जनस्वास्थ्य कार्यालयले भन्यो :— आमाको दूधलाई प्रतिस्थापन गर्ने आहार नबेच्नु
अमृत अर्याल,
भीरकोट ।
प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नगर्न निर्देशन दिएको छ। कार्यालयले बजारमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण भइरहेको पाइएकाले सो कार्य बन्द गर्न आग्रह गरेको हो।
भीरकोटमा सरोकारवालाबिच भएको अभिमुखीकरण कार्यक्रममा बजारमा आमाको दूध प्रतिस्थापन गर्न विभिन्न आहार र खाद्यपदार्थ बिक्री वितरण गरिएको पाइएकाले सो कार्य रोक्न निर्देशन दिईएको छ। आमाको दूधमा शिशुका लागि आवश्यक सबै प्रकारका पोषण तत्व पाइने तथा पोसिलो र रोग प्रतिरोधको क्षमता बढाउने महत्वपूर्ण आहार भएकाले त्यसको विकल्पमा कुनै पनि खाद्य, आहार तथा बजारमा पाइने दूध हुन नसक्ने जनस्वास्थ्य कार्यालय का मित्रप्रसाद अर्यालले जानकारी गराए।
“विभिन्न औषधि पसल तथा अन्य पसलमा विभिन्न ‘ब्रान्ड’ का आमाको दूध प्रतिस्थापन गर्ने वस्तु प्रदर्शन गर्ने र सामाजिक सञ्जालको माध्यमबाट उक्त वस्तुलाई प्रवद्र्धन गर्ने गरेको पाइएको छ”, उनले भने। कार्यालयले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको ९बिक्री–वितरण नियन्त्रण० ऐन २०४९ तथा नियमावली २०५१ को पालना गर्न तथा आमा र शिशुको स्वास्थ्य अधिकार प्रवर्द्धन गर्न सबैलाई आग्रह गरेको छ।
यसैविच बजारमा कानुनविपरीत आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री भइरहेको पाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय र भीरकोट नगरपालिकाले गरेको अनुगमनका क्रममा यस्तो पत्ता लागेको हो । जनस्वास्थ्य कार्यालय स्याङ्जाका मित्रप्रसाद अर्यालले बयरघारीका फार्मेसी, डिपार्मन्टल तथा किराना पसलमा अनुगमन गर्दा कानुनविपरीत यस्ता वस्तुको डिस्प्ले गरेको, अनलाइनमार्फत छुट दिएर सामान बिक्री गर्ने गरेको पाइएको बताए । उनले यस्ता वस्तुको प्याकेटमा बच्चाका लागि स्तनपान सबैभन्दा असल दुध हो भन्ने बेहोराको सन्देश अनिवार्य राख्नुपर्नेमा कुनै कुनैमा त्यो सन्देश नराखिएको बताए । उनले ती पसललाई कानुनी पक्षबारे सचेत गराएर यस्ता वस्तु बिक्री नगर्न निर्देशन दिइएको बताए ।


प्रतिक्रिया