बचत फिर्ता नपाए लिखित निवेदन दिनु : प्राधिकरण

स्याङ्जा ।
सहकारीले बचत फिर्ता नदिदा कहाँ निवेदन दिने भन्ने अन्योल बचतकर्तामा रहेका बेला राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा लिखित निवेदन दिन अनुरोध गरिएको छ । प्राधिकरणले असोज १० गते सार्वजनिक गरेको सूचना अनुसार बचत तथा ऋण कारोवार गर्ने सहकारीहरुका बिषयमा गुनासो भएमा सिधै सम्पर्क गर्न वा लिखित निवेदन दिन पाइने व्यवस्था गरिएको जनाएको छ । प्राधिकरणले गुनासो टिपाउन वा सुनाउन निर्देशक ज्ञाननाथ ढकाललाई तोकेको समेत जनाएको छ । पब्लिक आवाजसगँ कुरा गर्दै निर्देशक ढकालले कुनैपनि बचत तथा ऋण कारोवार गर्ने सहकारीले बचत रकम फिर्ता नदिएमा सम्वन्धित पालिकाको सहकारी शाखामा निवेदन दिन अनुरोध गरेका छन् ।

सहकारीहरुले निवेदन लिन नमानेमा प्रदेश सहकारीमा पनि दिन पाइने व्यवस्था रहेको ढकालले बताए । दुवैबाट सुनुवाई नभएमा सिधै राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा लिखित निवेदन दिन पाइने ढकालले बताए । प्राधिकरणले अहिले सहकारी समस्याकै बारेमा काम गरिरहेको बताउदै निर्देशक ढकालले सहकारी ऐन १०३ (ज) को उपदफा १ को खण्ड ३ ले उल्लेख गरे अनुसार प्रदेश र स्थानीय तहमा अधिकारी तोक्ने काम अगाडी बढाएको बताए ।

प्राधिकरणले छिट्टै बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियामा सहकारीहरुलाई नियमन गर्ने ढकालको भनाई छ । जनशक्ति कम भएकाले स्थानीय तहबाटै प्राधिकरणलाई सहयोग गर्नुपर्ने भएको हुँदा त्यसैको तयारीमा रहेको उनले बताए । बचत फिर्ता नपाएका बचतकर्ताले सिधै प्राधिकरणमा लिखित निवेदन दिन पाइने व्यवस्था भने मिलाएको उनले बताए । बचत फिर्ता नदिने सहकारीहरु अब प्राधिकरण स्थापना भएसगै फिर्ता दिन बाध्य हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया