भीरकोटका व्यवसायीले कर नतिर्ने घोषणा

भीरकोट ।
भीरकोट उद्योग वाणिज्य संघले भीरकोट नगरपालिकालाई कुनै पनि प्रकारको स्थानीय कर नतिर्ने घोषणा गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै स्थानीय क्लबले व्यापारिक मेला आयोजना गर्न लागेको र नगरपालिकाले अनुमति दिएको भन्दै असन्तुष्टि जनाउँदै यस्तो घोषणा गरेको हो । अध्यक्ष नुवादत्त अर्यालका अनुसार बिहीबारदेखि एक स्थानीय क्लबले ‘रमाइलो मेला’को नाममा व्यापारिक स्टल राखेर मेला आयोजना गर्न लागेको र यसले स्थानीय व्यापारीहरूलाई निरुत्साहित गर्ने र थप पीडा दिने भन्दै संघले विरोध जनाएको हो ।

भीरकोट उद्योग वाणिज्य संघले आफूहरूले राज्य पुनर्संरचना पछि व्यापारिक हकहितका लागि स्थापना कालदेखि नै नगरपालिकालाई रचनात्मक कार्यमा सहयोग गर्दै आएको स्मरण गराएको छ । संघले यसअघि दुईवटा भीरकोट महोत्सव सफलतापूर्वक सम्पन्न गरी भीरकोट, स्याङ्जा जिल्ला र समग्र गण्डकी प्रदेशको पहिचान, चिनारी, र कृषि पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको विज्ञप्तिमा उल्लेख छ ।
‘हाल देशको विषम परिस्थिति र आर्थिक शिथिलताका बाबजुद स्थानीय सरकारलाई पटक–पटक लिखित तथा मौखिक अनुरोध गर्दागर्दै, सीमित राजनैतिक दादागिरीको आडमा स्थानीय क्लबलाई व्यापारिक मेला गर्न अनुमति दिइयो,’ विज्ञप्तिमा भनिएको छ, ‘संघसँग कुनै सहमति नगरी यस्तो निर्णय गरिएकाले हामी यो निर्णय लिन बाध्य भएका छौँ ।’ गत १८ गते बसेको संघको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष अर्यालले बताए ।

प्रतिक्रिया