सम्पादकीय:— स्याङ्जा प्रहरीको सक्रियता प्रशंसनीय

स्याङ्जा जिल्लामा पछिल्लो समय प्रहरीले देखाएको सक्रियता सराहनीय छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र यस अन्तर्गतका मातहत कार्यालयहरुले सुरक्षा व्यवस्थालाई थप चुस्त बनाउँदै गस्ती तथा निगरानी बढाएका छन् । यसैको प्रत्यक्ष परिणाम स्वरुप फरार अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन्, जुन स्थानीय शान्ति र सुरक्षा प्रवद्र्धनका लागि एक सकारात्मक संकेत हो । जिल्ला अदालत स्याङ्जाले विभिन्न मुद्दामा फैसलागर्दै कैद सजाय र जरिवाना तोकेपछि फरार रहेका दोषीहरुलाई पक्राउ गर्न प्रहरी तिब्र रुपमा लागि परेको छ । अदालतको निर्णय कार्यान्वयन गर्न प्रहरी जिम्मेवार र सक्रिय रहनु अत्यन्तै आवश्यक हुन्छ । स्याङ्जा प्रहरीले यस दिशामा देखाएको तत्परताले आमनागरिकमा सुरक्षाको अनुभूति दिलाएको छ ।

भर्खरै जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ४२ जना फरार कसुरदारलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ । यस्ता सफलता केवल संयोगका उपज होइनन्, निरन्तर मेहनत, रणनीतिक योजना र समुदायसँगको सहकार्यकै परिणाम हुन् । फरार अभियुक्तलाई पक्राउ गर्नु सामान्य कार्य होइन—यसका लागि गुप्त सूचना संकलनदेखि प्राविधिक साधन प्रयोग र समय सापेक्ष रणनीति आवश्यक पर्छ । प्रहरीको यो सक्रियता कानूनको शासन सुदृढ गर्न महत्वपूर्ण छ । फरार अभियुक्त खुलेआम समाजमा हिँडडुल गर्दा न्याय प्रणाली माथि प्रश्न उठ्ने सम्भावना रहन्छ । त्यसैले यस्ता तत्वलाई कानूनी दायरामा ल्याउनु केवल प्रहरीको कर्तव्य मात्र नभई राज्य प्रति इमान्दारीताको प्रतीक पनि हो ।

अबको आवश्यकता भनेको यही सक्रियतालाई दीर्घकालीन रुपमाकायम राख्नु हो । प्रहरीको शारीरिक उपस्थिति मात्र होइन, उसले देखाएको उत्तरदायित्व, पारदर्शिता र निष्पक्षताको भावनाले नै नागरिक–प्रहरी सम्बन्धलाई मजबुत बनाउने हो । साथै, समुदाय–प्रहरी साझेदारीलाई अझ सशक्त बनाउँदै सुरक्षालाई सबैको साझा जिम्मेवारी बनाउनु आवश्यक छ । अन्ततः, स्याङ्जा प्रहरीले देखाएको यो सक्रियता देशका अन्य जिल्लाका लागि पनि प्रेरणादायी बन्न सक्छ । यदि यस्तै ढंगले देशभरका प्रहरी इकाइहरुले फरार दोषीको खोजीलाई प्राथमिकता दिएभने न्यायिक निर्णयको प्रभावकारिता थप बढ्नेछ र नागरिकले सुरक्षित समाजमा बाँच्ने विश्वास गर्नेछन् ।

स्याङ्जा प्रहरीले पछिल्लो समय गाउँ–गाउँमा सक्रियता बढाउँदै समाजमा शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा उल्लेखनीय योगदान दिइरहेको छ । सीमित साधन र जनशक्ति हुँदाहुँदै पनि घरेलु हिंसा, चोरी, बाढी पहिरो जस्ता समस्यामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु सकारात्मक पहल हो । बैंकिङ कसुर, कुटपिट र अवैध गाँजा ओसार पसारमा फरार रहेका अभियुक्तको गिरफ्तारीले प्रहरीको कार्यकुशलता देखाएको छ । जिल्लाका ११ वटै पालिका र वडा तहसम्म सुरक्षाको पहुँच पु¥याउँदै, स्याङ्जा प्रहरीले ग्रामिण भेगसम्म शान्ति र सुरक्षाको अनुभूति दिलाएको छ, जुन अत्यन्तै प्रशंसनीय छ ।

 

प्रतिक्रिया