भीरकोटका टोल–टोलमा सुरक्षा भत्ता लिएर पुगे जनप्रतिनिधि

भीरकोट ।
भीरकोट नगरपालिकाले वडाको टोल टोलमै गएर सामाजिक सुरक्षा भत्ता बाड्न सुरु गरेको छ । पहिलो चरणमा वडा नं. ७ बाट भत्ता वितरणको काम थालिएको छ । यसले गर्दा भत्ता लिन बैंक सम्म पुग्न निकै सकस हटेको छ । जिपमा कोचिएर बल्ल बल्ल बैंक पुगे पछि लामो लाईनमा बस्नु पर्ने अवस्थाको अन्त्य भएकोमा सेवाग्राही खुशी छन् । घरदैलोमा भत्ता पाउने व्यवस्था मिलाईदिएकोमा बृद्धहरु खुशी देखिन्छन् । अहिले नयाँ आएका जनप्रतिनिधिले बृद्धहरुको घरमै भत्ता बुझ्न पाउने आशा पुरा गरिदिएका छन । मंगलबार नगरप्रमुख गोविन्द कुमार कर्माचार्य, उपप्रमुख भगवती रेग्मी अर्याल र वडाध्यक्ष तारा प्रसाद अर्याल वडा नं. ७ का टोल टोलमा पुगेर भत्ता वितरण गरे । नगर प्रमुख नै समय तालिका बनाएर सामाजिक सुरक्षा भत्ता लिएर टोल–टोलमा पुगेपछि सेवाग्राहीहरु निकै हर्षित भएको वडाध्यक्ष अर्यालले बताए ।
गाउँमै भत्ता ल्याएर बृद्धबृद्धालाई गुन लगाएको सेवाग्राहीको भनाई छ । जनप्रतिनिधि घरदैलोमा आएर भत्ता दिदा पहिलो पटक गाउँमा सरकार आएको अनुभुती गरेको उनीहरु बताउछन् । नगरपालिकाले मुक्तिनाथ विकास बैकसगँ सहकार्य गर्दै पहिलो पटक गाउँमै पुगेर जेष्ठनागरिकलाई सामाजिक सुरक्षा भत्ता बितरण गरेको हो । निर्वाचनको क्रममा जनतासगँ गरेका बाचा पुरा गर्ने अनुरुप यो पहिलो अभियान भएको नगर प्रमुख कर्माचार्यले बताए । पहिलो चरणमा ७० बर्ष भन्दा माथिकालाई र अन्य सामाजिक सुरक्षा पाउने व्याक्तिहरु अर्थात् अपाङ्ग, एकल महिला लगायत सबैलाई टोलमा भत्ता बितरण गरेको बताए । थोरै भत्ता लिनको लागी दुख, समय र रकमको खर्च भएको बताउदै कर्माचार्यले गाउँमै भत्ता बितरण गर्दा आमाबुवाहरुलाई सहज भएको बताए ।
सबै वडामा पुगेर हरेक तीत तीन महिनामा सामाजिक सुरक्षा भत्ता बाड्ने योजना बनाएका छौं कर्माचार्यले भने,‘अबको तीन महिना पछि सबैलाई टोलमै पुगेर भत्ता बितरण गर्नेछौं ।’ पालिकामा पहिलो पटक आफु जनप्रतिनिधी भएपछि सामाजिक सुरक्षाभत्ता गाउँमा पुगेर बितरण गर्नुपर्छ भन्ने उदेश्य अनुरुप बैंक सगँ समन्वय गरेर घरदैलोमा पुगेको उनले बताए । जनताको घरमा पुगेपछि समस्या पनि बुझन पाईने र सामाजिक भत्ता पनि वितरण हुने जसले जनताको हितमा काम हुने विश्वास आफुले लिएको वडाध्यक्ष तारा प्रसाद अर्यालले बताए । भीरकोटमा निर्वाचनसगै जनताको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने वडा नं. ७ पहिलो हो ।
प्रतिक्रिया