सार्वजनिक भयो वालिङको नीति तथा कार्यक्रम
वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ‘समुन्नत वालिङ, सुखी वालिङवासी’ को मूल नारासहित विस्तृत नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। कृषि, प्रविधि र पर्यटनलाई विकासको प्रमुख आधार बनाउँदै नगरपालिकाले स्मार्ट सिटीको अवधारणालाई थप सशक्त बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम अघि सारेको हो। २०औँ नगरसभामा नगर प्रमुख कृष्ण खाँणले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आधुनिक प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई नागरिकमुखी, पारदर्शी र प्रभावकारी बनाउँदै प्रविधिमैत्री नगर निर्माण गर्ने सङ्कल्प गरिएको छ। नेपालको संविधान, सोह्रौँ योजना, दिगो विकास लक्ष्य तथा गण्डकी प्रदेश सरकारका नीति तथा कार्यक्रमलाई आधार मानेर तयार पारिएको दस्ताबेजले सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै नागरिकका अपेक्षा सम्बोधन गर्ने लक्ष्य लिएको छ।
नीति तथा कार्यक्रममा वालिङलाई आत्मनिर्भर, सुरक्षित, समावेशी र संस्कारित नगरका रूपमा विकास गर्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरिएको छ। भौतिक पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, वातावरण तथा सुशासनलाई समान प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ। यस वर्षको नीति तथा कार्यक्रमको विशेष आकर्षणका रूपमा आर्थिक पारदर्शिता र सुशासनलाई जोड दिइएको छ। नगरपालिकाले राजश्व भुक्तानीमा पूर्ण रूपमा ‘शून्य नगद कारोबार’ को नीति अवलम्बन गर्ने घोषणा गरेको छ। यसबाट आर्थिक कारोबारलाई पारदर्शी र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।
स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन कृषि र उद्यमशीलतालाई सँगसँगै अघि बढाइने भएको छ। नगरभित्र उत्पादित वस्तु तथा सेवाको प्रवर्द्धनका लागि ‘वालिङको उत्पादन’ नामक छुट्टै ब्राण्ड विकास गरिने नीति लिइएको छ। यसबाट स्थानीय उत्पादनको बजार विस्तार र किसान तथा उद्यमीलाई प्रोत्साहन पुग्ने विश्वास गरिएको छ। महिला तथा युवालाई आर्थिक रूपमा सशक्त बनाउन विभिन्न लक्षित कार्यक्रम सञ्चालन गरिने भएको छ। महिलाहरूका लागि ब्याज अनुदानमा ‘उपमेयरसँग उद्यमी आमा’ कार्यक्रम सञ्चालन गरिनेछ भने युवा पुस्तामा नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्न ‘युवा स्टार्टअप कोष’ स्थापना गरिनेछ। त्यस्तै, वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वदेशमै उद्यमशील बन्न प्रेरित गर्न ‘श्रमदेखि उद्यमसम्म’ कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
विकास निर्माणका कार्यलाई व्यवस्थित, दिगो र परिणाममुखी बनाउन ‘योजना बैंक’ को अवधारणालाई कार्यान्वयनमा ल्याइने नगरपालिकाले जनाएको छ। यसबाट योजनाहरूको प्राथमिकता निर्धारण, स्रोत व्यवस्थापन तथा दीर्घकालीन विकास रणनीति निर्माणमा सहजता आउने विश्वास गरिएको छ। स्मार्ट सिटीको अवधारणालाई थप विस्तार गर्दै नगरपालिकाले शिक्षा, स्वास्थ्य र सेवा प्रवाहमा नवीनतम प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छ। विद्यालयहरूमा ‘एआई सिकाइ सप्ताह’ सञ्चालन गरिने, शिक्षामा गुणस्तर सुधार गर्न स्वयंसेवक शिक्षकको व्यवस्था गरिने तथा युवा नवप्रवर्तनलाई प्रोत्साहन गर्न ‘सूचना प्रविधि नवप्रवर्तन केन्द्र’ स्थापना गरिने नीति लिइएको छ।
स्वास्थ्य क्षेत्रलाई पनि प्रविधिसँग जोड्दै नगरपालिकाले ‘कोखदेखि शोकसम्म नागरिकको साथमा स्थानीय सरकार’ भन्ने अवधारणाअनुसार घरदैलो स्वास्थ्य सेवालाई विस्तार गर्ने भएको छ। क्षयरोगको प्रारम्भिक पहिचानका लागि कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरिने र स्वास्थ्य सेवाको अनुगमन तथा व्यवस्थापनका लागि ‘वालिङ स्वास्थ्य ड्यासबोर्ड’ सञ्चालनमा ल्याइने कार्यक्रम रहेको छ। पूर्वाधार, वातावरण र पर्यटन क्षेत्रलाई समेत नगरपालिकाले विशेष प्राथमिकता दिएको छ। वालिङ–४ मा रहेको खाल्टे झरनालाई अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुसार पूर्वाधार निर्माण गरी प्रमुख क्यान्योनिङ गन्तव्यका रूपमा विकास गरिने नीति लिइएको छ। यसबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन भई स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
फोहोरमैला व्यवस्थापनलाई दिगो र प्रभावकारी बनाउन स्रोतबाटै फोहोरको वर्गीकरण गरिने तथा कुहिने फोहोरबाट जैविक मल उत्पादन गर्ने ‘फोहोरबाट मोहर (फोहोरबाट नगद)’ अभियानलाई थप प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ। यसले वातावरण संरक्षणसँगै स्थानीय स्तरमै आयआर्जनका अवसर सिर्जना गर्ने विश्वास गरिएको छ। न्यायमा नागरिकको सहज पहुँच सुनिश्चित गर्न ‘नागरिकसँग न्यायिक समिति’ कार्यक्रम सञ्चालन गरिने भएको छ। यसअन्तर्गत टोल–टोलमा पुगेर कानुनी सचेतना अभिवृद्धि गर्ने, मेलमिलापलाई प्रोत्साहन गर्ने तथा लैङ्गिक हिंसा न्यूनीकरणका अभियान सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
नगर प्रमुख खाँणले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कृषि, प्रविधि, पर्यटन, शिक्षा, स्वास्थ्य र सुशासनलाई एकीकृत रूपमा अघि बढाउँदै वालिङलाई आधुनिक, आत्मनिर्भर र नागरिकमैत्री नगरका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। सीमित स्रोतसाधनबीच पनि नवप्रवर्तन, पारदर्शिता र सहभागितामूलक विकासलाई केन्द्रमा राखेर तयार पारिएको यो नीति तथा कार्यक्रमले आगामी आर्थिक वर्षमा वालिङको विकास यात्रालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया