‘कृषिमा आत्मनिर्भर बनाउन बजारको सुनिश्चितता आवश्यक’

वालिङ ।
उत्पादन भएका बस्तुहरुको बजारीकरणको सुनिश्चितता भए कृषिमा आत्मनिर्भरता बढ्ने सरोकारवालाहरुले जोड दिएका छन् । बजारको सुनिश्चितता कायम गर्न सकिएमा युवा पलायन पनि रोक्न सकिने सरोकारवालाहरुको भनाई छ । हेफर प्रोजेक्ट इन्टरनेशनल नेपालले स्याङ्जाको वालिङमा आयोजना गरेको खाद्य सुरक्षा प्रणालीमा कार्यक्रम रुपान्तरण गर्न लागेको परिवेशमा आगामी दिनमा हेफरले के कस्ता विषयमा ध्यान दिनु पर्ला र रुपरेखा कस्तो बनाउदा साना किसानले बढी फाईदा पाउन सक्दछन भन्ने विषयमाथी छलफलमा सरोकारवालाहरुले उत्पादनले बजार नपाउदा कृषिमा आत्मनिर्भर बनाउन नसकिएको बिषयमा जोड दिएका हुन् । सहभागीहरुले उत्पादनको बजारीकरण र प्रभावकारी कृषि बिमा अहिले आवश्यकता रहेको बताएका थिए ।

जिल्लाका विभिन्न पालिकाहरु, कृषि तथा पशु कार्यालय, बैंक बित्तिय संस्था, पत्रकारहरु बीच भएको छलफलमा कृषि तथा पशुपालनलाई प्रभावकारी बनाउन वास्तविक कृषकको पहिचान गर्न आवश्यक रहेको बताएका हुन् । हेफर प्रोजेक्ट इन्टरनेशनल नेपालले नेपाल सरकारका विभिन्न तहगत सरकारहरुसँग समन्वय, सहकार्य र साझेदारी गर्दै कृषि तथा पशु उद्यमशिलता मार्फत महिला तथा युवाहरुको सामाजिक तथा आर्थिक रुपान्तरणका क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । हेफर ईन्टरनेशनल नेपालले नेपालमा प्रत्यक्ष रुपमा काम गरेको २८ वर्षको सिकाई र अनुभवबाट नेपालका साना किसानहरुलाई केन्द्रमा राखी उनिहरुको माग र आवश्यकता बमोजिम आगामी राणनीतिक कार्यक्रम तय गर्न सरोकारवालाहरुसगँ छलफल शुरु गरेको हो ।

छलफल कार्यक्रममा बोल्नेहरुले उत्पादन भएका बस्तुहरुको सहज रुपमा बजारीकरण नहुँदा समस्या भएको बताएका हुन् । छलफलमा बोल्दै गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराइले कृषि र कृषकलाई हेर्नेे सोचमा परिवर्तन गर्नु पर्नेमा जोड दिए । सहयोग पाउनेले पाइरहने र नपाउनेले कहिल्यै नपाउने अवस्थामा परिवर्तन गर्न सबै लाग्नु पर्नेमा उनकोे जोड छ । साना किसान र महिलाहरुलाइ समेटेर अगाडि बढ्दा उत्पादकत्व र उत्पादन बढ्न सक्ने नगर प्रमुख भट्टराइृको भनाई छ । कृषिमा आत्मनिर्भर बनाउन किसानमुखी नीति आवश्यक रहेको उनले औल्याए ।

मुक्तिनाथ विकास बैंकका क्षेत्रिय प्रमुख नविन काफ्लेले कृषकको योजना र कार्यक्रम हेरेर लगानी गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए । नीतिगत रुपमा नै कार्यक्रम हेरेर ऋण तथा अन्य लागनी गर्ने वातावरण बनाउन आवश्यक रहेको काफ्लेको भनाई थियो । कृषि, उत्पादन र बजारीकरणलाई प्राथमिकतामा राखेर हेफर प्रोजेक्टले वालिङमा गरेको कार्यक्रमका सहभागीले ‘संस्थागत विकास, दिगो खाद्य प्रणली, नीजि क्षेत्र वित्त र बजार तथा नीति र सक्षम वातावरण’ लगायतका विषयमा छलफल गरेका थिए ।

कार्यक्रममा कृषि विकास स्रोत केन्द्र गण्डकी प्रदेशका प्रमुख सुदिप अर्याल, जिल्ला कृषि विकास कार्यालयका कृषि अधिकृत गुरु प्रसाद अर्याल, भीरकोट नगरपालिकाका योजना अधिकृत याम प्रसाद रेग्मी, गल्याङ नगरपालिकाका योजना अधिकृत प्रतिमा लम्साल, जिल्ला भेटेरिनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रका डाक्टर भरत रेग्मी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका अधिकृत प्रतिभा बुढाथोकी क्षेत्री, गरिमा विकास बैंकका क्षेत्रीय प्रवन्धक लेखनाथ भट्टराई, डा.रोशन बस्याल, डा.अमृत भण्डारी, डा.सुप्रिना शर्मा, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोइराला, गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देल, युवराज रेग्मी, सिर्जना सिग्देल, केश बहादुर थापा, कृष्ण प्रसाद डुम्रे लगायतले कृषि विकासका विभिन्न धारणा राखेका थिए ।

कार्यक्रममा बिज्ञ सुशिल ज्ञवाली, हेफर प्रोजेक्टका बरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डे, अधिकृत शोभाखर न्यौपानेले सहजीकरण गरेका थिए । हेफर प्रोजेक्टले स्याङ्जाको दियालो संस्थासगँ मिलेर गल्याङ, वालिङ, भीरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकामा पशु र कृषिमा काम गर्दै आएको छ । हेफर प्रोजेक्ट मार्फत गरिएको कृषि र पशुको कार्यक्रमले चार पालिकाका किसानहरु निकै लाभान्वित भएको बताइएको छ ।

 

प्रतिक्रिया