भीरकोटमा रमाइलो मेला सुरु

भीरकोट ।
स्याङ्जाको भीरकोटमा रमाइलो मेला सुरु भएको छ । बयरघरी पिस युथ क्लबको आयोजनामा भीरकोट नगरपालिकाको वडा नं १ मा अवस्थित खेलमैदानमा रमाइलो मेला सुरु भएको हो । बडा दशैं र दीपावलीको पावन अवसरमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता एवं चौंथो बयरघारी रमाइलो मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष रोशन गुरुङले जानकारी दिए । असोज २३ गते बिहिवारदेखि भीरकोट खेलमैदानमा सुरु भएको रमाइलो मेलाको गण्डकी प्रदेशका पूर्व मन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गरेका हुन् ।

मेलाको उद्घाटन गर्दै पूर्वमन्त्री श्रेष्ठले देश युवाको चाहना र माग बमोजिम अगाडि बढ्न खोजेको भन्दै युवालाई सबैले सहयोग गर्नुपर्ने बताए । युवाहरुलाई कानुनी शासन र संविधानको पक्षमा उभिन र समाजमा शान्ति सुरक्षा कायम गर्न सकारात्मक भूमिका खेल्न उनले आग्रह गरे । युवाहरुलाई मेला र खेलकुद प्रचलित नियमकानुनको अधिनमा रहेर संचालन गर्न र आर्थिक कारोबारको विवरण समयमै पारदर्शी तरिकाले सार्वजनिक गर्न उनले सुझाव दिए । श्रेष्ठले उद्योग वाणिज्य संघलाई समेत मेलामा सहभागी हुन र स्टल राख्न अनुरोध गरेका थिए । भीरकोटका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले भीरकोट उद्योग वाणिज्य संघलाई समेत मेला संचालन गर्न क्लबसँग सहकार्य गर्न अनुरोध गरे । भीरकोटको विकास र समृद्धिको लागि सबै मिलेर अगाडि बढ्नुपर्ने कर्माचार्यले बताए ।

१ सय १५ व्यापारिक स्टल रहने मेलामा १० वटा स्टल कृषि उपजको लागि निःशुल्क उपलब्ध गराइने अध्यक्ष गुरुङले जानकारी दिए । २० लाख सम्मको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको मेला ११ दिनसम्म सञ्चालन हुनेछ । मेलामा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता पनि हुनेछ । २५ गतेदेखी संचालन हुने भलिबल प्रतियोगितामा जिल्लाभित्र र बाहिरका टीम समेत सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १५ हजार, द्वितीय पुरस्कार ७० हजार, तृतीय पुरस्कार ४० हजार र सान्त्वना पुरस्कार ३० हजार रुपैयाँ रहेको खेल संयोजक सुरज खाँण ठकुरीले जानकारी दिए । मेलामा भलिबल प्रतियोगिताका साथै विद्यालय स्तरीय नृत्य र रत्यौली प्रतियोगिता पनि सञ्चालन हुनेछ । मेलालाई थप रमाइलो बनाउन स्थानीय र राष्ट्रिय स्तरका कलाकारको बेजोड प्रस्तुती समेत रहने संस्थाका सचिव रेश्मा गुरुङले जानकारी दिइन ।

मेलाको समुद्घाटन समारोहमा भीरकोटका निवर्तमान नगर प्रमुख छायाराम खनाल, नेकपा एमालेका विश्वनाथ अर्याल, नेकपा माओवादीका मीन प्रसाद कोइराला लगायतले मेलाको सफलताको शुभकामना व्यक्त गरेका थिए । भीरकोट उद्योग वाणिज्य संघले क्लबलाई र भीरकोट नगरपालिकालाई व्यापारिक स्टल नराख्न र खेलकुद प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम मात्रै संचालन गर्न आग्रह गर्दै नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिमा ज्ञापनपत्र बुझाएको थियो । तर वाणिज्य संघको आग्रह कसैले नसुनेपछि संघका पदाधिकारी र सदस्यहरु उद्घाटन समारोहमा सहभागी भएनन् ।

प्रतिक्रिया