आर्थिक संकटमा वालिङ क्याम्पस, कानुन विपरीत दोहोरो सुविधामा प्रध्यापक

वालिङ ।
जनस्तरबाट संचालन गरिएको नेपालकै जेठो र स्याङ्जाकै अग्रणी शैक्षिक संस्था वालिङ बहुमुखी क्याम्पस बार्षिक घाटा व्यहोर्न बाध्य भएको छ । सरकारले कोरोना संक्रमणका कारण दुईबर्ष अगाडी गरेको लकडाउनले पठनपाठन ठप्प भएपछि विद्यार्थीबाट उठाउदै आएको क्याम्पसले शुल्कमा छुटदिनु पर्ने बाध्यता आइपरेपछि क्याम्पसमा आर्थिक संकट देखा पर्न थालेको हो । क्याम्पसको आयभार नहेरी संचालकले गर्ने निर्णयका कारण पनि अर्को आर्थिक संकट परेको बताइएको छ । क्याम्पसको आय भनेकै विद्यार्थीको शुल्क हो । विद्यार्थी संख्या घट्नु र बढ्नुले क्याम्पसको आर्थिक कारोवारको मुल्याङकन हुने गर्दछ । बाहिर आएजस्तै क्याम्पसमा आर्थिक संकट नभएको क्याम्पस प्रमुख सचिदानन्द यादवले दावी गरे । क्याम्पसमा आर्थिक व्ययभार घट्ने र बढ्ने भइरन्छ क्याम्पस प्रमुख यादवले भने,‘क्याम्पसको आर्थिक मुख्य स्रोत भनेको विद्यार्थीको संख्यामा निर्भर रहन्छ ।’ विद्यार्थी बढ्दा आर्थिक बढ्छ, विद्यार्थी घट्दा आर्थिक घट्छ यो क्रम चलिरहने हो उनले भने । गएको आर्थिक बर्षको असार मसान्त सम्म क्याम्पसको आर्थिक व्ययभार हेर्दा क्याम्पस घाटामा रहेको उनले बताए ।
राजनीतिक अखडाले जेलिएको क्याम्पसमा आफु अनुकुल निर्णय गर्ने संचालकको परिपाटीले विगतबर्ष देखिनै क्याम्पस अफठ्यारोमा पर्दै आएको बताइएको छ । क्याम्पसमा जति अफठ्यारो परेपनि यो बिषय बाहिर आएको थिएन । कोरोना संक्रमणले पठनपाठन ठप्प हुनु, क्याम्पसमा भौतिक संरचना निर्माणको चरण बढ्नु र केही प्रध्यापकले दशैभत्ता देखी अन्य सुविधा लिनु लगायतले क्याम्पसलाई बिस्तारै ओरालो तर्फ धकेलेको संचालकहरुको भनाई छ । यो बिषय अहिले सामाजिक सञ्जाल देखि चोक चोकमा क्याम्पसमा भएको अनियमितताका खबरहरु बाहिर आउन थालेका छन् ।

विगतमा प्रध्यापक नियुक्ति देखि सरकारी स्कुलमा स्थायी भएका शिक्षकहरुको दोहोरो सुविधाले विवादमा आएको क्याम्पस राजनीतिक आडमा सुल्झाइएको थियो । राजनीतिक आडमा अनियमितता ढाकछोप गरेकै कारण क्याम्पसमा समस्या बल्झदै आएको संचालकहरुको भनाई छ । पछिल्लो समय क्याम्पसको संचालक समितिको अध्यक्षमा हुमकान्त कोइरालाको टिम आएपछि (स्थायी शिक्षक) प्रध्यापकहरुले दशैं भत्तामा दोहोरो सुविधा लिएको विषय पुन बाहिर आएको छ । क्याम्पसको विद्यानत काम गर्न प्रध्यापकहरुलाई सुझाउदा प्रध्यापकहरु नमानेपछि सो विवाद बाहिर आएको बताइएको छ । सरकारी विद्यालयमा स्थायी भएर करारमा क्याम्पसमा अध्यपन गराउने प्रध्यापकहरुले दशैभत्ता लिदै आएको क्याम्पस प्रमुखले स्विकार गरेका छन् । सरकारी विद्यालयको शिक्षकमा स्थायी भएका प्रध्यापकले दोहोरो दशैभत्ता लिन हुदैन भन्ने किन सुझाउनु भएन भन्ने हाम्रो प्रश्नमा क्याम्पस प्रमुख यादवले यो विगतबर्ष देखिनै लिदै आएको बताए । उनले भने संचालक समितिले निर्णय गरे अनुसार उहाँहरुले दशैंभत्ता लिदै आउनु भएको छ । अहिले क्याम्पसमा दोहोरो सुविधा लिने प्राध्यापकहरुमा यामवहादुर कुँवर, छविलाल अर्याल, तेजवहादुर आले, तोयानाथ कोइराला, गोपालधन सुवेदी, पदमपानी काफ्ले, विनोद खनाल, अमृत खनाल, टोलप्रसाद लुईटेल, खेमराज देवकोटा, चिरन्जिवी अर्याल लगायत छन् । उनीहरु सबै सरकारी विद्यालयका प्रधानाध्यापकदेखि स्थायी शिक्षक हुन् । एकजना देवकोटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी हुन् । तेजबहादुर आले भने अहिले सरकारी स्कुलबाट निबृत्त भइसकेका छन् ।

