सिद्धार्थ राजमार्गको कथा— संसदमा उठ्छ, बजेटमा समावेस हुन्छ, तर स्तारोन्नती अन्योलमा
स्याङ्जा ।
२०२९ सालमा राजा विरेन्द्रले विधिवत उद्घाटन गरेपछि शुरु भएको सिद्धार्थ राजमार्ग नेपालकै पुरानो मध्येको एक सडक हो । तराई पहाड जोड्नेगरी निर्माण गरिएको यो राजमार्ग कुनै बेलाको महत्वपुर्ण सडकको रुपमा रहेको थियो । भारतको नाका सुनौली देखी पोखरासम्मको यो राजमार्गले रुपन्देही, पाल्पा सगै तत्कालिन गण्डकी अञ्चल र धौलागिरी अञ्चलका नागरिकको दैनिकी धान्ने सडक पनि हो । पछिल्लो समय सवारीसाधनको चाप बढेपछि साघुरिएको यो राजमार्ग स्तारोन्नतीको लागि प्रत्येक पटकको चुनावी एजेन्डा बन्दै आएपनि अहिले सम्म बन्न सकेको छैन ।
२०६४ सालदेखी २०८२ सालसम्म भएका संविधानसभा निवार्चन र प्रतिनिधिसभा निर्वाचनमा संसदमा यो राजमार्गको बिषय उठान भएपनि यसको स्तरोन्नतीका लागि अहिलेसम्म सरकारको चासो बन्न सकेको छैन । संसदमा कुरा उठ्छ, बजेटमा पनि समेट्ने काम हुन्छ तर सधै स्तरोन्नतीको काम अन्योलमा पर्दै आएको छ । दुई प्रदेश जोड्ने धार्मिक पर्यटकीय देखि व्यपारीक राजमार्ग लामोसमय देखी बन्छ भन्ने आश्वासनले स्याङ्जावासी चिन्तित् देखिएका छन् ।
्फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि यो राजमार्ग सबै दलहरुका घोषणपत्रमा बनाउन पहल गर्ने उल्लेख गरेका थिए । यो पटक मात्रै यसभन्दा अगाडीका निर्वाचनमा पनि सबै राजनीतिकदलहरुले आ—आफ्ना घोषणापत्रमा सिद्धार्थ राजमार्गको स्तरोन्नतकिा लागि पहल गर्ने प्रतिवद्धता जनाएका थिए । तर जुनसुकै राजनीतिकदलको सरकार बनेपनि यो राजमार्ग प्रथामिकतामा पर्न सकेन । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरु भौतिक पूर्वाधार तथा आधारभूत बिषयलाई समेटेर निर्वाचनमा गएका थिए । सवै दलहरुको अत्यधिक चर्चा हुँदै आएको सिद्धार्थ राजमार्गको स्तरोन्नतिको बिषयलाई साझा मुद्दा बनाए पनि अहिलेसम्म प्रथामिकतामा पार्न भने सकेका छैनन् ।
झण्डै ६० वर्ष पुरानो यो मार्ग साँघुरो, घुम्ती र जिर्ण बन्दै गइरहेका कारण हाल कालीगण्डकी करिडोरलगायतका वैकल्पिक मार्गहरूको प्रयोग बढ्दो छ, जसले मार्ग वरपरका बजार ओझेलमा पर्ने स्थानीय चिन्ता बढेको छ ।यो क्षेत्रको विकासको लागि सिद्धार्थ राजमार्ग महत्वपूर्ण रुपमा हेरिन्छ । लामो समय देखि स्त्तरोन्नतीको पर्खाईमा रहेको यो राजमार्गको बिषयले धेरै मतदाताको ध्यान तान्ने गर्दछ । गोपालमान् श्रेष्ठ,पद्मा कुमारी अर्याल, कमल पंगेनी, धनराज गुरुङ, नारायण मरासिनी, राजु थापालाई निर्वाचित गरे पनि राजमार्ग स्तरोन्नति अधुरै रहेको भन्दै गुनासो गर्दै आएका छन् । स्याङ्जाबाट निर्वाचित भएका सांसदहरुल पटक—पटक संसदमा राजमार्गको स्तरोन्नतीको बिषय नउठाएका पनि होइनन् । आर्थिक बर्ष २०८२÷०८३ को बजेटमा राजमार्ग स्तरोन्नतीको काम शुरु हुन्छ भन्ने ढुक्कमा रहेका स्याङ्जावासी जेनजी आन्दोलनअघि तत्कालिन अर्थमन्त्री रहेका विष्णु पौडेलले सिद्धार्थ राजमार्गका लागि बजेटविनियोजन गरेको चर्चा चलेको थियो तर अहिले त्यो यसै सेलाएको छ ।
नेपाली कांग्रेस स्याङ्जाका सभापति तथा पूर्व सांसद राजु थापाले संसदमा रहँदा बारम्बार आफू राजु राजमार्ग स्तरोन्नतिका लागि आवाज उठाउँदै आएको बताए । यो पटकको बजेटमा राजमार्गको काम शुरु हुने थियो सभापति थापाले भने,‘जेनजी आन्दोलनपछि राजमार्ग बन्ने बिषय अन्योलमा प¥यो ।’ जुन पार्टीको सरकार बनेपनि सिद्धार्थ राजमार्गलाई साझा मुद्धा बनाएर सबैदलहरु लाग्नुपर्छ उनले भने ।
स्याङ्जाको आर्थिक मेरुदण्डका रूपमा रहेको सिद्धार्थ राजमार्गलाई ‘डेडिकेटेड टू–लेन’ मा रूपान्तरण गर्ने कार्यलाई मुख्य प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्ने अहिले आवश्यकता रहेको छ । सडक विभागका सूचना अधिकारी शुभाञ्जन दाहालले आगामी २०८३÷०८४ को बजेटमा यो राजमार्ग समिटिनेमा विश्वास व्यक्त गरे ।
यो आर्थिक बर्षमा स्तरोन्नतीका लागि २० करोड बजेट छुट्टीएपनि सरकार परिवर्तनसगै अहिले ओझेलमा परेको दाहालको भनाई छ । यो महत्वपुर्ण सडक हो भनेर नयाँ मन्त्रीलाई पनि भनेका छौं दाहालले भने,‘श्रोत व्यवस्थापनको काम अगाडी बढेको छ ।’ यो पटक पनि संसदमा उठेकाले आउने आर्थिक बर्षमा पक्कै सम्बोधन हुनेछ उनले भने । नेपाली पैसाले बनाउन सकिन्छ वा बिदेशी सहयोग लिने भन्ने बिषय अझै छलफलको क्रममा रहेको दाहालको भनाई छ । बिशेषगरी अहिले चाइना कम्पनी वा विश्व बैंकका बिषय छलफल भएको उनले भने,‘चाइना भन्दा विश्व बैंकले केही सस्तोमा बनाइदिने बिषयमा छलफल भइरहेको छ ।’ जे सुकै भएपनि यो महत्वपुर्ण सडक हो अवको आर्थिक बर्षको बजेटमा कार्यालय खोल्ने सम्मको भएपनि काम शुरु हुन्छ उनले भने ।
सडक विभागको कुराकानीमा अवको दुईबर्ष भित्र सिद्धार्थ राजमार्गको स्तरोन्नतीको काम शुरु हुने विश्वास लिइएको छ । तर अवको सरकारले यो सडकलाई प्रथामिकतामा राख्छ वा राख्दैन त्यो भने हेर्न बाँकी छ । अहिले पनि प्रथामिकतामा यो सडक परेन भने राजमार्ग बन्ने बिषय सधैका लागि ओझेलमा पर्ने सम्भावना बढ्ने देखिन्छ ।


प्रतिक्रिया