सुशासनको अभावमा वालिङका संघसंस्था,मौलाउदै बेथिती

स्याङ्जा ।
एकमहिना देखी निरन्तर वालिङमा स्थापना भएका संघसंस्थाका गतिविधिका खबरहरु सामाजिक सञ्जाल र पब्लिक आवाजले बाहिर ल्याउने प्रयास गरिरहेका छन् । ती संघसंस्थाले आफ्ना कार्यहरु सञ्चालन गर्दा बिधान विपरीत र नेपालको कानुन विपरीत गरिएका गतिविधि भेटिए । आफैले बनाएको बिधान होस वा नेपालको संविधानले निर्धारण गरेका कानुनलाई नटेरिदिदा संघसंस्थाहरुमा सुशासनको अभाव भएको देखिएको छ । पहिला आफै सुशासन हुनुपर्ने संघसंस्थाहरुमा हाम्रो पनि नियमन निकाय छ भन्ने हेक्का समेत राख्दैनन् । शैक्षिक क्षेत्र, वित्तिय क्षेत्र तथा सहकारी, उद्योगी व्यवसायीका नीजि क्षेत्र, यातायात, स्वास्थ्य संघसंस्था लगायत दर्जनौ संघसंस्थाहरु कानुनको खिल्ली उडाउदै मनपरी गरिरहेका छन् ।
नागरिकको लगानी होस वा सरकारी लगानी होस कानुन विपरीत कामकाज गरिरहदा नियमन निकाय बेखबर बनेका छन् । तिनसाता अगाडी नेपालकै जेठो सामुदायीक क्याम्पस वालिङ बहुमुखीमा भएको बेथिती पब्लिक आवाजले उजगार गरेको थियो । एक संस्थाको बेथिती बाहिर आउदैगर्दा अन्य संघसंस्थाका गतिविधिका बारेमा नागरिकले चासो व्यक्त गर्न थाले । दोहोरो सुविधा लिने, प्राध्यापक नियुक्तीमा राजनीतिककरण गर्ने, संचालक समिति नै क्याम्पसको हित भन्दा पनि प्राध्यापकको हितमा लाग्ने, शैक्षिक गुणस्तर भन्दा पनि प्राध्यापकको आर्थिक गुणस्तरमा ध्यान दिने, हरेक निर्णय सच्चाउने जस्ता बेथितीले क्याम्पस गाजिएको देखिदा पनि सम्वन्धित् निकाय मौन देखिएको छ । शैक्षिक संस्थामा हुने बेथितीको क्याम्पस प्रशासन र संचालक समितिबाटै न्युनिकरण हुनुपर्नेमा बिधान भन्दापनि आफुअनुकुल चलिदिदा क्याम्पसको अहिले सम्मको साख गिर्दो अवस्थामा जानथालेकोमा स्थानीयहरु चिन्तित् छन् ।
त्यस्तै नेपालको आर्थिक मेरुदण्डको रुपमा आफुलाई उभ्याएको नेपाल उद्योग बाणिज्य महासंघको छाता संगठनमा आवद्ध वालिङ उद्योग वाणिज्य संघको हालत पनि उस्तै छ । भदौ १९ गते अधिवेसन र साधरणसभा गर्ने तयारीमा जुटेका बेला नेतृत्व लिन राजनीति सहमति नमिलेपछि साधरणसभा नै स्थगित छ । कहिले साधरणसभा हुन्छ भन्ने बिषयमा उद्योगी व्यवसायी नै अन्योलता देखिएको छ । देशभरीका उद्योग वाणिज्य संघ मध्ये वालिङ उद्योग वाणिज्य संघको गरिमा पनि निकै उचो थियो । संघले पनि आफ्नो गरिमा बचाउन सकेन । एक गाँउ, एक उत्पादन कार्यक्रम मार्फत कफि व्यवसायमा सफलता हासिल गरेको संघमा एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत अदुवा खेतीले सफलता पाउन सकेन । नियमन र संरक्षण गर्ने जिम्मेवारी आफैले पाएको संघले यो कार्यक्रम सफल दिलाउन नसक्दा अहिले सम्म पनि विवादित बन्दै आएको छ । संघका पदाधिकारी आफैले अदुवा प्रशोधन केन्द्र चलाउने अभियानमा लाग्दा र अनुदानमा लोभ गर्दा सरकारी तवरबाटै अख्तियारमा उजुरीको तारेख खेप्न बाध्य भए । त्यसको विवाद अहिलेसम्म रहेको छ । जसले गर्दा संघको साधरणसभा र अधिवेसनमा समेत त्यो विवाद छुदै आएको छ । हालका अध्यक्ष शोभाकान्त पौडेल र बरिष्ठ उपाध्यक्ष अर्जुन खनालविचको टकराबले अधिवेसन रोकिएको उद्योगी व्यवसायी बताउछन् ।
संघलाई काँग्रेस र एमालेले आलोपालो गर्ने निर्णयका बिषयमा उद्योगी व्यसायीले प्रश्न उठाउन थालेका छन् । त्यस्तै अर्को सरकारी निकाय सामुदायी विद्यालय पुर्णामृत भवानी माविपनि विद्यालयको सार्वजनिक सम्पति जोगाउन नसकेर समस्यामा पर्दै आएको छ । कतिपय जग्गा सरकारी निकायबाटै हडपिएको छ भने कतिपय जग्गामा सहकारीहरुले अबैध संरचना बनाएर अतिक्रमण गरेका छन् । यो बिषयमा पब्लिक आवाजले गएको साता प्रश्न उठाएको थियो । विद्यालयले वडालाई भाडामा दिने तर वडाले कुन संस्थालाई भाडामा दिएको हो भन्ने समेत कागतजात नबनाएर सार्वजनिक सम्पतिको दुरुपयोग गरिएको छ । विद्यालयको सार्वजनिक सम्पतिमा सरकारी अनुदान ल्याएर संरचना निर्माण गरेको आरोप हरित ज्योति गौरव बहुउदेश्यीय संस्थालाई लागेको छ । यस बिषयमा छानविन हुनुपर्ने माग स्थानीयको छ । यस बिषयमा संरक्षकत्वको भुमिका पाएको वालिङ नगरपालिका भने बेखरबर जस्तै बनेको छ ।
विद्यालयको जग्गा भाडामा दिदा विद्यालयका शिक्षक साक्षी बस्ने र हरितज्योती सहकारीको संचालक हुने, अर्को नियमन गर्ने जनप्रतिनिधि भाडामा लिदा रोहवरमा बस्ने अनि सहकारीको संचालक हुने र वडाबाट अनुदानको रकम आफु संचालक भएको सहकारीमा छुट्टाउने सम्मका गतिविधि गरेको पाइएको छ । ‘आफ्नै हात जग्गनाथ’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्न खोजीएको छ । जसले संरक्षक गर्ने र नियमन गर्ने अनुत्तरदायी देखिएका छन् । यी संघसंस्थाहरु पात्र मात्रै हुन् तर वालिङका बेथितीमा चलेका संघसंस्थाहरु धेरै छन् भन्ने आशंका पैदा भएको छ ।
यो बेथितीको अन्त्य गर्ने जिम्मेवार निकाय नहुँदा अझै बढ्ने संकेत देखिएको स्थानीयहरु बताउछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सुचना अधिकारी राजु कुँवरले भने सबै संघसंस्थाहरु जवाफदेहीता नबन्दा यस्ता समस्याहरु आएको बताउछन् । संघसंस्थाका प्रशासन प्रमुख आफै पनि नियमन निकाय हो उनले भने,‘उनीहरु आफैले विधिको शासन नमान्दा साना ठुला समस्या बन्ने गरेका छन् ।’ जानेर वा नजानेर हुने समस्याका कारण अख्तियारमा यस्ता खाले उजुरी धेरै आउछन् उनले भने । गैह्र कानुनी काम भएका छन् भने अख्तियारमा उजुरी दिन उनले सुझाए । यस्ता खबरहरु बाहिर आएका छन् भने हाम्रो ध्यानाकर्षण हुनेछ जसलाई उजुरी पर्दैन कुँवरले भने ।
प्रतिक्रिया