माघ १४ को पर्खाइमा वालिङवासी
स्याङ्जा ।
वालिङ स्याङ्जाकै मध्य भागमा पर्ने एउटा प्रमुख व्यापारीक केन्द्र हो । जिल्लाको आधा र पर्वत, गुल्मी, पाल्पा, तनहुँको समेत पायक पर्ने शहर आँधीखोलाको किनारमा रहेको छ । समथर भुभाग र एतिहासिक आँधीखोलाको किनारमा बसेको बजारले वालिङलाई सुन्दर शहरका रुपमा चिनाउन मद्धत गरिरहेको छ । यही शहरमा प्रत्येक दुई—दुई बर्षमा संचालन हुने एतिहासिक महोत्सवले वालिङलाई देश मात्रै नभएर बिदेशमा समेत चिनाउन सहयोग गर्दै आएको छ ।
हरेक दुई—दुई बर्षमा वालिङवासीलाई एउटा महत्वपुर्ण चाड आएझै हुन्छ । त्यो महत्वपुर्ण दिन हो माघ १४ देखी २५ गतेसम्म । वालिङको पहिचान बोकेको वालिङ महोत्सव माघ १४ देखी शुरु हुदैछ । त्यसैको पर्खाइमा वालिङवासी बसेका छन् । वालिङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको नवौ वालिङ महोत्सवका लागि माघ १४ गतेको दिनको पर्खाइमा वालिङवासी रहेका छन् । हरेक २—२ बर्षमा आयोजना हुँदै आएको महोत्सव यो बर्ष गर्ने भनेर वालिङ उद्योग वाणिज्य संघले गत फागुनमै निर्णय गरेको थियो ।
वालिङ उद्योग वाणिज्य संघले निकाल्दै आएको क्यालेण्डर २०८२ मा समेत मिति उल्लेख गरिसकेको छ । प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक एवंम औद्योगिक व्यापार मेलाका रुपमा उद्योग वाणिज्य संघले नवौ महोत्सवलाई अगाडी सारेको छ । गण्डकी प्रदेशमै लेखनाथ महोत्सवपछि सफल हुदै आएको वालिङ महोत्सव तयारीका लागि उद्योग वाणिज्य संघले छलफल सुरु गर्न शुरु गरेको छ ।
‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने नारा सहित गण्डकी प्रदेशस्तरीय नवौ महोत्सवमा व्यापारीक मेला, विद्यालयस्तरीय नृत्य, लोकदोहोरी प्रतियोगिता, सुन्तला प्रदर्शनी, ताजा तरकारी प्रदर्शनी, अर्गानिक कफी प्रदर्शनी, पशुपंक्षी सम्वन्धि उन्नतजात तथा प्रविधिको प्रदर्शनी, अदुवा तथा जडिबुटीको प्रदर्शनी, सूचना प्रविधि तथा शैक्षिक प्रदर्शनी, खेलकुद प्रतियोगिता, बालउद्यान, हस्तकला प्रदर्शनी, हस्तकला प्रदर्शनी लगायत स्थानीय कलासंस्कृति प्रदर्शनी हुने वालिङ उद्योग वाणिज्य संघका कार्यालय सचिव बावुराम रेग्मीले जानकारी दिए ।
महोत्सवमा १० करोडको अल्पकालिन कारोवार र ३ लाख दर्शक भित्राउने लक्ष्य लिइएको छ । १ करोड ७६ लाख आम्दानी, १ करोड २ लाख खर्च गर्दै ७३ करोड बचत गर्ने अनुमान आयोजकको छ । नवौ वालिङ महोत्सव २०८२ विगतका भन्दा फरक र पृथक बनाउने लक्ष्य सहित वालिङ उद्योग वाणिज्य संघ अगाडी बढेको संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताए । यो महोत्सव वालिङको मात्रै नभएर जिल्लाकै पहिचान हो भन्ने विश्वास बोकेर अगाडी बढेको संघले जनाएको छ । जिल्लाको पर्यटन र संस्कृतिलाई बिशेष महत्व दिइने वालिङ महोत्सवले कृषि उत्पादनलाई बजारीकरणमा समेत टेवा दिदै आएको छ । नवौ महोत्सवको संस्करण सम्म आइपुग्दा वालिङवासी मात्रै नभएर जिल्लावासी नै सफल बनाउन लाग्ने देखिएको छ ।


प्रतिक्रिया