भीरकोटमा ‘मेयरसँग जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन’ कार्यक्रम
अमृत अर्याल
भीरकोट ।
भीरकोट नगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सुधार तथा सहज उपचार पहुँच सुनिश्चित गर्ने उद्देश्यले “मेयरसँग जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन” कार्यक्रम सञ्चालनमा ल्याएको छ। नगरपालिकाले यो कार्यक्रम नगरका सबै ९ वटै वडामा विस्तार गरी सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। नगर प्रमुख गोविन्द कुमार कर्माचार्यका अनुसार समाजका अनुभवी र राष्ट्रका सम्पत्तिका रूपमा रहेका ज्येष्ठ नागरिकहरू सामान्य स्वास्थ्य सेवाबाट समेत वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो। उनले भने, “ज्येष्ठ नागरिकहरू हाम्रो समाजका मार्गदर्शक हुनुहुन्छ। उहाँहरूको स्वास्थ्य अवस्था सुधार गर्नु हाम्रो दायित्व हो। त्यसैले टोल टोल तथा घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिने प्रयास गरेका हौं।”
कार्यक्रमको अर्को मुख्य उद्देश्य ज्येष्ठ नागरिकहरूमा देखिएका स्वास्थ्य समस्या पहिचान गर्नु र त्यसअनुसार स्थानीय तहबाट प्रभावकारी स्वास्थ्य योजना तयार गर्नु रहेको नगर प्रमुख कर्माचार्यले बताए। उनले थपे, “हामीले उहाँहरूको वास्तविक समस्या बुझेर आगामी दिनमा के कस्ता कार्यक्रम ल्याउनुपर्छ भन्ने विषयमा स्पष्ट धारणा बनाउन पनि यो कार्यक्रम सहयोगी बनेको छ ।” कार्यक्रम अन्तर्गत नगरपालिकाले ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूको टोल टोलमा पुगेर स्वास्थ्य परीक्षण गरेको थियो। विशेषगरी ६० वर्षभन्दा माथिका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा मधुमेह, उच्च रक्तचाप, क्षयरोग, मुटु तथा मृगौला सम्बन्धी रोगहरूको परीक्षण गरिएको थियो।
भीरकोट नगर अस्पतालका प्रमुख डा. राजीव झाले शिविरमार्फत विभिन्न स्वास्थ्य सेवा निःशुल्क प्रदान गरिएको जानकारी दिए। उनका अनुसार कार्यक्रममा ब्लड सुगर जाँच, अक्सिजन लेभल परीक्षण, रक्तचाप मापन, मुटु तथा मृगौला सम्बन्धी प्रारम्भिक परीक्षण लगायतका सेवा उपलब्ध गराइएको थियो। उनले भने, “हामीले सकेसम्म स्थानीय स्तरमै उपचार सेवा दिने प्रयास गरेका छौं। जटिल समस्या देखिएका बिरामीलाई भने थप उपचारका लागि अन्य अस्पतालमा सिफारिस गर्ने व्यवस्था गरिएको छ ।” स्वास्थ्य शिविरका क्रममा आवश्यक परेका औषधिहरू समेत नगरपालिकाले निःशुल्क वितरण गरेको जनाएको छ। यसले आर्थिक रूपमा कमजोर ज्येष्ठ नागरिकलाई ठूलो राहत पुगेको स्थानीयहरूले बताएका छन्।
नगरपालिकाका अनुसार हालै सम्पन्न कार्यक्रमबाट ६ सयभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित भएका छन्। धेरैजसो नागरिकले पहिलोपटक घर नजिकै यस्तो प्रकारको स्वास्थ्य सेवा पाएको भन्दै खुसी व्यक्त गरेका छन्। स्थानीय तहबाट सञ्चालन गरिएको यस प्रकारको कार्यक्रमले ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, यसले समुदायमै स्वास्थ्य चेतना अभिवृद्धि गर्न समेत टेवा पुगेको छ।
भीरकोट नगरपालिकाले आगामी दिनमा पनि यस्ता लक्षित कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ। नगर प्रमुख कर्माचार्यले भने, “यो कार्यक्रम सुरुवात मात्र हो। हामी ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर थप प्रभावकारी कार्यक्रम ल्याउनेछौं।” यस कार्यक्रमले स्थानीय सरकारको नागरिकप्रति उत्तरदायित्व र सेवामुखी भावनालाई उजागर गरेको छ। विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सेवा सहज बनाउने दिशामा भीरकोट नगरपालिकाको यो पहल उदाहरणीय मानिएको छ।


प्रतिक्रिया