स्याङ्जाको वालिङलाई अत्याधुनिक दमकल

प्रकाश डोटेल,
स्याङ्जा ।

जापान सरकारले स्याङजाको वालिङ नगरपालिकालाई अत्याधुनिक उपकरण सहितको दमकल सहयोग गरेको छ । आगलागी नियन्त्रण, उद्धार र आपतकालीन सेवा सुदृढीकरणका लागि भन्दै वालिङ् सहित देशभरका १२ वटा स्थानीयतहलाई अत्याधुनिक दमकल (फायर ट्रक) हस्तान्तरण गरिएको छ ।

दमकलमा पानी र रासायनिक दुबै पदार्थ प्रयोग गर्न सकिने सुविधा रहेको छ । जापान सरकारको ‘ग्रान्ट असिस्टेन्स फर ग्रास रुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट’ (जीजीपी)कार्यक्रम अन्र्तगत स्थानीय पालिकाहरुलाई सहयोग उपलब्ध गराइएको हो ।

भोलिन्टियर कर्भस नेपाल र युनाइटेड मिसन टु नेपालनामक दुई गैर–सरकारी संस्था मार्फत दमकल प्राप्त गर्न सहयोग पुगेको बताइएको छ । करिब एक करोड मूल्य बराबरको दमकल सशस्त्र प्रहरी बल नेपाल नं. १९ हेडक्वाटरबाट हस्तान्तरण गरिएको छ ।

जापान सरकारको सहयोगले नेपालमा आपतकालीन सेवामा सहजपुग्ने र क्षति हुन बाट जोगाउने भोलिन्टियर कर्भस नेपालका अध्यक्ष दीपक चापागाईको भनाई छ । बाक्लो बसोबास भएका बजार क्षेत्र, ठूल्ठूला उद्योग, पेट्रोलपम्प र आवासीय क्षेत्रमा लाग्ने आगलागी नियन्त्रणमा समेत छिटो छरितो र प्रभावकारी हुने उनले बताए ।

वालिङ्मा दमकलको अभाव भएकै बेला सुबिधा सम्पन्न दमकल प्राप्त भएपछि नगरप्रमुख कृष्ण खाँणले जापान सरकार र परियोजना साझेदार संस्था प्रति आभार व्यक्त गरे । ‘प्राप्त दमकल केवल वालिङ नगरपालिका भित्रमात्र सीमित रहने छैन ।’उनले भने, ‘आवश्यक पर्दा छिमेकी पालिका र जिल्लामा समेत परिचालन गर्नेछौं ।’

सन् १९९१ देखि सञ्चालनमा आएको जापान सरकारको ग्रान्ट असिस्टेन्स फर ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजिपी) कार्यक्रमले नेपालमा हालसम्म दुई सय भन्दा बढी परियोजना कार्यान्वयन गरेका छन् । परियोजनाले विद्यालय भवन निर्माण, स्वास्थ्य सेवा विस्तार, खानेपानी प्रणाली सुधार, सडक निर्माण, र आपतकालीन सेवाको सुदृढीकरण जस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार स्याङजा जिल्लामा गएको आर्थिक वर्षमामात्रै ३१ वटा आगलागीको घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीमा एक जनाको ज्यान गएको थियो भने एक करोड तिन लाख बराबरको आर्थिक क्षति भएको थियो । दमकल पाएपछि पालिकासँगै स्थानीय खुसी भएका छन् ।

प्रतिक्रिया