स्याङ्जाका १८ सय किशोरीलाई एचपिभी खोप लगाइने

अमृत अर्याल
वालिङ ।

जिल्लाका १ हजार ७ सय ९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । जिल्लाका ९७ वटा वडामा रहेका २ सय ३४ विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई अभियानमार्फत खोप सञ्चालन गर्न लागिएको हो । यही फागुन ४ देखि ५ गतेसम्म खोप अभियान सञ्चालन गरिने भएकाले खोप पूर्णरुपमा सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख रामबहादुर नेपालीले किशोरीहरुलाई आग्रह गरेका छन् ।

उनका अनुसार जिल्लामा रहेका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई सम्बन्धित विद्यालयमा खोप केन्द्र स्थापना गरी खोप लगाइने छ । यस अवधिमा गत वर्ष खोप लगाउन छुट भएका कक्षा ७ देखि कक्षा १० सम्म अध्ययनरत किशोरी तथा विद्यालय नजाने ११ वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप दिइने उनले जानकारी दिए । जिल्लामा खोप अभियान एकै चरणमा सञ्चालन गरिने जनाइएको छ । अभियानका लागि २ सय ३४ स्वास्थ्यकर्मी र २ सय ३४ स्वंसेवक परिचालन गरिने कार्यालय प्रमुख नेपालीले जानकारी दिए ।

महिलाको शारिरीक तथा प्रजनन स्वास्थ्यसँग जोडिएको एचपिभी खोप लगाउने अभियानलाई सफल बनाउन सबैको सहयोग र समन्वय आवश्यक पर्ने सूचना अधिकारी बिनोद प्रसाद भट्टले बताए । पाठेघरको मुखमा हुने क्यान्सरजस्तो प्राणघातक रोगप्रति सबै सचेत र सजग हुनुपर्ने बताउँदै उनले कोही पनि खोप लगाउन छुट्न नहुने धारणा राखे । उनले अभियानमा छुटेकालाई थप एक साताको समय दिएर समावेश गरिने जानकारी दिए ।

जिल्ला खोप समन्वय समितिका संयोजक मनिष कुमार महतोले खोप अभियान सञ्चालनको सन्दर्भमा कुनै समस्या नआओस् भनेर प्रचारप्रसारलाई तीव्र बनाइएको बताए । उनले खोप पूर्णरुपमा सुरक्षित रहेकाले यसप्रति नकारात्मक धारणा नबनाउन सबैलाई आग्रह गरे । योसँगै जिल्लाका ११ वटै पालिका र वडास्तरमा पनि खोप अभियान सञ्चालनको तयारी भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । जिल्लामा गत वर्ष ९ हजार ५ सय ५ जनालाई एचपिभी खोप लगाइएको थियो ।

फागुन ४ र ५ गते पुतलीबजारका २ सय ९५, वालिङका ४ सय ४, भीरकोटका १ सय ६९, गल्याङका २ सय १, चापाकोटका १ सय ६२, फेदीखोलाका १ सय ३, आँधीखोलाका ८६, अर्जुनचौपारीका १ सय ९, बिरुवाका ७२, हरीनाशका ८० र कालीगण्डकीका १ सय १० जना किशोरीहरुलाई खोप लगाइने भएको छ । १ हजार ७ सय ९० विद्यालय जाने किशोरीहरुको संख्या हो भने अर्जुनचौपारीमा १ जना विद्यालय नजाने किशारी रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया