चापाकोटमा पाँचौँ मेयर कप खेलकुद प्रतियोगिता हुने

चापाकोट ।
जिल्लाको चापाकोट नगरपालिकामा पाँचौँ मेयर कप तथा विभिन्न खेलकुद प्रतियोगिता हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ नगर खेलकुद विकास समिति, चापाकोट, स्याङ्जाले विगत पाँच वर्षदेखि मेयर कप तथा विभिन्न खेलकुद प्रतियोगिता गर्दै आइरहेको छ । नगर खेलकुद विकास समिति, चापाकोट नगरपालिका स्याङ्जाको आयोजनामा कात्र्तिक ३ देखि ६ गतेसम्म चापाकोट नगरपालिका ८ दामाचौर खेल मैदानमा पाँचौँ मेयर कप तथा विभिन्न खेलकुद प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा महिला तथा पुरुष भलिबल, डोरी तान्ने, सटफुट, व्याडमिन्टन, ५० वर्ष माथिका पुरुष कुर्ची दौड र हाडिफोर प्रतियोगिता समावेश गरिएको समितिका अध्यक्ष मिलन राना (पुरन) ले जानकारी दिए । भलिवल प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्तवना हुनेलाई क्रमशः ५५ हजार, ३५ हजार, २० हजार र १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र दिइने आयोजकले जनाएको छ ।
त्यसैगरी महिला तथा पुरुष डोरी तान्ने प्रतियोगितामा प्रथम र दोस्रो हुनेले क्रमशः १६ हजार र ९ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएका छन् । महिला तथा पुरुष सटफुट प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ९ हजार, ६ हजार र ३ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र दिइने आयोजकले जनाएको छ ।
त्यसैगरी व्याडमिन्टन प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्तवना हुनेले क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार नगदसहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएका छन् । ५० वर्ष माथिका पुरुष कुर्ची दौड र महिला हाडिफोर प्रतियोगितामा प्रथम हुनेले जनही ५ हजार १ सय प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा अनिवार्य टिम सहभागिता गराउनको लागि नगरपालिकाका १० वटै वडाका वडा अध्यक्षलाई खेलाडीहरु सहभागी गराउन पत्र समेत पठाइसकेको समितिका अध्यक्ष मिलन राना (पुरन)ले जानकारी दिए । टिम रजिष्ट्रेशन फारम चापाकोट नगरपालिकाको सभाहल सुन्तलिटारमा कात्र्तिक १ गतेसम्म संकलन गरिने नगर खेलकुद विकास समितिका सचिव हरि बहादुर राना (हुकुम) ले जानकारी दिए ।

प्रतिक्रिया