सिद्धार्थ राजमार्ग स्तरोन्नति हुने ‘द्रुतमार्ग बन्दै’

प्रकाश डोटेल,
स्याङ्जा ।

आउँदो वर्षको बजेटमार्फत सरकारले पोखरा–बुटवलजोड्ने सिद्धार्थ राजमार्गलाई द्रुतमार्गका रूपमाविकास गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमाशुक्रबार आगामीआर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुतगर्दै अर्थमन्त्रीडा. स्वर्णिम वाग्लेले द्रुतमार्ग बनाउने घोषणागरेका हुन् ।

घोषणा अनुसार राजमार्गको स्तरोन्नति र विस्तारको काम यसै वर्ष सुरु गरिनेउनले बताए । डा. वाग्लेले सिद्धार्थ राजमार्गलाई आधुनिक सडकबनाउने योजनाअघि सारे पनि बजेटको निश्चित रकम भने उल्लेख गरेका छैनन् । बजेटमा रकम उल्लेख नभएपनि द्रुतमार्ग बन्नेमा राजमार्ग आसपासका स्थानीय आशावादी छन् ।

सिद्धार्थ राजमार्गसँगै चर्चित सिद्धबाबा सुरुङमार्गको कामपनि यसै वर्ष सकिने भएको छ । डा. वाग्लेले उक्त सुरुङमार्ग निर्माणकार्य यहीवर्ष सम्पन्न हुने जानकारी दिए । सिद्धबाबा खण्डको जोखिम अन्त्य गर्न सुरुङमार्गले ठूलो सघाउ पु¥याउने विश्वास गरिएको छ । सिद्धबाबा सुरुङमार्ग पूरा भएपछि पाल्पा र बुटवलखण्डको यात्रा सुरक्षित र भरपर्दो हुनेछ ।

पोखरादेखि बुटवलसम्मको सिद्धार्थ राजमार्गको लम्बाइझण्डै १ सय ८० किलोमिटर छ । पहाडी भूगोलका कारण राजमार्ग निकै साँघेरो र घुमाउरो छ । यसलाई द्रुतमार्ग बनाउँदा हालको दूरी निकै घट्ने सम्भाव्यता अध्ययनले देखाएको छ । सरकारले यसअघि नै सडकको विकल्प र सुरुङमार्गका बारेमा प्राविधिक अध्ययन गराएको थियो । नयाँ प्रविधिप्रयोग गरेर सडकको दूरी छोट्याउने र यात्रा सहजबनाउने सरकारको लक्ष्य छ ।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले सिद्धार्थ राजमार्गको पोखरा–बुटवलखण्डको सुधारका लागि एसियाली पूर्वाधार विकास बैंक (एआइआइबी) बाटप्राप्त २० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको थियो । गएको माघ ९ गतेको मन्त्रिपरिषद् बैठकले राजमार्गको सुधार आयोजना तयारीका लागि उक्त वैदेशिक अनुदान लिने निर्णय गरेको हो । राजमार्गको स्तरोन्नतिका लागि आवश्यक तयारी र अध्ययनमा रकम परिचालन गरिनेछ ।

केहि समय अघि वन तथा वातावरण मन्त्रालयले पोखरा–बुटवल सडक स्तरोन्नति परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन सार्वजनिक गरिसकेको छ । प्रतिवेदन अनुसार राजमार्गको स्तरोन्नतिका लागि १९ अर्ब ७५ करोड ९० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले बताए ।

४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा ९ अर्ब ३७ करोड २० लाख रुपैयाँ पुल र सुरुङ निर्माणमा मात्रै खर्च गरिने प्रस्ताव छ । स्तरोन्नतिपछि सडकको चौडाइ ५० मिटरसम्म पुग्नेछ । सडकका दुवैतर्फ १.५ मिटरको सोल्डर र १ मिटरको नाली रहने प्रतिवेदनमा उल्लेख छ ।

भारतीय आर्थिक सहयोगमा २०२२ देखि निर्माण सुरु भई २०२८ मा सम्पन्न भएको १८० किलोमिटर लामो राजमार्गको उद्घाटन २०२९ वैशाखमा तत्कालीन राजा वीरेन्द्रले पोखरामा गरेका थिए । हाल राजमार्ग साँघुरो सडक र घुम्तीका कारण जोखिमपूर्ण मानिन्छ । विशेष गरी स्याङ्जा, वालिङ, बजार र आसपासको खण्डमा दुई लेनको सडक, फुटपाथ र नाली नहुँदा पैदलयात्री र सवारी चालकले सास्ती खेप्दै आएका छन् । राजमार्गमा ३४ वटा पुल छन् भने कालीगण्डकी नदी माथिको राम्दीपुल सबैभन्दा लामो र जीर्ण अवस्थामा छ, त्यसको बिकल्पमा नयाँ पुल बनिरहेको छ ।

नयाँ योजना अनुसार सडकका घुम्तीहरू घटाउन ३८ ठाउँमा पुल संरचना (भायाडक्ट), ५ ठाउँमा सुरुङमार्ग र बाइपासको प्रस्ताव गरिएको छ । स्याङ्जाको भालुपहाड, रामकोष, विष्णु पँधेरामा ५ सय मिटर भन्दा कम लम्बाइका सुरुङ बनाउने गरी सडकको डिजाइन गरिएको छ । यसले यात्रालाई सुरक्षित र छोटो बनाउने विश्वास गरिएको छ । विस्तृत इन्जिनियरिङ अध्ययन अनुसार सडकको ढलान, घुम्तीको अर्धव्यास र सडकको सतह नेपाल सरकारको मापदण्ड अनुरूप हुनेछ ।

प्रतिवेदन अनुसार सडक विस्तारका क्रममा ५४.१२ हेक्टर जग्गा आवश्यक पर्नेछ । यस अन्तर्गत ४१.४२ हेक्टर खेतीयोग्य जमिन र १२.१८ हेक्टर वन क्षेत्र रहेको छ । आयोजनाका कारण २ हजार ९ सय ८२ वटा रूख काटिने छन् भने ३ सय ५५ घरधुरी प्रत्यक्ष प्रभावित हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै २१ संस्थागत भवन, ४५ वटा बस बिसौनी, २३ वटा सार्वजनिक धारा र १३ वटा मठ–मन्दिरमा क्षति पुग्ने अनुमान गरिएको छ ।

पोखरा–बुटवल जोड्ने राजमार्ग व्यापारिक र पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । द्रुतमार्ग निर्माण भएपछि दुई सहरबीचको यात्रा समय आधाभन्दा धेरैले घट्नेछ । सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्ने कुरा पटकपटक आएपनि बजेटको अंक नतोकिँदा स्थानीय बासिन्दापूर्ण आश्वस्त हुन सकेका छैनन् । यद्यपि यस अघि अध्ययनका लागि एआइआइबीको सहयोग स्वीकार गर्नु र बजेटमा समेटिनुले केही आशा जगाएको स्थानीय कुलानन्द लम्सालले बताए ।

राजमार्ग द्रुतवमार्ग बनेमा तराइ–पहाड जोड्ने देशकै छोटो राजमार्गले हजारौ नागरिकलाई स्वरोगार बनाउने विश्वास गरिएको छ । नेपाल–भारतको सिमना सुनौलीबाट भित्र्ने हजारौं भारतीय सवारी साधनका यात्रुहरु बुटवल–पाल्पार स्याङ्जा–पोखरा हुँदै मुक्तिनाथ दर्शन गर्न पुग्नेछन् । राजमार्गको स्तरोन्नति भएमात्रै प्रदेशको आयआर्जनमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया