छोरीको हत्या आरोपमा आमा पक्राउ

स्याङ्जा ।
जिल्लाको गल्याङ नगरपालिकामा ६ महिनाकी बालिका हत्या गरेको आरोपमा आमासहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामपुर नगरपालिका १० कुमाल गाउँ बस्ने २२ वर्षीय केदार कुमाल र गल्याङ नगरपालिका २ इलुङगा बस्ने मिन बहादुर रानाको श्रीमती २२ वर्षीय लक्ष्मी राना रहेकी छन् । लक्ष्मी राना ६ महिनाकी बालिकाको आमा हुन् ।
उनीहरु दुवै जनालाई साउन २० गते दिउँसो १ बजे गल्याङ नगरपालिका ३ गल्याङ बजारबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । नियन्त्रणमा लिएका दुबै जनालाई ज्यान सम्बन्धि कसूरमा मुद्धा दर्ता गरिएको प्रहरीले बताएको छ ।
साउन १० गते लक्ष्मी रानाले घरमा कोही कसैलाई नसोधि ६ महिनाको छोरी लिएर हिडेपछि सम्पर्क बिहिन भएकी थिइन् । बुहारी र नातिनी सम्पर्क बिहिन भएपछि निजको ससुराले साउन १२ गते प्रहरीकोमा निवदेन दिएका थिए । निवेदनमा बुहारी लक्ष्मी रानाले पाल्पा, रामपुर नगरपालिका १० कुमाल गाउँ बस्ने २२ वर्षीय केदार कुमालसँग भागि बिवाह गरेको बताइएको थियो ।
प्रहरीले यही सूचनाको आधारमा खोजतलास गर्दा साउन २० गते दिउँसो १ बजे गल्याङ नगरपालिका ३ गल्याङ बजारमा फेला पारी दुवै जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिई अनुसन्धान गर्दा निज महिलाले ६ महिनाको छोरीलाई साउन १० गते राति १२ बजे निजको अस्थायी ट्वाईलेटको खाल्टोमा फाली गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । प्रहरीले खोजतलास गर्दै जाँदा सोही स्थान (खाल्टो) मा सडेगलेको अवस्थामा बच्चाको लास फेला परेको जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
‘मैले त नातिनी कता लगी ? भनेर चिन्तित थिएँ । उनलाई त मारेर ट्वाईलेटको खाल्डोमा फालेका रहेछन् ।’ लक्ष्मीका ससुराले भने । कम्तीमा नातिनीको शव देख्न पाएको भन्दै लक्ष्मीको ससुराले हत्यारालाई कडा कारवाही हुने विश्वास व्यक्त गरे । ‘नातिनी मारिएको जानकारी पाएपछि स्तब्ध त भएको छु नै । तर मार्नेलाई कारवाही गराउने गरी प्रहरीले अनुसन्धान गर्छ भन्ने विश्वास लिएको छु’ उनले भने ।
प्रतिक्रिया