यस बिषयमा सामाजिक सञ्जालमा क्याम्पसका संचालक समिति सदस्य प्रकाश अर्यालले खुलेर विरोध र यस बिषयमा सामाना गर्ने उल्लेख गरेका छन् । अर्यालले लामो सामाजिक सञ्जालमा स्टाटस लेखेर क्याम्पसमा भएको दोहनको जस्तो सुकै चुनौती सामना गर्न तयार रहेको उल्लेख गरेका छन् । संचालक सदस्य अर्यालले सार्वजनिक रुपमा सामाजिक सञ्जालमा प्राज्ञिक र बोद्धिक प्रध्यापक भनाउदाहरुको प्रतिक्रिया भन्दै लामो लेख सार्वजनिक गरेका छन् । यसले क्याम्पसमा सदियौ देखि दोहन भइरहेको देखिएको छ । यसको खोज अनुसन्धान गर्न जरुरी रहेको छ ।
अर्यालले लेखेको लेखमा राजनीतिक आडमा नीतिगत भष्ट्रचार भएको, नेपाल सरकारको स्थायी दरबन्दी भएका प्रध्यापकहरुले ४० मिनेटका दरले ३ पिरियड पढाउने र ६ घण्टाको तलब लिने, सामाजिक सुरक्षा कर छली गर्ने लगायत २०५७ र २०७२ मा गरेका दुई महायज्ञको हिसावकिताब खोई जस्ता बिषय उठाएका छन् । आजिवन सदस्यबाट उठेको रकममा समेत उनले प्रश्न उठाएका छन् ।
उनले लेखेका छन्,‘यस्ता सस्था वालिङ साथै तपाई हाम्रा वरिपरि छन् यसलाई समयमै सुधार गर्न तर्फ सचेत रहौ नाइ त इतिहास बन्नेछ । यस्ता सस्थाको नाम र अन्य विषय वस्तु थप्दै जाऊ ।’ अर्यालले सार्वजनिक गरेको भावनाले पक्कै पनि जनस्तरबाट संचालनमा ल्याइएको क्याम्पसमा विगतबर्षहरु बाटै भष्ट्रचार मौलाएको हुन सक्ने आकलन गर्न सकिन्छ । सामाजिक सञ्जालमा क्याम्पसको बेथीति अर्यालले बाहिर ल्याएपछि उनलाई चर्को दवाव आएको बताइएको छ ।

 

 

 

क्याम्पस सुधारात्मक बाटोमा छ   -ः अध्यक्ष कोइराला

वालिङ
वालिङ बहुमुखी क्याम्पसको बिषय छताछुल्ल भएपछि आफ्नो ध्यानाकर्षण भएको क्याम्पस संचालक समितिका अध्यक्ष हुमकान्त कोइरालाले बताएका छन् । क्याम्पसमा बार्षिक ८२ लाख घाटा देखिएको भएपनि यो सुधारात्मक बाटोमा रहेको दावी अध्यक्ष कोइरालाले गरे । सामाजिक सञ्जालमा आएका सबै बिषय ठिक नभएको तर केही बिषय भने ठिक रहेको स्विकारेका छन् । पुराना समितिले केही अफठ्यारा निर्णय गरेकाले संस्थामा केही समस्या आएको कोइरालाले बताए । उनले भनेका छन् म अध्यक्ष भएर आएपछि मुलुकमा कोरोना संक्रमण देखियो । लकडाउनले क्याम्पस बन्द सहित प्रशासनिक काम गर्न पाईएन । अहिले केही सहज भएको छ अब क्याम्पसमा देखिएका समस्या सुल्झाउदै जाने छौं । शिक्षण संस्थामा बढी राजनीतिक हुने रहेछ कोइरालाले भने,‘स्वतन्त्र, निष्पक्ष तवरले काम गर्न पाउने वातावरण हुने हो भने समस्या निराकरण गर्न सहज हुने थियो ।’ म लगायत मेरो टिम यसैमा विश्वास र अपेक्षा लिएर अगाडी बढ्ने छौ उनले भने ।

यसमा सबै वालिङबासी, आजिवन सदस्य लगायत राजनीतिकदलको सहयोगको अपेक्षा उनले गरेका छन् । हिजो जे भएपनि अब क्याम्पसलाई सबै मिलेर अगाडी बढाउनु पर्ने तर्क कोइरालाको छ । सहमति, सहकार्य र एकता नै आजको विकास हो भन्दै कोइरालाले क्याम्पसको राम्रो पक्षलाई मात्रै बाहिर ल्याईदिन समेत सबैपक्ष सगँ अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया