‘आध्यात्मिक जागरणका लागि धार्मिक महोत्सव गर्दैछौं ।’

आचार्य चैतन्य कृष्ण,
(अध्यक्ष)
कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठान,
गल्याङ १ मालुङ्गा, उत्तरवाहिनी ।

स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १ मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका वडा नं. १ को संगमस्थल स्थित उत्तरवाहिनीमा बृहत धाम निर्माणको लागि एक महिने धार्मिक महोत्सवको तयारी तीब्र पारिएको छ । श्री कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको आयोजनामा उक्त महोत्सव आउंँदो असोज २१ देखि कार्तिक १९ गतेसम्म सञ्चालन हुदैछ । उत्तरवाहिनी क्षेत्रलाई वृहत धामको रुपमा विकास गर्ने उद्धेश्यले धार्मिक महोत्सवको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । नेपालमै पहिलोपटक पृथक खालको ऐतिहासिक धार्मिक महोत्सव गल्याङको कालीगण्डकी नदी किनारमा हुने आयोजकको दाबी छ । धार्मिक महोत्सवमा ५ अरब तुलसीदल, गाईको दुध र गण्डकी जलद्धारा सवालाख शालग्राम भगवानको अभिषेक पूजन, शैक्षिक, धार्मिक, सांँस्किृतिक कार्यक्रम, ४ वेद १८ पुराण पाठ परायण एवं लक्ष्यवर्ती, श्रीमदभागवत धन धान्याञ्जल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ लगायतका कार्यक्रम हुनेछन । उत्तरवाहिनीमा बन्न लागेको सो क्षेत्रलाई बृहत धामको रुपमा विकास गर्ने, स्याङ्जाकै पहिलो प्राकृतिक चिकित्साालय र कालीगण्डकी गुरुकुलम्को स्तरोन्नती गर्ने उद्धेश्यका साथ महोत्सव गर्न लागिएको हो । यसै बिषयमा केन्द्रीत रहेर महायज्ञका प्रमुख बाचक एवं संकल्पकर्ता युवागुरु आचार्य चैतन्य कृष्णसंँग पब्लिक आवाजका सम्पादक अमृत अर्यालले गरेको कुराकानीको सम्पादित अंश ।

१. आचार्य जी आराम हुनुहुन्छ ? तपाईहरुले असोज २१ देखि उत्तरगण्डकी महामेला आयोजना गर्न लाग्नुभएको रहेछ । महामेला आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?

धन्यवाद, नमस्कार । म आरामै छु । ठूलो कार्य र ठूलो सपना बोकेर अघि बढ्यो भने रोगले पनि छोड्दो रहेछ । यो महायज्ञ आयोजना गर्नुको उद्धेश्य मुख्यत मालुङ्गामा रहेको उत्तरवाहिनी क्षेत्रलाई बृहत धामको रुपमा विकास गर्न एवं त्यहांँ स्थापना हुने संरचना, प्राकृतिक चिकित्सालय, आयुवेर्दिक शिक्षालय, गुरुकुल, योगा लगायतका संरचना निर्माण, एक हजार जना अट्ने धर्मशाला, घाट व्यवस्थापन, एक हजार क्षमताको सभाहल, पाठशाला, यज्ञशाला र गौशाला निर्माणका लागि महायज्ञको आयोजना गरिएको हो । अर्को कुरा पछिल्लो समय समाजमा खस्किदै गएको नैतिक आचरण, अध्यात्मिक चेतना, मूल्य र मान्यतालाई बोध गराउंँदै आध्यात्मिक जागरण गराउने, नैतिक शिक्षा प्रदान गर्ने, राष्ट्रियताको भावना जागृत गर्ने र धर्म संस्कृति र परम्परालाई जोगाउनको लागि पनि यस महायज्ञ गर्न लागिएको हो । समग्र रुपमा भन्नुपर्दा अध्यात्मिक जागरण सहितको भौतिक विकास गर्नु यो महायज्ञको उद्धेश्य हो ।

२. महायज्ञको तयारी कहांँसम्म पुगेको छ ?

महायज्ञको तयारी अहिले तीब्र पारिएको छ । जसअनुसार हामीले पूर्व मेचि देखि पश्चिम महाकाली सम्म प्रचार प्रसार अभियान तीब्र पारेका छौं । महायज्ञ नजिकिदै गर्दा देशका विभिन्न ठाउंँबाट समेत भक्तजनहरु आउने क्रम बढ्दो छ । अहिले कालीगण्डकी नदी किनारमा सरसफाई र अन्य निर्माण कार्य सुरु भएको छ । हालसम्म विभिन्न उपसमिति बनाएर सोही अनुसार यसको तयारीलाई गति दिइएको छ । महायज्ञको लागि मुल आयोजक समारोह समिति बनिसकेको छ । अब छिटै उपसमिति विस्तारको लागि बृहत भेला गर्दैछौं । पूर्व तयारी कार्यहरु—स्थल व्यवस्थापन र संरचनात्मक तयारीका कामहरु सम्पन्न भइरहेका छन् ।

३. महामेलाको अवधिभर गरिने प्रमुख धार्मिक गतिविधिहरु के–के हुनेछन् ?

गण्डकी स्नान, दामोदर आरधना, साधना, ध्यान तथा सहस्र चण्डीपाठ प्रमुख धार्मिक गतिविधिहरु हुनेछन् । यो नेपालमै पहिलोपटक गर्न लागिएको ग्रह शान्तिका लागि नृसिंह पूजन सहितको महायज्ञ भएका कारण यहांँ सनातन हिन्दुधर्मका कर्मकाण्ड, संस्कार लगायत सबै कामहरु हुनेछन । बिशेष गरी गोपाल भट्ट गोस्वामी स्मृतिघाटको उद्घाटन पनि गर्नेछौं । २४ बर्ष अघि देखि उत्तरवाहिनी क्षेत्रमा दामोदर मासका रुपमा कार्तिकलाई भक्तिभाव र संकीर्तनले उत्सवमय बनाउने चलन अनवरत चलिरहेको छ । अहिले डुंगा एवं स्टीमरद्धारा गण्डकी भ्रमण सहित महायज्ञ गर्न लागिएको हुंँदा यसको आफ्नै महत्व र बिशेषता छ । यहांँ दामोदर कथा, दीपदान तथा श्रृंगारिक आरती हुदैछ । हवन तथा आरतीको आफ्नै धार्मिक एवं अध्यात्मिक महत्व भएपनि बैज्ञानिक दृष्टीकोणले समेत पृथ्वीमा पातलिदै गएको ओजन तहलाई टाल्ने समेत काम गर्नेछ । यस्तै यहांँ राष्ट्रिय भजन, वक्तृत्वकला एवं हाजिरीजवाफ प्रतियोगिता संचालन गरिनेछ । महायज्ञमा हरनिाम संकीर्तन एवं मातापिताहरुको पूजन गरिनेछ । विश्वविख्यात सन्त एवं गुरुहरुद्धारा आशिर्वचन प्रदान गरिनेछ । यस्तै महायज्ञमा उत्तरवाहिनी महास्नान, उत्तरवाहिनी पूजन, तर्पण, परिक्रमा एवं तीर्थ श्राद्ध गरिनेछ । दिनहुंँ भजनकृतन, रामलीला, कृष्णलीला र ज्ञानमञ्च लगायतका कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

४. महामेलाले स्थानीय पर्यटन र आर्थिक क्षेत्रलाई कसरी योगदान पु¥याउने अपेक्षा गरिएको छ ?

लाखौं करोडौं व्यक्तिहरु देश विदेशबाट आउदै गर्दा पर्यटन र आर्थिक क्षेत्रमा चलायमान हुने आशा गरिएको छ । यहांँको धार्मिक पर्यटन विस्तार गर्न पनि यस महायज्ञले सहयोग गर्दछ । यस्तै यो महायज्ञ कुनै दल बिशेष, संस्था बिशेष, कुनै साम्प्रदायिक बिशेष, कुनै लिंग बिशेष नभई बिशुद्ध अध्यात्मिक चेतना दिने उद्धेश्य पनि हो । यसको साथै पछिल्लो समय धर्म र संस्कृति हराउंँदै गएको र यसको जगेर्ना र संरक्षण गर्ने उद्धेश्यले पनि आयोजना गरिएको छ । महायज्ञका पाठपारायण, ज्ञान सन्देशका कारण समाजमा अनुशासन एवं नैतिकता प्रदान गर्न समेत यसले सहयोग गर्दछ । हाम्रो उद्धेश्य अध्यात्मको प्रचारको साथै भौतिक विकास गर्ने हो ।

५. शालग्राम अभिषेक, दामोदर कथा र गण्डकी भ्रमण जस्ता गतिविधिहरुको महत्व के हो ?

शालग्राम (वा शालिग्राम) एक प्रकारको पवित्र कालो ढुंगा हो, जुन गण्डकी नदीमा मात्र पाइन्छ । यो पत्थरमा श्रीहरि विष्णुका विभिन्न स्वरुप मानेर पूजा गरिन्छ । वास्तवमा हामी अनन्तदेखि नै भगवानसँग टाढा भएका छौं । त्यसैले मानवीय संभावनाहरुलाई उजागर गर्न शालग्राम अभिषेकले विशेष महत्व राख्दछ । शालग्राम अभिषेक, दामोदर कथा र गण्डकी भ्रमण—यी तीनै गतिविधिहरु हिन्दू धर्म, विशेषतः वैष्णव परम्परा अनुसार अत्यन्त पवित्र, धार्मिक र सांस्कृतिक महत्व बोकेका छन् । यी क्रियाकलापहरु अध्यात्मिक उन्नति, पवित्रता र धर्म–संस्कारको दृष्टिले अत्यन्त अर्थपूर्ण छन् ।

६. महामेलामा सहभागी हुने सन्त र गुरुहरु को–को हुनुहुन्छ ?

दामोदर धर्माेत्सव २०८२ मा सनातन धर्मका सयौं प्रमुख सन्त तथा महन्तहरुको उपस्थिति हुनेछ । महामेलामा नेपाल तथा भारतका गुरुहरुको सहभागिता रहने र भारतीय भक्तजनलाई समेत भित्राउने गरी तयारी थालिएको छ । यो महायज्ञमा देश विदेशका विख्यात गुरुहरु मुख्य रुपमा वैदिक परम्पराका आचार्य–पण्डितहरु सहभागी हुनुहुन्छ ।

७. धार्मिक गतिविधिका अतिरिक्त आयोजना गरिने साहित्यिक, सांस्कृतिक कार्यक्रमहरुको उद्देश्य के हो ?

सो अवसरमा देशव्यापी भजन प्रतियोगिता तथा टिकटक भिडीयो प्रतियोगिता हुदैंछ । विभिन्न प्रकारका गोष्ठी तथा योगका कार्यक्रमहरु पनि सम्पन्न हुदैंछन् । देशभरका ज्योतिष वास्तुविदहरुको सम्मेलन हुदैंछ । यी कार्यक्रमहरु राख्नुको मुख्य उद्धेश्य मौलिक लोक कला, नाचगान, भेषभूषा र परम्परागत गीतहरु प्रदर्शन गरेर स्थानीय संस्कृति जोगाउने पनि हो । स्थानीय जातजातिको परम्परागत मूल्य–मान्यतालाई राष्ट्रिय तहमा पु¥याउने हाम्रो प्रयास हुनेछ । धार्मिक मेला केवल पूजाआजा नभई सांस्कृतिक उत्सवको स्वरुप बनाउने उद्धेश्यले पनि यसो गरिएको हो ।

८. धर्मशाला, यज्ञशाला, सभाहल, गौशाला जस्ता पूर्वाधार विकासका लागि कस्तो योजना बनाइएको छ ?

कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको एउटा वृहत गुरुयोजना अन्तर्गत यी कामहरु सम्पन्न हुदैंछन् । धर्मशाला, यज्ञशाला, सभाहल, गौशाला आदिको विकास—केवल धार्मिक प्रयोजनमै मात्र सीमित छैन । यी संरचनाहरुले पर्यटन, स्थानीय रोजगार, सांस्कृतिक संरक्षण र आर्थिक विकाससँग गहिरो सम्बन्ध राख्छन् । स्थानीय, प्रदेश र संघीय तहले सामन्जस्यपूर्ण योजना र नीति निर्माणमार्फत यिनीहरुलाई दीर्घकालीन र दिगो ढंगले व्यवस्थापन गर्ने दिशामा काम गरिरहेका छन् ।

९. महामेलामा जनसुरक्षा र भीड व्यवस्थापनका लागि के व्यवस्था गरिएको छ ?

यसका लागि हामीले धेरै स्वयंसेवकहरुलाई तालिम दिएर परिचालन गर्दैछौं । नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी पनि परिचालन गरिनेछ । साथै अन्य स्वयंसेवक र नगर प्रहरी पनि खटिनुहुनेछ । भीड र अन्य गतिविधि नियन्त्रणका लागि ड्रोन, सीसीटीभी क्यामेरा प्रयोग गरिनेछ । दर्शनार्थीका लागि निःशुल्क स्वास्थ्य शिविर, शौचालय, खानेपानी, बास व्यवस्थापन जस्ता सुविधा उपलब्ध गराइनेछ । चोरी आदि घटनाहरु रोक्न प्रभावकारी प्रहरी निगरानी तैनाथ गरिनेछ । उक्त धार्मिक मेलामा जनसुरक्षा र भीड व्यवस्थापनका लागि सुरक्षा बल, प्रविधि, स्वयंसेवी शक्ति र प्रशासनिक संरचनाको सुसंगत समन्वय गरिएको छ । यी व्यवस्थाहरुले श्रद्धालुहरुलाई सुरक्षात्मक, सहज र व्यवस्थित वातावरण उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्छ होला भन्ने लागेको छ ।

१०. अन्त्यमा पब्लिक आवाज मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

यदी यहाँहरुले सनातन धर्म, संस्कृति र हिंसामुक्त समाज चाहनुहुन्छ भने उत्तरवाहिनी महामेलामा आउनुहोला भन्न चाहन्छु । यस प्रकारको महायज्ञ न हिजो भएको थियो न भविष्यमा हुन सक्ला, त्यसैले सबै श्रद्धालु भक्तजनहरुलाई यस महायज्ञ सफल पार्न तन, मन धन, वचन र कर्मले सहयोग गर्नुहुन्छ भन्ने विश्वास लिएको छु । यो महायज्ञ विशुद्ध सामाजिक महायज्ञ हुने र नेपालमै फरक प्रकृतिको महायज्ञ गर्न लागेका छौं । हामीले दाता तथा सहयोगीहरुबाट नगद तथा जिन्सी एवं अन्य श्रम सहयोगको समेत व्यवस्था मिलाएका छौं । त्यसमा पनि आफ्नो हैसियत अनुशार सहभागी हुन सक्नुहुनेछ भन्न चाहन्छु ।

प्रतिक्रिया