पुतलीबजारमा सम्पन्न आठौं राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
स्याङ्जा ।
स्याङ्जाको पुतलीबजार नगरपालिकामा आयोजित आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रोशनी आवासीय माध्यमिक विद्यालयले हात पारेको छ। रोशनी माविले लगातार तेस्रो पटक उपाधि जित्दै रनिङ शिल्ड नै स्थायी रूपमा आफ्नो पोल्टामा पार्न सफल भएको हो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै रोशनी माविले १९ स्वर्ण, ३ रजत र ४ कास्य पदक जितेको थियो। यस उल्लेखनीय सफलतासँगै विद्यालयले १५ हजार रुपैयाँ नगद, रनिङ शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। विद्यालयको निरन्तर सफलता अनुशासन, मेहनत र योजनाबद्ध प्रशिक्षणको प्रतिफल भएको विद्यालय प्रशासनले जनाएको छ।
शिक्षा शाखा प्रमुख बाबुराम बरालका अनुसार प्रतियोगितामा हिमालय माध्यमिक विद्यालयले ५ स्वर्ण र १ रजत पदकसहित द्वितीय स्थान हासिल गरेको छ भने स्याङ्जा माध्यमिक विद्यालयले २ स्वर्ण, ५ रजत तथा ३ कास्य पदक प्राप्त गर्दै तृतीय स्थानमा चित्त बुझाएको छ। द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः १० हजार र ७ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर खेलमैदानमा सम्पन्न प्रतियोगितामा भलिबल, एथलेटिक्सतर्फ विभिन्न दूरीका दौड, ट्रिपल जम्प, लङजम्प, हाईजम्प, ज्याभलिन थ्रो, सटपुट तथा कबड्डी लगायत १५ वटा विभिन्न खेल समावेश गरिएका थिए। प्रतियोगिता नगरभित्रका २४ वटा विद्यालयहरूबीच भएको थियो, जसमा जम्मा १ हजार २ सय ८० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा कुल ३० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो।
समापन तथा पुरस्कार वितरण समारोहमा पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले विजयी खेलाडी तथा विद्यालयलाई बधाई दिँदै खेलकुदले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र अनुशासन विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले शैक्षिक ज्ञानसँगै खेलकुदमार्फत मानसिक र शारीरिक स्वास्थ्य सुदृढ बनाउनेतर्फ जोड दिँदै यस्ता प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पनि ट्रफीसहित पुरस्कृत गरिएको थियो। स्थानीय अभिभावक, शिक्षक तथा सरोकारवालाहरूले प्रतियोगिताले विद्यालयस्तरको खेलकुद विकासमा सकारात्मक योगदान पुर्याएको प्रतिक्रिया दिएका छन्। राष्ट्रपति रनिङ शिल्डले ग्रामीण तथा नगरस्तरका प्रतिभावान खेलाडी पहिचान र प्रोत्साहनमा महत्वपूर्ण भूमिका खेल्दै आएको सहभागीहरूको भनाइ छ।


प्रतिक्रिया