आर्थिक उपार्जनका लागि कृषक लक्षीत कार्यक्रम

पब्लिक आवाज
भीरकोट ।
जिल्लाको भीरकोट नगरपालिकाले आर्थिक उपार्जनका लागि कृषक लक्षीत कार्यक्रम संचालन गर्ने भएको छ । कार्यक्रम अन्तर्गत बंगुर, बाख्रा र सुन्तलाको क्षेत्रमा लगानी गर्ने पालिकाले जनाएको छ । नगरपालिकाका नौवटै वडामा आर्थिक र सामाजिक हिसाबले पछाडि परेकालाई स्वावलम्बी बनाउने लक्ष्यसहित पालिकाले पकेट कार्यक्रम सुरु गरेको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेश पोखराबाट विनियोजन भएको १ करोड ४० लाख र नगरपालिकाबाट ६० लाखको लागत साझेदारीमा चालु आर्थिक वर्ष २०७९÷८० को सुरुआत चरणबाट कार्य थालिएको भीरकोट नगरपालिकाका प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । पालिकाका नौवटै वडामा वडावासीको माग तथा त्यहाँको सम्भावनाका आधारमा बंगुर, बाख्रा र सुन्तला पकेट कार्यक्रम सञ्चालन गरिने भएको हो ।
बंगुर, बाख्रा तथा सुन्तला पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम पनि २५ परिवार आबद्ध भएको समूह आवश्यक पर्छ । नगरपालिकाले बंगुर पकेट कार्यक्रमका लागि २५ परिवार आबद्ध रहेको दुई समूह, बाख्राका लागि २५ परिवार आबद्ध रहेको तीन समूह र सुन्तलाका लागि २५ परिवार आबद्ध रहेको दुई समूहलाई वडा÷वडामा छनोट गर्न लागेको कर्माचार्यले बताए । “विशेष गरी आर्थिक र सामाजिक हिसाबले पछाडि परेका महिला, दलित तथा अतिविपन्न समुदायलाई आर्थिक उपार्जनसँग जोड्दै स्वावलम्बी बनाउने लक्ष्यसहित कार्यक्रम निर्धारण गरिएको हो” नगर उपप्रमुख भगवती रेग्मी अर्यालले भनिन्, “यो कार्यक्रमबाट न्यूनतम पनि १ सय ७५ परिवार प्रत्यक्ष लाभान्वित हुनेछन् ।”
बंगुर र बाख्रा पकेट कार्यक्रम सञ्चालन भएका ठाउँका किसानलाई वस्तुगत सहायता, यन्त्र उपकरण, खोर निर्माण, औषधि, प्राविधिक सहयोग, बंगुर तथा बाख्राका पाठापाठी, माउ उपलब्ध गराउनुका साथै आवश्यक तालिम प्रदान गरिनेछ । सुन्तला पकेटका लागि सुन्तलाका बिरुवा, कीटनाशक औषधि, मलखाद, सिँचाइका उपकरण, टिप्ने र काट्ने औजार तथा तालिम दिइने प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।
भीरकोट नगरपालिकाका वडा नं १, २, ५, ६, ८ र ९ मा बंगुर पकेट, २, ३, ४, ६, ७, ८ र ९ मा बाख्रा पकेट तथा वडा नं १ र ७ मा सुन्तला पकेट निर्धारण गरी कार्य थालिएको हो । नगरपालिकाले चालु आवका लागि कृषिलाई प्राथमिकतामा राखेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश पोखरा, भीरकोट नगरपालिका र युएनडिपीको साझेदारीमा झण्डै ६ करोड विनियोजन गरेको भुसालले बताए ।
प्रतिक्रिया