सरकारी सवारी साधन प्रहरी नियन्त्रणमा

स्याङ्जा ।
दुरुपयोग गरिएका सरकारी मोटरसाइकल र गाडी जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नियन्त्रणमा लिएको छ । बिदाको दिन सरकारी सवारी चलाएको तथा आम नागरिकबाट सरकारी सवारी साधनको दुरुपयोग भइरहेको जनगुनासो आएपछि शनिबार प्रहरीले सवारी साधन नियन्त्रणमा लिएको हो । बिदाको दिनमा पनि सरकारी सवारी चलाउने तथा गैर कर्मचारीले सरकारी सवारी प्रयोग गर्ने गरेको पाईएको छ । आम स्थानीय तहका जनप्रतिनिधि तथा कर्माचारीले नागरिक बिरामी हुँदा उपचार गर्ने एम्बुलेन्स नभएको ठाउँमा करोडौं सरकारी रकम खर्चेर मोटरसाइकल तथा गाडी किनेका छन् । ठूलो रकम खर्चेर दुई पांग्रेदेखि चार पांग्रे सवारी साधन खरिद गरेका कर्मचारी तथा जनप्रतिनिधिहरुले त्यसको दुरुपयोग गरिरहेको नागरिकले गुनासो गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाका अनुसार शनिबार मात्रै झण्डै आधा दर्जन सरकारी सवारी कारवाहीमा परेका छन् । थापाले भने, ‘यदि कार्यालयको काम परे जिल्ला प्रशासनबाटै अनुमति लिनुपर्छ ।’ नियम उल्लंघन गरी बिदाको दिनमा पनि संञ्चालन भएका सरकारी सवारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । शनिबार चलेका ५ वटा सरकारी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिदाको दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाका अनुसार बिरुवा गाउँपालिकाका दुई मोटरसाइकल, शिक्षा कार्यालयको एउटा मोटरसाइकल, गल्याङ नगरपालिकाको चार पांग्रे सवारी साधन र पर्वतको पैयँु गाउँपालिकाको चार पांग्रे सवारी साधन नियन्त्रणमा लिइएको हो । शनिबार नियन्त्रणमा लिइएका सरकारी सवारी साधन सोमबार मात्रै आवश्यक प्रक्रिया पूरा गरेर फिर्ता गरिने उनले जानकारी दिए ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय भई यही जेठ १ गतेदेखि लागू भइसकेकाले सार्वजनिक बिदाको दिनमा प्रशासन कार्यालयबाट जारी भएका पासबाहेकका सरकारी सवारी साधन सञ्चालन नगर्न नगराउन अनुरोध गरिएको छ । प्रहरीले सार्वजनिक विदाको दिन अनुमति विना चलेका सरकारी सवारी साधन नियन्त्रणमा लिने अभियान नै थालेको छ ।

प्रतिक्रिया