भीरकोट अस्पतालमा डाइलोसिस सेवा थपिँदै
अमृत अर्याल
भीरकोट ।
स्याङ्जाको भीरकोट नगरपालिका अन्तर्गत सञ्चालित भीरकोट नगर अस्पतालले पछिल्लो समय उल्लेखनीय सुधार गर्दै जनताको विश्वास जित्न सफल भएको छ। व्यवस्थापकीय सुधार, सेवा विस्तार र स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनसँगै अस्पतालमा सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेको हो। दुई वर्षअघिसम्म न्यून बिरामी आउने यस अस्पताल अहिले दैनिक सयभन्दा बढी बिरामीले सेवा लिने केन्द्रको रूपमा विकसित भएको छ। यहाँको स्थानीय सरकारले अस्पतालको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ। सोही प्रयासस्वरूप अस्पतालले “काँचुली फेरेको” जस्तो परिवर्तन देखिएको नगरप्रमुख गोविन्द कुमार कर्माचार्य बताउँछन्। उनका अनुसार अस्पतालको भौतिक संरचना, सेवा सुविधा र उपकरणहरू विस्तार गर्ने कार्य तीव्र गतिमा अघि बढिरहेको छ। उनले भने, “हामी अस्पताललाई अझ आधुनिक र सुविधासम्पन्न बनाउन लागिरहेका छौं”।
अस्पतालमा आगामी जेठ महिनादेखि डाइलोसिस सेवा सञ्चालन गर्ने तयारी गरिएको छ। यसका लागि दुई वटा अत्याधुनिक डाइलोसिस मेसिन खरिद प्रक्रिया अघि बढिसकेको छ। यस सेवा सुरु भएपछि मिर्गौला सम्बन्धी रोगबाट पीडित बिरामीहरूले अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। साथै, अस्पतालले भविष्यमा रेडियोथेरापी सेवा विस्तार गर्ने योजना समेत बनाएको छ, जसले क्यान्सर उपचारमा स्थानीय स्तरमै सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। अस्पतालको सुधारसँगै स्थानीय नागरिकमा सकारात्मक प्रभाव परेको छ। विगतमा सामान्य उपचारका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता रहेकोमा अहिले अधिकांश सेवा आफ्नै नगरमै उपलब्ध हुन थालेको छ। यसले समय, खर्च र झन्झट कम गरेको सेवाग्राहीहरू बताउँछन्।
यसैक्रममा, नगरपालिकाले नियमित रूपमा विशेषज्ञ सेवासहितका निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको छ। मनमोहन मेमोरियल शिक्षण अस्पतालको समन्वयमा गत चैत ७ गते आयोजना गरिएको स्वास्थ्य शिविरमा ४ सयभन्दा बढी नागरिकले सेवा लिएका थिए। उक्त शिविर पूर्ण रूपमा नगरपालिकाको लगानीमा सञ्चालन गरिएको नगर प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिए। अस्पताल प्रमुख डा. राजीव झाका अनुसार शिविरमा हाडजोर्नी तथा नसा, मानसिक रोग, नाक कान घाँटी, स्त्री तथा प्रसूति, जनरल मेडिसिन र दन्त सेवा उपलब्ध गराइएको थियो। यसले विशेषगरी ग्रामीण भेगका नागरिकलाई ठूलो राहत प्रदान गरेको उनले बताए।
स्वास्थ्य शिविरका टोली प्रमुख डा. मनोहर सिङ सैयदले आफ्नै गाउँठाउँमा सेवा दिने उद्देश्यले यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको बताए। उनले भने, “गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु हाम्रो उद्देश्य हो”। त्यस्तै, फेवासिटी हस्पिटल पोखराका हाडजोर्नी विशेषज्ञ डा. दिनेश वि.क.ले नगरपालिकाको सिफारिसमा विपन्न बिरामीहरूलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएका छन्। यसले आर्थिक रूपमा कमजोर वर्गलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हाल भीरकोट नगर अस्पतालमा बहिरंग सेवा (ओपीडी), फार्मेसी, प्रयोगशाला, एक्स रे, भिडियो एक्स रे (अल्ट्रासाउन्ड), ड्रेसिङ, प्लास्टर, नेबुलाइजर, सामान्य शल्यक्रिया, दन्त सेवा, परिवार नियोजन सेवा, गर्भजाँच, प्रसूति सेवा तथा क्षयरोग परीक्षण र उपचार सेवा नियमित रूपमा सञ्चालनमा छन्। साथै, २४ सै घण्टा इमरजेन्सी, फार्मेसी र प्रसूति सेवा उपलब्ध हुनु अस्पतालको अर्को विशेषता बनेको छ। भीरकोट अस्पतालबाट हाल अर्जुनचौपारी गाउँपालिका, पुतलीबजार नगरपालिका र भीरकोटका नागरिकहरूले सेवा लिइरहेका छन्। तीनवटै पालिकाबीच समन्वय गर्दै आवश्यक जनशक्ति थप्ने र स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना रहेको जनाइएको छ। यदि यी तीनवटै पालिकाको स्वास्थ्य बीमाको पहिलो उपचार केन्द्रको रूपमा भीरकोट अस्पताललाई स्थापित गर्न सकियो भने अस्पताल अझै सुदृढ हुने विश्वास गरिएको छ।
अस्पतालले अक्सिजन उत्पादनमा समेत आत्मनिर्भरता हासिल गरेको छ, जसले आपतकालीन अवस्थाहरूमा ठूलो राहत प्रदान गरेको छ। त्यस्तै, अस्पताल परिसरमा सरसफाइ र बगैंचा व्यवस्थापनमा गरिएको सुधारले अस्पतालको वातावरणलाई थप आकर्षक र व्यवस्थित बनाएको छ। समग्रमा, भीरकोट नगर अस्पतालले पछिल्लो समय देखाएको सुधार र सेवा विस्तारले स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा सम्भव छ भन्ने सन्देश दिएको छ। आगामी दिनमा थप सुविधा र विशेषज्ञ सेवा विस्तारसँगै यो अस्पताल जिल्लाकै नमुना स्वास्थ्य संस्थाको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया