आगामी बजेटलाई जनमुखी बनाउन भीरकोटद्वारा सुझाव सङ्कलन पोर्टल सञ्चालन

अमृत अर्याल

भीरकोट ।

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटलाई थप जनमुखी, पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्यका साथ स्याङ्जाको भीरकोट नगरपालिकाले ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा ल्याएको छ। स्थानीय सरकारको योजना तथा बजेट निर्माण प्रक्रियामा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न नगरपालिकाले यो नयाँ डिजिटल प्रणालीको सुरुवात गरेको हो। नगरपालिकाले सार्वजनिक गरेको उक्त पोर्टलमार्फत स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिक, विषयविज्ञ, नीति विश्लेषक, अनुसन्धानकर्ता तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूले आफ्ना राय, सुझाव र अवधारणाहरू सिधै स्थानीय सरकारसमक्ष पेस गर्न सक्ने व्यवस्था गरिएको छ। यसले नीति तथा कार्यक्रम निर्माण प्रक्रियामा नागरिकको आवाजलाई प्रभावकारी रूपमा समेट्न सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ।

भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले स्थानीय तहको विकास र समृद्धिका लागि जनसहभागिता अपरिहार्य रहेको बताउँदै सुझाव सङ्कलन पोर्टल त्यसैको एक महत्वपूर्ण माध्यम भएको जानकारी दिए। उनका अनुसार “स्थानीय सरकार जनताकै सरकार भएकाले नीति तथा कार्यक्रम निर्माणमा नागरिकको सहभागिता सुनिश्चित हुनुपर्छ,” प्रमुख प्रशासकीय अधिकृत लम्सालले भने, “यसै उद्देश्यले हामीले सुझाव सङ्कलनका लागि छुट्टै डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याएका हौँ। यसबाट प्राप्त हुने सुझावहरूले नगरको विकास प्राथमिकता निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छौँ।” उनले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै स्थानीय सरकारका सेवाहरूलाई पनि क्रमशः डिजिटल माध्यममा रूपान्तरण गर्दै लगिएको बताए। सुझाव सङ्कलन पोर्टलले नगरपालिकालाई नागरिकका अपेक्षा र आवश्यकताबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सहज बनाउने उनको भनाइ छ।

नगरप्रमुख गोविन्द कुमार कर्माचार्यका अनुसार आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम निर्माणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगार, उद्यमशीलता, वातावरण संरक्षण, सामाजिक सुरक्षा तथा सुशासनलगायत विविध क्षेत्रसँग सम्बन्धित सुझावहरू सङ्कलन गरिनेछ। प्राप्त भएका सुझावहरूको अध्ययन, विश्लेषण तथा मूल्याङ्कन गरी सान्दर्भिक र व्यवहारिक सुझावहरूलाई आगामी नीति, कार्यक्रम तथा बजेटमा समावेश गरिने जनाइएको छ। कार्यक्रम तयार पार्ने क्रममा नागरिक, विज्ञ र सरोकारवालाको अनुभव, ज्ञान तथा सुझावलाई समेत समेट्ने लक्ष्य राखेको छ।

स्थानीय सरकारको योजना निर्माण प्रक्रियामा आम नागरिकको सहभागिता बढाउने उद्देश्यले सञ्चालनमा ल्याइएको यो पोर्टलले नगरवासी र स्थानीय सरकारबीचको सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। साथै, विदेशमा रहेका भीरकोटवासी तथा विभिन्न क्षेत्रका विज्ञहरूले समेत आफ्नो अनुभव र ज्ञान स्थानीय विकासमा उपयोग गर्न सक्ने अवसर प्राप्त गर्नेछन्। नगरपालिकाले बजेट तथा नीति निर्माण प्रक्रियालाई थप समावेशी, उत्तरदायी र परिणाममुखी बनाउन नागरिकबाट प्राप्त सुझावहरूलाई उच्च प्राथमिकताका साथ अध्ययन गरिने जनाएको छ। यसले स्थानीय तहको विकास योजनालाई वास्तविक आवश्यकता र जनअपेक्षासँग जोड्न मद्दत पुग्ने विश्वास गरिएको छ।

नगरपालिकाका अनुसार इच्छुक नागरिक तथा सरोकारवालाले आधिकारिक सुझाव सङ्कलन पोर्टलमार्फत आफ्ना विचार, अवधारणा तथा सुझावहरू दर्ता गराउन सक्नेछन्। नगरपालिकाले सबै पक्षलाई सक्रिय सहभागिताका लागि आग्रह गर्दै आगामी नीति तथा कार्यक्रम निर्माणलाई साझा अभियानका रूपमा अघि बढाउने जनाएको छ। स्थानीय तहमा सुशासन, पारदर्शिता र नागरिक सहभागितालाई संस्थागत गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यो पहललाई भीरकोट नगरपालिकाको नवीन अभ्यासका रूपमा हेरिएको छ। नगरवासीका आवश्यकता र अपेक्षालाई प्रत्यक्ष रूपमा नीति तथा कार्यक्रमसँग जोड्ने प्रयासस्वरूप सुरु गरिएको सुझाव सङ्कलन पोर्टलले आगामी बजेटलाई अझ प्रभावकारी, जनउत्तरदायी र विकासमुखी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया