्यमा पब्लिक आवाजमार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

सर्वप्रथम त यो अवसरका लागि पब्लिक आवाजलाई धन्यवाद । हामी आगामी आ.व.का लागि नीति तथा योजना बनाउने चरणमा छौं । कालीगण्डकीमा भित्रने बजेटलाई कसरी सदुपयोग गर्न सकिन्छ भनेर आम सर्वसाधारणको सुझावलाई समेत हामीले महत्वपूर्ण स्थान दिने गरेका छौं । फेरी पनि हामी तपाईहरुको सुझावको पर्खाइमा छौं । उचित सुझाव दिनुहोला भन्न चाहन्छु । हामी सबैको साझा उद्देश्य भनेको समृद्ध र सशक्त समाजको निर्माण हो । यसका लागि प्रत्येक नागरिकको सक्रिय सहभागिता र सहकार्य आवश्यक छ । हामीले गरेका हरेक विकास निर्माणका काममा तपाईंहरुको सुझाव, गुनासा र सहयोगलाई स्वागत गर्दछौं । यदि तपाईंलाई कुनै समस्या, गुनासा वा सुझाव छ भने, कृपया हामीलाई जानकारी दिनुहोस् । हामी तपाईंको आवाजलाई सम्मान गर्दै, सुधारका लागि प्रतिबद्ध छौं ।

प्रतिक्रिया